राजेन्द्र-सुरेन्द्र : फरक व्यक्तित्वका चर्चित दाजु-भाइ नेता

rajendra-2एमालेका दोस्रो पुस्ताका उदीयमान नेता राजेन्द्र पाण्डे र सुरेन्द्र पाण्डे सहोदर दाजुभाइ हुन् । पार्टी स्थायी समिति सदस्य सुरेन्द्र र पोलिटब्युरो सदस्य राजेन्द्र दुवै एक–एकपटक मन्त्री भइसकेका छन् । कुशल संगठकको व्यक्तित्व बनाएका सुरेन्द्र र संसदीय फाँटमा प्रभावशाली राजेन्द्र पार्टीको आन्तरिक समीकरणमा वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालनिकट मानिन्छन् । धादिङको गजुरीमा निम्नमध्यमवर्गीय परिवारमा जन्मिएका राजेन्द्र पाँच दाजुभाइमा जेठा र उनीभन्दा चार वर्ष कान्छा सुरेन्द्र माइला हुन् । गाउँकै प्राथमिक विद्यालयमा अध्ययन गरेका दाजुभाइले चितवनबाट एसएलसी (प्रवेशिका) परीक्षा उत्तीर्ण गरेपछि काठमाडौंमा ‘कलेज लाइफ’बाट राजनीति सुरु गरेका हुन् । पैसा अभावले जागिरे हुँदै राजनीतिमा २०३१ सालमा सिक्किम भारतमा विलय भएको विरोधमा विद्यार्थी आन्दोलन सुरु भएपछि सरस्वती क्याम्पसमा अध्ययनरत राजेन्द्र पाण्डे आन्दोलनमा सक्रिय बने । त्यही क्रममा पक्राउ परेर सेन्ट्रल जेलमा राखिएका राजेन्द्र केपी ओलीसहित तत्कालीन झापा आन्दोलनका अगुवाहरूको संगतबाट कम्युनिस्ट आन्दोलनमा थप आकर्षित भए । र, जेलबाट छुटेपछि राजनीतिमा थप सक्रिय बने । पञ्चायतविरोधी आन्दोलनमा दाजुको सक्रियता र विद्यार्थीहरूको जागरुकताबाट प्रभावित बन्दै गएका सुरेन्द्र भने त्यतिवेला अध्ययन सकेर जागिर खाने सपना बुन्दै थिए । विद्यार्थी आन्दोलनमा लाग्दै गर्दा राजेन्द्र दोस्रोपटक पक्राउ हुँदा तीन वर्ष जेल परे । पढाइ सकेर राम्रो जागिर खाने उनको योजना एकाएक मोडियो । ‘बुबाले तिमीहरू राजनीति गर्ने, म खर्च पठाउन सक्दिनँ भनेपछि आइकम सकेर धादिङ फर्केर शिक्षक बनें,’ उनले भने, ‘घरायसी बाध्यताले केही समयपछि नेपाल बैंकमा जागिर खाएँ, त्यही सिलसिलामा नेपालगन्ज पुगेँ, तर त्यसबाट समाज र राष्ट्रका लागि कुनै योगदान हुँदैन भन्ने निष्कर्षपछि पार्टीसँगको सम्पर्कमा २०३४ सालबाट पूर्णकालीन हुँदै भूमिगत भएँ ।’ पढाइमा मेधावी सुरेन्द्र चार्टर्ड एकाउन्टेन्टको सरकारी छात्रवृत्ति त्यागेर तत्कालीन मालेको भूमिगत राजनीतिमा होमिएका थिए । उता, जेलबाट रिहा भएपछि राजेन्द्र भने जिल्ला फर्किएर शिक्षकका रूपमा राजनीतिमा सक्रिय बने । भूमिगत नहुँदा दाजु पञ्चायत सभापति, भाइ कुशल संगठक २०३५-३६ सालतिर प्रतिबन्धित मालेको कार्यकर्ता बनेर भूमिगत बन्नु चानचुने कुरा थिएन, त्यो पनि काठमाडौंको नेवार बस्तीमा । स्थानीय भाषा, संस्कृति, रहनसहनदेखि जनतासँगको घनिष्टताका आधारमा पञ्चायतको आँखा छल्दै भूमिगत जीवन कठिन भएकाले