आइजीको रेसमा चार डिआइजी, कसले मार्ला बाजी ?, यस्तो छ कनेक्सन

igpकाठमाडौं, प्रहरी महानिरीक्षक आइजिपी उपेन्द्रकान्त अर्यालले ३० वर्षे सेवा अवधि पूरा गरेर आउँदो फागुन १ गते अनिवार्य अवकाश पाउँदै हुनुछन् । महानिरीक्षक अर्यालसँगै उहाँकै व्याजी ११ जना प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी पनि ३० वर्षे सेवा अवधि पूरा गरेर फागुन १ गते अनिवार्य अवकाशमा जाँदैछन् । एआइजीहरु पनि आइजीसँगै घर फर्कने भएपछि प्रहरी उप महानिरीक्षक डिआइजी मध्येबाट एक जना आइजिपी बन्ने पक्का छ । आइजिपीको रेसमा अहिले चार जना डिआइजीबिच तिव्र प्रतिस्पर्धा छ । जसमा एक नम्बरमा केन्द्रिय अनुसन्धान व्यूरो सिआइबीका प्रमुख नवराज सिलवाल, दुई नम्बरमा महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रकाश अर्याल, तीन नम्बरमा लागु औषध नियन्त्रण व्यूरोका प्रमुख जयबहादुर चन्द र चार नम्बरमा प्रहरीको आतंकवाद हेर्ने विशेष व्यूरोका प्रमुख बमबहादुर भण्डारी मैदानमा छन् ।

यी चारै जना डिआइजी एउटै व्याजी हुन् । विस २०४४ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका चारै जना आफूलाई भावी आइजिपीको प्रमुख दाबेदार ठान्छन् । आइजिपीकै लागि उनीहरुले मिडियाबाजीसमेत गरेको भन्दै आइजिपी उपेन्द्रकान्त अर्यालले चारै जनालाई आफ्नो कार्यकक्षमा बोलाएर हप्काएकासमेत थिए । उनीहरुले एकअर्काविरुद्ध विभिन्न सञ्चार माध्यममा नकरात्मक कुुुरा लेख्न लगाउँदै अफवाह फैलाएको भन्दै आइजिपी अर्यालले त्यसो नगर्न र प्रहरी मर्यादालाई कायम गर्न आग्रह गरेका थिए ।

आइजिपी अर्यालले हप्काए पनि चारै जना डिआइजीबिच अहिले पनि भावी आइजिपी बन्नका लागि विभिन्न नेतालाई भेट्न प्रतिस्पर्धा हुने गरेको एक सुरक्षा अधिकारी बताउँछन् । नेताहरु पनि आउँदो संसदीय र स्थानीय निर्वाचनामा प्रहरीको प्रभाव ठूलो पर्ने भन्दै आफू अनकुलको आइजिपी बनाउने लविङमा व्यस्त छन् । प्रहरी प्रशासनलाई आफू अनुकल बनाएर चुनावी माहोल बनाउँदै संसदीय र स्थानीय निकायको चुनावमा पकड जमाउने दाउमा नेताहरु छन् । जसले गर्दा नेपाल प्रहरीको आइजिपी को बन्ने छ, अहिले यसै भन्न सक्ने अवस्था छैन । कानुनी प्रावधान अनुसार पनि चारै जना डिआइजी आइजिपी बन्न सक्छन् ।

कसले कस्तो गरेका छन् काम ?

प्रतिस्पर्धामा रहेका चारै जनाको डिआइजीको जिम्मेवारी पनि अहिले उस्तै प्रकारको छ । केन्द्रिय अनुसन्धान व्यूरो सम्हालेका नवराज सिलवाल वन्य जन्तु तस्करदेखि मानव तस्कर र एटिमएमबाट करोडौ ठग्ने विदेशी नागरिक र कल वाइपास गर्नेलाई पक्राउ गरेर चर्चामा हुनुहुन्छ ।

ट्राफिक प्रहरी महशाखाको जिम्ेवारी सम्हालेका प्रकाश अर्याल पनि ट्राफिक क्षेत्रमा नयाँ नयाँ काम गरेर चर्चामा छन् । उनले लेन मिच्नेलाई कारबाही गर्ने, गोप्रोबाट ट्राफिक नियममा कडाइ गर्नेदेखि गाडीबाट जथाभावी थुक्ने तथा फोहर फाल्ने र मालबाहक गाडीलाई अफिस समयमा चक्रपथ भित्र छिर्न नदिएर चर्चा कमाउनु भएको छ ।

आइजिपीको दाबेदारमा तेस्रो नम्बरमा रहेका लागु औषध व्यूरोका प्रमुख जयबहादुर चन्द पनि अन्तर्राष्ट्रिय लागु औषध तस्रकलाई एकपछि अर्को गरी पक्रदै चर्चामा छन् । खरो स्वभावमा उत्रने चन्दले एक महिना अघि ब्राजिलबाट नेपाल हुँदै हंङकङ भित्र्याउन लागेको तीन करोड रुपैयाँ बराबरको कोकिनसहित दुई जना मलेसियन नागरिक पक्रेर सफलता पाएका थिए ।

दाबेदार मध्येका चौथो नम्बरमा रहेका विशेष व्यूरो सम्हालेका बमबहादुर भण्डारीले पनि भूमिगत रुपमा आतंकवादी गतिविधि गर्दै आएको मंगोल मुलवासी राष्ट्रिय फोर्सका नाइकेसहित १३ जनालाई पक्राउ गरेको थियो । उनीहरुको विशेष व्यूरोले २ थान कटुवा पेस्तोल, २ थान रिभल्वर, १२ राउण्ड गोली, सैन्य दस्ता, कम्ब्याड ड्रेस र केही विष्फोटक पदार्थ समेत बरामद भएको छ । जसको प्रशंसा सर्वत्र भएको थियो ।

यसरी आफूलाई भावी आइजिपीको दाबेदार मान्ने चारै जनाले अहिले पाएको जिम्मेवारी पनि एकै प्रकारको र उनीको काम पनि सन्तोषजनकनै रहेको प्रहरीका उच्चपदस्थ अधिकारी बताउँछन् ।

यस्तो छ चार जनाको कनेक्सन्

आइजिपी बन्न चारै जनाले आफ्नो प्रयास जारी राखे पनि सिलवाल र चन्दबिच बढी प्रतिस्पर्धा हुने ठम्याइ छ प्रहरी प्रशासनलाई बुझेकाहरुको ।

डिआइजी सिलवालले दोलखा, तनहुँ, भक्तपुर, काठमाडौं जिल्लाको प्रमुख सम्हालेदेखि नै आफ्नो समूहभित्र भावी आइजिपीको दाबेदार बन्नुभएको थियो । काठमाडौंमा रहँदा चोरीको गाडी भन्सारमा बुझाउन र चोरलाई कानुनी दायरामा ल्याउने उहाँको अभियानको निकै चर्चा भएको थियो । डिआइजी सिलवाल एमाले नेता माधवकुमार नेपाल, वामदेव गौतम, माओवादी अध्यक्ष्य प्रचण्ड र राष्ट्रिय जनमोर्चाका चित्रबहादरु केसी निकट मानिनु हुन्छ । सिलवाल निकट मानिने प्रचण्ड यसबेला प्रधानमन्त्री भएकाले उहाँ आइजिपी बन्ने सम्भावना बलियो छ ।

डिआइजी प्रकाश अर्याल एमाले नेता युवराज ज्ञावाली र विष्णु पौडेल, शंकर पोखरेलसँग निकट मानिनु हुन्छ ।  वर्तमान आइजिपी अर्यालसँग पनि उहाँको सम्बन्ध राम्रो रहेकाले त्यो सम्बन्धले पनि उहाँलाई सजिलो हुने अनुमान छ ।

काभ्रे, रौतहट, पर्सा काठमाडौंको कमान्ड सम्हालेका चन्द पनि आफूलाई आइजिपीको प्रमुख दाबेदार ठान्नुहुन्छ ।

चन्द सुदूरपश्चिमको क्षेत्रीय प्रहरी प्रमुख हुँदा चलाएको बस्ती भेटघाट कार्यक्रम राष्ट्रियस्तरमै लोकप्रिय भएको थियो । डिआइजी चन्दको सुदूरपश्चिमका सबैजसो नेतासँग राम्रो सम्बन्ध छ ।

उहाँ एमालेका भीम रावल, माओवादी केन्द्रका शक्ति बस्नेत र लेखराज भट्टको नजिक मानिनु हुन्छ ।

त्यस्तै आतंकबादमा दख्खल डिआइजी बमबहादुर भण्डारीको नेताको पछि नलाग्ने डिआइजीमा गनिनु हुन्छ । प्रधानसेनापति राजेन्द्र क्षेत्री निकट मानिने उहाँको कांग्रेस नेता रामचन्द्र पौडेलसँग उहाँको राम्रो सम्बन्ध छ ।

चार जना मध्ये जो पनि बन्न सक्छन् आइजिपी

प्रहरी ऐन २०१२ को परिच्छेद २ को दफा ५ अनुसार प्रहरी प्रशासनको जिम्मेवारी प्रहरी  महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षक र नेपाल सरकारले उपयुक्त सम्झेका नायब महानिरीक्षकको हुनेछ उल्लेखे छ । प्रहरी ऐन अनुसार नेपाल सरकारले नेपाल सरकारले उपयुक्त ठहरेको अहिलेका डिआइजी मध्येबाट एक जना आइजिपी बन्न सक्छन् ।

त्यस्तै प्रहरी नियमावली, २०७१ को परिच्छेद ४ को दफा ४१ अनुसार  प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षकहरू मध्येबाट र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नभएको अवस्थामा प्रहरी नायव महानिरीक्षकहरू मध्येबाट जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यका आधारमा सरकारले उपयुक्त देखेको उम्मेद्वारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने भन्ने उल्लेख गरिएको छ ।

यसरी प्रहरी ऐन र नियमावली हेर्दा भावि आइजिपी बन्ने सम्भावना चारै जना डिआइजीको उत्तिकै देखिन्छ । सरकारले उपयुक्त ठानेको अवस्थामा चार जना मध्ये जोकोही पनि आइजिपी बन्न सक्छन् । नारायण अधिकारी , उज्यालो 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’