संशोधन विधेयक थाती राखेर भए पनि निर्वाचनको मिति घोषणा गर्न कांग्रेसको सुझाव
काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधन विधेयक थाती राखेर भए पनि तत्काल निर्वाचनको मिति घोषणा गर्न सुझाव दिएको छ ।
नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको आइतबार संसदीय दलको कार्यालय सिंहदबारमा बसेको बैठकमा पदाधिकारीहरुले यस्तो सुझाव दिएका हुन् ।
तत्काल निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
उनले स्थानीय निकाय र तह जुनमा सहमति भए पनि निर्वाचनको मिति तत्कालै घोषणा गर्नुपर्ने बताए ।
“चैतमा स्थानीय तह वा निकाय जुनको भए पनि निर्वाचन गर्ने गरी मिति घोषणा हुनुपर्छ भन्ने बारेमा छलफल भएको छ,” बैठकपछि कांग्रेस नेता पौडेलले भने ।
महामन्त्री डा. शशांक कोइरालाले भने संशोधन विधेयकलाई छाडेर भए पनि एमालेलाई सहमतिमा ल्याएर निर्वाचनमा जानुपर्ने बताए । उनले भने,“एमालेलाई पनि सहमतिमा ल्याउनुपर्छ । संशोधन विधेयक छाडेर भए पनि निर्वाचनको मिति घोषणा गर्नुपर्यो भन्ने धेरै साथीहरुको सुझाव आएको छ । अहिले पुरानै संरचनामा चुनाव गरौं भनेका छौं । यसबारेमा छलफल हुँदैछ ।”