जेलबाट रिहा भएपछि ६ महिना काठमाडौंमै भूमिगत काम गरेर राजेन्द्रले जिल्ला जाने निधो गरे । खासमा उनीसँग ठूलो जनसमूह (मास) लाई प्रभाव पार्न सक्ने क्षमता त थियो, तर भूमिगत शैली अपनाएर पूर्णकालीन हुनसक्ने स्थिति नभएपछि पार्टीको परामर्शमा २०३४ साल फागुनमा जिल्ला फर्किएर शिक्षण पेसासँगै राजनीति अघि बढाए । जिल्ला फर्किएपछि उनी धादिङमा भूमिगत रूपमा मालेका संस्थापक सचिव तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बनेर काम गरे । पार्टीले २०४३ सालको राष्ट्रिय पञ्चायत चुनावमा उम्मेदवार बनायो । तर, थोरै मतले पराजित उनी २०४४ सालमा जिल्ला पञ्चायत सभापतिमा विजयी बने । ‘मैले सधैँ भूमिगत पार्टीको खुला कार्यकर्ताजस्तो भएर काम गरेँ, त्यसक्रममा तीनपटक राजकाज मुद्दासहित १९ पटक जेल परेँ,’ राजेन्द्रले स्मरण गर्दै भने । उता, सुरेन्द्र भने भूमिगत राजनीति सुरु गरेको दुई वर्षभित्रै २०३६ देखि ०४६ सालमा एक दशक काठमाडौंको सचिव बने । काठमाडौंको नेवारी बस्तीका प्रत्येक टोलदेखि काँठ क्षेत्र (काठमाडौं वरिपरिका गाउँ) का हरेक वडामा सक्रिय भूमिगत राजनीति गर्दै सुरेन्द्रले ५ सय पूर्णकालीन कार्यकर्ता तयार गरेर तत्कालीन मालेको संगठन निर्माण गरे । उनकै नेतृत्वमा मालेको संगठन बनेकाले पार्टीले लामो समय नेतृत्व सुम्पिएको थियो काठमाडौंमा । त्यही संगठनको जगमा २०४८ सालको पहिलो आमनिर्वाचनमा उपत्यकाका नौमध्ये एमालेले ७ सिट जित्न सफल भयो । तत्कालीन एमाले महासचिव मदन भण्डारी काठमाडौंबाटै विजयी बने । त्यतिवेलैदेखि आजपर्यन्त सुरेन्द्र पार्टीभित्र कुशल संगठकका रूपमा परिचित छन् । गुरु ‘जुनियर’ चेला ‘सिनियर’ दाजु राजेन्द्रको राजनीतिक सक्रियता र प्रेरणाबाटै सुरेन्द्र मालेको भूमिगत राजनीतिमा होमिएका थिए । तर, राजनीतिमा दाजु राजेन्द्रलाई उछिन्दै उनी २०४७ सालमै पार्टीे केन्द्रीय सदस्य बने । झन्डै एक दशक जिल्ला नेतृत्वमा रहेका राजेन्द्र भने २०५५ सालमा मात्रै पार्टी केन्द्रीय सदस्यमा मनोनीत भएका थिए । यद्यपि, सुरुवाती दिनमा भने राजेन्द्र नै ‘सिनियर’ थिए । २०३३ सालमा सेन्ट्रल जेलमा पार्टी सदस्यता लिएका उनले छुटेलगत्तै तत्कालीन माले नेता सिपी मैनालीलगायतले जेल बे्रेक गर्दा बाहिर बसेर आर्किटेक्ट गर्दै (योजना बनाउँदै) हतियार ‘सप्लाइ’ गर्ने काम गरेका थिए । जेलब्रेकपछि वारेन्ट जारी गरिएका उनी ‘मोस्ट वान्टेड’को सूचीमा परेका थिए । उनी २०३३ सालमै तत्कालीन कोअर्डिनेसन केन्द्र उपत्यका संगठन कमिटीका सदस्य बनेका थिए, जतिवेला सुरेन्द्र भने मालेमा पूर्णकालनीन सदस्य नै भइसकेका थिएनन् । राजेन्द्रले चुनाव जित्दा सुरेन्द्रले रोजे अर्को बाटो पार्टीमा