युवराजको स्मृतिमा विद्यालयमा अक्षयकोष
सन्तोष थापा/पर्वत, ८ पुस
मेरुदण्ड पक्षघातबाट लामो समय सम्म थलिएर मृत्यु भएका युवराज शर्माको सम्झनामा शर्माको परिवारले उनले आधारभूत शिक्षा अध्ययन गरेको विद्यालयमा अक्षयकोष खडा गरेको छ ।
आर्थर डाँडाखर्क ९ काउले निवासी शर्माको स्मृतिमा उनको परिवारले पञ्चकोशी मावि आर्थरमा अक्षयकोष स्थापना गरेको हो । २६ बर्षे कलिलो उमेरमा नै मोटरसाइकल दुर्घटनामा परेर मेरुदण्ड पक्षघात भएका शर्माको ३४ बर्षको उमेरमा गत पुस १८ गते मृत्यु भएको थियो । उनको बार्षिक पुण्यतिथिका अवसरमा मृतकका परिवारले ५० हजार ५ सय ५५ रुपैँया बराबरको अक्षयकोष स्थापना गरिएको हो । उक्त कोषको रकम बाबु श्रीलाल शर्मा र आमा भवानीदेवी शर्माले विहिबार विद्यालयका प्रधानध्यापक अर्जुन पौडेललाई प्रदान गर्नुभयो ।
लामो समय सम्म अपाङ्गता भएर मृत्यु भएका शर्माको सम्झनामा स्थापित कोषबाट विद्यालयमा अध्ययन गर्ने अपाङ्गता भएका विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले छात्रबृत्ति प्रदान गर्ने उद्देश्य रहेको कोषका संरक्षक तथा मृतक शर्माका दाजु दुर्गाप्रसाद शर्माले जानकारी दिनुभयो ।