एमालेले भन्यो– बुटवल हत्याकाण्ड षडयन्त्रपूर्ण आक्रमण
काठमाडौँ, ४ पुस । युवा संघ नेपालका रुपन्देही जिल्ला अध्यक्ष तथा नेकपा (एमाले) क्षेत्रीय कमिटी सदस्य दुर्गा तिवारीको हत्यालाई एमालेले षडयन्त्रपूर्ण आक्रमणका रुपमा टिप्पणी गरेको छ ।
‘प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयम्ले नेकपा (एमाले) र आन्दोलनरत जनताविरुद्ध उत्तेजनापूर्ण अभिव्यक्ति दिइरहेको तथा गृहमन्त्रीले उक्साहटपूर्ण भनाइ राखिरहेको बेला देशभक्त युवा नेताको हत्या भएको छ । देश र जनताको सुरक्षा गर्नुपर्ने व्यक्तिहरुको त्यस्तो उत्तेजना र उक्साहटपूर्ण अभिव्यक्ति सार्वजनिक भएकै बेला यो देशभक्त नेपालीहरुमाथि गरिएको षड्यन्त्रपूर्ण आक्रमण हो ।’, नेकपा एमालेका महासचिव ईश्वर पोखरेलबाट जारी विज्ञप्तिमा भनिएको छ– ‘आन्दोलनकारी युवा नेताको हत्या गरेर एकातर्फ उक्त आन्दोलनलाई कमजोर बनाउने र अर्कातर्फ साम्प्रदायिक सद्भाव विथोलेर मुलुकमा विखण्डन सिर्जना गर्न गम्भीर आपराधिक षड्यन्त्र भइरहेको गम्भीर आशंका पैदा भएको छ । केही दिन पहिला रुपन्देहीकै भैरहवामा एकजना व्यवसायीमाथि समेत गोली प्रहार भएको कुरा यहाँनेर स्मरणीय छ ।’
हत्याको तीब्र भत्सर्ना र निन्दा गर्दै त्यसमा संलग्न अपराधीहरुलाई तुरुन्त गिरफ्तार गरी कडा कानुनी कारवाही गर्न माग गर्दै महासचिव पोखरेलले विज्ञप्तिमा भनेका छन् – ‘हत्या र षड्यन्त्रको पर्दाफास गर्दै संयम र धैर्यका साथ राष्ट्र, राष्ट्रियता, संविधान कार्यान्वयन र अग्रगमनको यात्रामा अविचलित सक्रियताका साथ भएर लागिरहन कार्यकर्ता पंक्तिलाई हाम्रो पार्टी आग्रह गर्दछ ।’
युवा संघका रुपन्देहीका अध्यक्ष तिवारीको सोमबार अपरान्ह करिब ३ः३० बजे रुपन्देहीको देवदह नगरपालिका–६, खैरेनीमा हिँडिरहेको बेला मोटरसाइकलमा आएका दुईजनाले गोली हानी हत्या गरेका हुन् ।