कुशल संगठक भए पनि जिल्ला केन्द्रित राजनीति नगर्दा सुरेन्द्रलाई लामो समयसम्म पार्टीले प्रत्यक्षतर्फ उम्मेदवार बनाएन । तर, लामो समयदेखि जिल्लाकेन्द्रित राजनीति गरेका राजेन्द्र भने टिकट पाएर २०४८ को आमनिर्वाचनमा धादिङ–३ बाट निर्वाचित भए । २०६४ सालको पहिलो संविधानसभामाबाहेक उनी चारपटक (२०४८, २०५१, २०५६ र २०७० मा) सोही क्षेत्रबाट निरन्तर निर्वाचित छन् । सुरेन्द्रले भने जिल्लाकेन्द्रित राजनीति नगर्दा २०६४ सालमा मात्रै टिकट पाए, त्यो पनि जन्मथलो धादिङबाट होइन, चितवनबाट । यद्यपि, उनी २०५४ सालमै राष्ट्रिय सभा सांसद बने भने संविधानसभाको दुवै निर्वाचनमा चितवनबाट विजयी बने । ‘मैले जिल्लाकेन्द्रित चुनावी क्षेत्र बनाउने गरी काम गरिनँ, कहिले कर्णाली, कहिले पूर्व त कहिले उपत्यकामा काम गरेँ’ सुरेन्द्र स्मरण गर्दै भन्छन्, ‘परदेशीका रूपमा जन्मथलो धादिङ जानुभन्दा घर भएको क्षेत्र जानु नै उपयुक्त ठानेर चितवनबाट चुनाव लडेँ ।’ पाण्डेका बुबा–आमा २०३८ सालमै चितवन बसाइँ सरिसकेकाले मतदाता नामावलीका आधारमा धेरै पछि चितवन फर्किएका सुरेन्द्रले चुनाव जितेर त्यसैलाई मुख्य राजनीतिक क्षेत्र बनाउँदै आएका छन् । सुरेन्द्र दाजुका ‘राजनीतिक गुरु’ भाइ सुरेन्द्रसँग राजेन्द्र राजनीतिका जटिल ‘मोड’हरूमा सल्लाह लिने मात्रै होइन, उनकै परामर्शअनुसार अघि बढ्ने गर्छन् । २०५४ सालमा तत्कालीन एमाले विभाजन भएर माले गठन हुनै लाग्दा राजेन्द्र वामदेव गौतमहरूसँगै विभाजित पार्टीमा जाने अन्तिम तयारीमा थिए । महाकाली सन्धिलाई लिएर पार्टीभित्र चलेको विवादमा निराश भएर मालेमा लाग्न लागेका राजेन्द्रलाई सुरेन्द्रले नै रोकेका थिए । ‘त्यतिवेला मैले नै उहाँलाई रोकेको हुँ,’ सुरेन्द्र भन्छन्, ‘निर्णायक खालका राजनीतिक मोडमा दाइले मेरो कुरा राम्रोसँग सुन्नुहुन्छ ।’ त्यसो त सुरेन्द्रले गरेका भाषणहरू राजेन्द्र ध्यान दिएर मात्रै सुन्दैनन्, राजनीतिक विश्लेषणबाट प्रभावित भएर टिपोट गरी प्रयोगसमेत गर्छन् । राजेन्द्र पनि आफूहरूबीच पार्टीको आन्तरिक द्वन्द्वलगायतका कतिपय महत्वपूर्ण विषयमा आपसी परामर्श हुने गरेको बताउँछन् । उपाध्यक्ष र महासचिवमा उम्मेदवार, पराजयको चर्चा अझै नवौँ महाधिवेशनमा दुई दाजुभाइ एउटै समूहबाट उपाध्यक्ष र महासचिवको उम्मेदवार बनेपछि एमाले वृत्तमा जति चर्चा भयो, त्यसभन्दा बढी चर्चा आजपर्यन्त दुवैको पराजयलाई लिएर हुने गर्छ । त्यसको कारण हो– थोरै मतअन्तरमा पराजय । सुरेन्द्र नेता माधवकुमार नेपाल समूहबाट महासचिव तथा राजेन्द्र उपाध्यक्षका उम्मेदवार बनेका थिए । खासमा सुरेन्द्रको उम्मेदवारीबारे महाधिवेशनको एक सातापहिल्यै टुंगो लागे पनि