पसलको मासिक भाडा २८ लाख रुपियाँ

काठमाडौं, १४ पुस । एउटा अस्पतालले निजी फार्मेसीलाई सटर भाडामा दिएबापत कति रुपियाँ लिन सक्ला ? सहजै अनुमान लगाउन सकिन्छ– १५ हजार, २० हजार वा बढीमा ३० हजारसम्म ।

तर होइन, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा रहेको औषधि पसलको भाडा सुन्दा यस्तो अनुमान गलत सावित मात्र हुँदैन, आश्चर्य नै बनाउँछ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

सरकारी स्वामित्वमा रहेको त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको सटर मासिक २८ लाख एक हजार रुपियाँमा निजी फार्मेसीलाई भाडामा लगाउन लागिएको छ, त्यो पनि सर्वोच्च अदालतको आदेशविपरीत ।

सर्वोच्च अदालतले २०७२ साल असार १३ गतेका दिन सरकारी अस्पतालको हाताभित्र निजी औषधि व्यवसायीलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिनु वा सञ्चालनको व्यवस्था मिलाउनु आम सर्वसाधारणको हितविपरीत हुने ठहर गर्दै अस्पताल आफैँले फार्मेसी सञ्चालन गर्न आदेश दिएको थियो ।

तर, त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्दले सर्वोच्चको आदेशविपरीत अस्पतालको हाताभित्रै निजी संस्थालाई फार्मेसी सञ्चालन गर्न दिएर मासिक २८ लाख एक हजार रुपियाँ लिँदै आएको छ ।

निजी फार्मेसीलाई सरकारी अस्पतालभित्र औषधि पसल सञ्चालन गर्न दिँदा औषधिको गुणस्तरीयता कायम नहुने सर्वोच्चको फैसलामा उल्लेख भए पनि त्रिवि शिक्षण अस्पताललगायत केही सरकारी अस्पतालले अझै पनि निजी फार्मेसी सञ्चालन गर्न दिइरहेका छन् ।

वर्तमान सरकारले समेत अस्पताललाई आफैँले औषधि पसल राख्न निर्देशन गर्दै त्यसका लागि बजेट विनियोजन गरेको छ ।

५२ वर्षदेखि सरकारी अस्पतालमा फार्मेसी कक्ष सञ्चालन गर्दै आइरहेको साझा स्वास्थ्य सेवा भने २०४६ सालपछि अस्पताल हातामा निजी फार्मेसीले प्रवेश पाएपछि बाहिरिँदै गएको छ ।

औषधिमा तीन सय प्रतिशतसम्म कमिसन खाने निजी फार्मेसीलाई सरकारी अस्पतालहरूले भित्र्याउँदै लगेको साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष लीलाकण्ठ दाहाल बताउनुहुन्छ ।

सरकारबाट नियुक्त तथा सेयर सदस्यबाट मनोनीत तत्कालीन सदस्यको अदूरदर्शिताका कारण जनसाधारणलाई सर्वसुलभ मूल्यमा औषधि तथा औजार बिक्रीवितरण गर्दै आएको साझा स्वास्थ्य सेवामा चौतर्फी आक्रमण भएको उहाँले दुखेसो पोख्नुभयो ।

सरकारी स्वामित्वमा रहेर पनि सरकारको सहयोग नपाइरहेको अवस्थामा सर्वाेच्च अदातलतको आदेशसमेत उल्लङ्घन गरेर अस्पताल हाताभित्रै निजी फार्मेसी सञ्चालन गर्दा साझाको भविष्य झनै खतरामा पुगेको सङ्गठनका सचिव नीरप्रसाद काफ्लेले बताउनुभयो ।

शिक्षण अस्पताल परिसरभित्रै रहेको बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रले पानारोमा मेडिकललाई मासिक २८ लाख एक हजार रुपियाँ बुझाउनुपर्ने गरी सटर भाडामा दिएको अस्पताल स्रोतको दाबी छ ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना