भूकम्पपीडितले लगे २१ करोड कर्जा
भूकम्पपीडितहरूले घर निर्माणका लागि सहुलियतपूर्ण ब्याजदरमा २१ करोड रुपैयाँ कर्जा सुविधा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म यो शीर्षकमा २० करोड रुपैयाँ ९७ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । राष्ट्र बैंकले भूकम्पको एक सातापछि ल्याएको यो योजनाअन्तर्गत गत कात्तिक महिनासम्ममा ७० पीडितले ऋण सुविधा लिएका हुन् ।
योजना सार्वजनिक भएको एक वर्षसम्म भूकम्पपीडितहरू घर निर्माणका लागि सहुलियतपूर्ण कर्जामा आकर्षित नदेखिए पनि अहिले भने कर्जा प्रवाह हुन थालेको देखिएको छ । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल भने भूकम्पपीडितका लागि २५ करोड रुपैयाँ कर्जा प्रवाह भएको बताउँछन् । ‘एक सयजना पीडितले घर निर्माणका लागि ऋण लगिसकेका छन्,’ उनी भन्छन्, ‘मंसिर महिनादेखि ऋण प्रवाह अझै बढेको छ ।’
राष्ट्र बैंकका अनुसार हालसम्म २८ वाणिज्य बैंक, ६४ विकास बैंक, ३९ फाइनान्स कम्पनी भए पनि भूकम्पपीडितका लागि जम्मा १२ बैंक तथा वित्तीय संस्थाले मात्र कर्जा प्रवाह गरेका छन् । अहिलेसम्म प्रवाह भएको ऋण बैंक तथा वित्तीय संस्थामार्फत मात्र भएको छ । लघुवित्त संस्थाबाट भने ऋण प्रवाह भएको छैन ।
राष्ट्र बैंकको तथ्यांकले भूकम्पपीडितलाई कर्जा दिन बैंक तथा वित्तीय संस्था आकर्षित नभएको देखिन्छ । नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष उपेन्द्र पौडेल तुलनात्मक रूपमा भूकम्पपीडित कर्जामा बैंक तथा वित्तीय संस्थाको आकर्षण कम भएको स्वीकार गर्छन् । ‘सरकारले अनुदान उपलब्ध नगराएको अवस्थामा २० करोडभन्दा बढी ऋण जानु पनि राम्रो हो,’ पौडेल भन्छन्, ‘पीडितहरूलाई पहिलो प्राथमिकता अनुदान हो । त्यहीअनुसार पीडितले ऋणमा चासो नदिएको हुनसक्छ ।’
एक महिनाको अवधीमा भूकम्पपीडितलाई जाने कर्जा ५ करोडले बढेको देखिएको छ । असोज मसान्तसम्ममा १५ करोड ३८ लाख रुपैयाँ कर्जा गएकोमा कात्तिक महिनामा २० करोड ९७ लाख कर्जा प्रवाह भएको हो ।
भूकम्पपीडितको भने राष्ट्र बैंकले बनाएको कार्यविधि ऋण लिन झन्झिटिलो भएकोले ऋण लिन नपाएको गुनासो गर्दै आएका छन् । बैंकरहरू पनि प्रक्रियागत झन्झटको कारण पीडितहरूले ऋणमा चासो नदिएको स्वीकार्छन् । ‘पीडितहरूले चासो देखाएर ऋणको लागि निवेदन दिएको देखिएको छैन,’ पौडेल भन्छन्, ‘प्रक्रिया पुर्याएर आएको निवेदनका लागि हामीले ऋण दिन प्राथमिकता दिएका छौ । अर्बौ रुपैयाँको ऋणमा पीडितलाई घर निर्माणमा जाने हिस्सा कम नै हो ।’
राष्ट्र बैंकले शून्य प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउने यस्तो सुविधा अन्तर्गत भूकम्पपीडितले दुई प्रतिशत ब्याजदरमा ऋण पाउँछन् । राष्ट्र बैंकले सहुलियत दिनको लागि निकै प्रचार गरे पनि भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितहरू ऋणका लागि खासै आकर्षित देखिएका भने छैनन् । ‘राष्ट्र बैंकले सहुलियतपूर्ण ब्याजदरमा ऋण प्रवाह गर्ने निर्णय गरेको हो,’ प्रवक्ता पौडेलले भने, ‘ऋण तिर्न सक्नेले ऋण लिएर घर बनाउनका लागि सुविधा दिएको हो । सरकारले दिनेजस्तो अनुदान सोच्नु भएन ।’
केन्द्रीय बैंकले भने पछिल्लो समय प्रचार-प्रसारले गर्दा ऋण लिनको लागि पीडितहरू बढ्नसक्ने दाबी गरेको छ । ‘पछिल्लो समय ऋणीहरूले दिएको चासो र ऋणीको संख्या बढेको हुँदा यस्तो ऋण अझै बढ्ने देखिन्छ,’ प्रवक्ता पौडेलले भने ।यो समाचार आजको कारोबार दैनिकले छापेकोछ ।