उपाध्यक्षमा राजेन्द्रको उम्मेदवारी भने महाधिवेशन सुरु भएर मतदान सुरु हुने अन्तिम घडीमा भएको थियो । दुवैले एउटै समूहबाट, त्यो पनि पदाधिकारीको महŒवपूर्ण पदमा उम्मेदवारी दिँदा प्रत्यक्ष असर पर्ने चर्चाबीच राजेन्द्र उपाध्यक्षको उम्मेदवार बनेका थिए । तर, सुरेन्द्र प्रतिस्पर्धी ईश्वर पोखरेलसँग सात मत र राजेन्द्र उपाध्यक्षमा आठ मतले कडा प्रतिस्पर्धाबीच पराजित भए । खासमा सुरेन्द्रलाई नेपाल प्यानलबाटै १७ मत सबैलाई हालिएको तर महासचिवमा खाली राखेर अन्तर्घात गरेको पाइएपछि उनको पराजयलाई ‘प्राविधिक’ मात्रै हो भन्ने चर्चा गर्नेहरूको पंक्ति एमालेमा ठूलै छ । महाधिवेशनको उम्मेदवारीबारे खटपट नवौँ महाधिवेशनमा एउटै समूहबाट पदाधिकारीमा उम्मेदवारीको तयारीपछि दुई दाजुभाइबीचको सम्बन्धमा खटपट देखिएको जानकारहरू बताउँछन् । पार्टीमा उत्तिकै योगदान भएका नेताहरू भए पनि त्यसलाई अध्यक्षका प्रतिस्पर्धी केपी ओली समूहले नकारात्मक रूपमा प्रचार गर्न सक्ने भन्दै त्यतिवेला अध्यक्षका प्रतिस्पर्धी माधव नेपाल पनि निकै सतर्क थिए । नेपालले राजेन्द्रलाई घुमारो तरिकाले उम्मेदवारी नदिन आग्रह गर्दै अन्तिम घडीमा सम्झाउने प्रयास नगरेका पनि होइनन् । तर, उनले पार्टीमा योग्यता, क्षमता र योगदानको कुनै कदर नै नहुने ? पाँच-पाँचजना उपाध्यक्ष पद हुँदा पनि आपूmले नपाउनुपर्ने कारण के छ ? भन्दै प्रतिवाद गरेपछि उम्मेदवारी अन्तिममा समावेश भएको थियो । ‘त्यतिवेलाको उम्मेदवारीबारे मेरो योगदानबारे बुझेकाले कसैले नकारात्मक चर्चा गर्नुपर्ने कारण थियो जस्तो लाग्दैन,’ राजेन्द्रले भने, ‘दाजुभाइकै कुरा गर्दा ०५१ मा मनमोहन र भरतमोहन एउटै क्याबिनेटमा हुनुहुन्थ्यो, सिपी र आरके पनि । भूमिगतकालको कठिन दिनमा ज्यानको बाजी थापेर जेल–नेल र कष्ट भोग्दा कुरा नआउने, जिम्मेवारी र भूमिकाको दाबी गर्दा आउने ?’ त्यतिवेला चुनावी मसलाका लागि नकारात्मक प्रचार गर्न खोजिए पनि अन्तिम घडीको उम्मेदवारी पनि पराजयको एउटा कारण बनेकोे उनको ठम्याइ छ । खासमा कार्यकारी पद महासचिवमा उठेका कारण सकभर दाइ राजेन्द्रले उपाध्यक्षमा उम्मेदवारी नदिँदा उपयुक्त हुन्छ भन्ने पक्षमा भाइ सुरेन्द्र थिए । तर, राजनीतिमा उत्तिकै योगदान रहेकाले उनले उम्मेदवारी नदिन दाजुलाई आग्रह गर्न सकेनन् । तर, दुवैको पराजयपछि कतिपय शुभचिन्तकले दाजु–भाइकै उम्मेदवारी पनि एउटा कारण रहेको चर्चा गरेका थिए । त्यसबाट आत्मीय सम्बन्धमा चिसोपन आएको बताइन्छ । यद्यपि, नवौँ महाधिवेशनको प्रतिस्पर्धाले आफूहरूको पारिवारिक सम्बन्धमा कुनै फरक नपारेको पाण्डे दाजुभाइ दाबी गर्छन् । दाजु संसदमा, भाइ संगठनमा प्रभावशाली २०४८ सालयता राजेन्द्र