पर्वतमा विक्रि हुने कोकाकोला, फेन्टा र स्प्राईटको म्याद गुज्रेको भेटियो
पर्वत/तपाई कोकाकोला, फेण्टा तथा स्प्राईट लगायतका पेय पदार्थ खाँदै हुनुहुन्छ ? एक पटक हेरेर मात्रै खानु होस् । पर्वतका अधिकांस पसलमा विक्रि हुने यी पेय पदार्थको म्याद गुज्रिसकेको छ ।
नेपाल सरकार बाणिज्य विभागले पर्वतको कुश्मामा गरेको अनुगमनका क्रममा बोटलर्स नेपालले विक्रि गर्ने सबै प्रकारका पेय पदार्थहरुको म्याद गुज्रेको पाईएपछि खान नहुने बताएको हो ।
बाणिज्य विभागका निर्देशक उप सचिब निरज पौडेलको नेतृत्वमा भएको बजार अनुगमनका क्रममा यस्तो भेटिएपछि स्थानीय प्रशासनलाई तुरुन्त विक्रि रोक्न निर्देशन दिएको हो ।
जनस्वास्थ्य माथि गम्भीर खेलवाड गर्दै बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल लि.द्वारा उत्पादित पेय पदार्थ कोककोला, फेन्टा र स्प्राईटको वितरण गर्दै आएको न्यू ध्रुब ईन्टरप्राईजेजले कुश्माका सबै पसलहरुमा म्याद नाघेका उत्पादनहरुको विक्रि गर्दै आएको पाईएको छ ।
कोक, फेन्टा र स्प्राईट तीन वटै पेय पदार्थहरुको ६ महिना म्याद सकिएको पाईएको पछि वितरण गर्ने डिलरलाई नै कारवाही गर्नुपर्ने सर्वत्र माग उठिरहेको छ । व्यावसायिहरुलाई म्याद नाघेको पेय पदार्थ बेचेर समस्यामा पार्ने गरि बजारमा वितरण गर्दै आएकाले सम्बन्धित सप्लायर्सलाई नै कारवाही गर्नुपर्ने व्यावसायिहरुको माग रहेको छ । सानो अक्षरमा नदेखिने गरि मिति राखेकाले हेर्न समस्या हुने गरेको व्यावासायिहरु बताउँछन् ।
सो सप्लायर्सले पर्वत सदरमुकाम कुस्मा सहित अन्य बजारहरुमा समेत वितरण गर्दै आएको र ति ठाउँहरुमा समेत म्याद गुज्रेको सामान विक्रिका लागि पठाएको पाईएको छ । अन्य जिल्लाका बजारमा प्रशासनले छानबिन थालेपछि जिल्ला नै कटाएर पठाउने र सोही सामान यहाँको बजारमा विक्रि गरेको समेत पाईएको हो ।
पर्वतमा बोटलर्स नेपालका उत्पादन विक्रि गर्ने न्यू ध्रुब ईन्टरप्राईजेजले विक्रि गरेका सबै सामानहरुमा कुनैमा पनि म्याद नभएको पाईएपछि विभागले जिल्ला प्रशासनलाई सो सप्लायर्सको गोदाममा खानतलासी गर्न निर्देशन दिएको छ ।यो समाचार आजको पर्वत खबर साप्ताहिकले छापेको छ ।
गत हप्ता भएको अनुगमनमा सदरमुकाम कुस्माका विभिन्न पसलमा विक्रिका लागि राखिएका उत्पादनहरुको कुनैको पनि म्याद नभएको पाइएपछि विक्रि बन्द गर्न निर्देशन गरिएको भएपनि खुलेआम रुपमा विक्रि हुँदै आएको छ भने प्रशासनले पनि कुनै चासो दिएको पाईँदैन ।
शिशामा विक्रि हुँदै आएको कोकाकोला, फेन्टा र स्प्राईटको बिर्को नजिकै सानो अक्षरमा म्याद लेखिने गरेको र सो सामान्य रुपमा नदेखिने गरेका कारण उपभोक्ताहरु ख्यालै नगरि पिउने गरेको जिल्ला अनुगमन समितिले ठम्याई गरेको छ । जिल्ला प्रशासन कार्यालय सहितको अनुगमनमा यस्तो भेटिएका मध्ये सबैको छ महिना म्याद गुज्रेको पाईएको र तुरुन्तै हटाउन निर्देशन दिई सकिएको प्रशासन कार्यालयका नायब सुब्बा बालकृष्ण शर्माले जानकारी दिनुभयो ।
यसअघि पनि कोककोलामा पटक पटक यस्ता खाले अखाद्य पदार्थ भटिएको थियो । कोकाकोला जस्ता हल्का पेय पदार्थका नाममा बजारमा पाईने मन्द विषयुक्त तरल पदार्थहरुले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भएकोले त्यस्ता खाले हल्का पेय पर्दाथहरु र जङ्कफुड खान नहुने चिकित्सकहरुले सुझाव दिएका छन् । चिकित्सकका अनुसार म्याद नाघेका पेय पदार्थको सेवन विष सरह हुने भनाई छ । यस्ता मन्द विषयुक्त तरल पर्दाथहरु खाँदा पाचन प्रणालीमा समस्या लगायतका अन्य गम्भीर समस्याहरु आउने गरेको चिकित्सकहरुले बताए ।