एमालेबाट निरन्तर २१ वर्ष सांसदको रूपमा संसदीय भूमिकामा छन् । निरन्तर चुनाव जित्ने नेतामध्ये एमालेमा उनी अपवादभित्र पर्छन् । त्यति मात्रै होइन, उनी त्यसयता क्रमशः पार्टीको संसदीय विभाग, विभाग सचिव, सचेतक, प्रमुख सचेतक र संसद्मा सभामुखलाई सल्लाह दिने कार्यव्यव्यवस्था समितिमा २१ वर्षदेखि छन् । संसद्मा स्थानीय विकास निर्माण र राजनीतिक मुद्दामा उनको प्रस्तुति धारिलो र विचारउत्तेजक हुने समकालीनहरू बताउँछन् । उता, सुरेन्द्र भने पार्टीको आन्तरिक संगठनमा निक्कै प्रभावशाली मानिन्छन् । उपत्यकामा १० वर्षभन्दा बढी नेतृत्व गरी मदन भण्डारीसहितका नेतालाई जिताएर पार्टीलाई उपत्यकामा वर्चश्वमा पुर्‍याएको, बागमती अञ्चल, कर्णाली अञ्चल, कोसी अञ्चलमा पार्टीको काम माथि उठाएकोदेखि अखिलमा तत्कालीन अध्यक्ष योगेश भट्टराई र महासचिव भानुभक्त ढकालबीच चर्को विवाद हुँदा पार्टीका तर्फबाट समाधानको सूत्र निकाल्ने कुशल संगठकका रूपमा सुरेन्द्र परिचित छन् । दाजु उद्यममा, भाइ उद्यमका ‘आर्किटेक्ट’ पाण्डे दाजुभाइले एमाले पंक्तिमा ‘भिजनरी’ नेताको समेत परिचय बनाएका छन् । करिब २० वर्षदेखि राजेन्द्रले पहिलो कम्युनिस्ट प्रधानमन्त्री स्व.मनमोहन अधिकारीको नाममा सहकारी र अस्पताल सञ्चालन गर्दै आएका छन् । एकपटक स्थानीय विकासमन्त्री बनेका राजेन्द्र स्थानीय विकासको मामिलामा पनि विज्ञ मानिन्छन् । सफल अर्थमन्त्रीको छवि बनाइसकेका सुरेन्द्र भने पार्टीमा आर्थिक मामिलाका जानकार मानिन्छन् । पुँजीवादी क्रान्ति सम्पन्न भइसकेकाले समाजवादतर्फको यात्राका लागि पुँजीको विकास र आर्थिक समृद्धिका सन्दर्भमा उनले देशभर पार्टी कार्यकर्तालाई प्रशिक्षणसमेत दिँदै आएका छन् । राजेन्द्र रसिला, सुरेन्द्र औपचारिक दुवै दाजुभाइको स्वभाव भिन्न छ । राजेन्द्र सबैसँग अनौपचारिक हिसाबले घुलमिल मात्रै हुँदैनन्, रसिला कुरा गर्ने स्वभावका छन् । कार्यकर्ताहरूको व्यक्तिगत र पारिवारिक जिन्दगीप्रति पनि चासो राख्ने र संरक्षण गर्ने स्वभाव राजेन्द्रमा रहेको जानकारहरू बताउँछन् । तर, यसको ठीक विपरीत सुरेन्द्र भने कुराकानी, भेटघाट र यात्रामा बढी औपचारिक ढंगले प्रस्तुत हुन्छन् । पार्टीका नेता–कार्यकर्ताहरूलाई वैचारिक तर्कले प्रभाव पार्ने, समन्वय गर्न सक्ने र सांगठनिक समस्या सुल्झाउन सक्ने क्षमता त राख्छन् । तर, कार्यकर्ताहरूका व्यक्तिगत र पारिवारिक जिन्दगी मात्रै होइन, सँगै काम गर्ने समकालीन नेताहरूको व्यक्तिगत र पारिवारिक जिन्दगीका विषयमा बिलकुलै चासो नराख्ने नजिकबाट चिन्नेहरू बताउँछन् । शुरोजंग पाण्डे /नयाँपत्रिकाबाट 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’