ढाकमारमा पुसको चिसो हिउँदमा पनि कसरी आयो अचानक बाढी ?

मुस्ताङको ढाकमर लेक र डोल्पाको सिमानामा हिमताल फुटेर एक्कसी बाढी आएको हुनसक्ने

.बाढी आएको ढाकमार गाउँको फाइल तस्बीर

.बाढी आएको ढाकमार गाउँको फाइल तस्बीर

हिमाली क्षेत्र माथिल्लो मुस्ताङको ढाकमार खोलामा आइतबार बिहान ९ बजेतिर अकस्मात् बाढी आएपछि स्थानीत चकित खाए।

स्थानीय भाषामा के-च्याङबो नामले चिनिने ढाकमार खोलाको बाढीले ८ काठेपुल र ४ पानी घट्ट बगाएको जिल्ला प्रशासन कार्यालय जोमसोमले जनाएको छ। घटनास्थल पुगेको प्रहरी टोली फर्केर आएपछि मात्रै घटनाको विस्तृत विवरण आउने प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले बताए।  त्यस्तैगरी बाढीले लोमान्थाङ जाने गोरेटो बाटो बगाएको, ३ वटा घरमा क्षति पुगेको र दुईघर परिवार विस्थापित भएका छन् । बाढीले ढाकमर गाउँ देखि तल रहेको वृक्षारोपण गरेको जंगल पनि बगाएको छ । खोलामा धमिलो पानी आएको र बाढीले सबै खानेपानीका मुहान बगाएपछि स्थानियलाई खानेपानीको समस्या भएको छ ।

घनी गाविसमा पर्ने यो क्षेत्रका अधिकांश बासिन्दा चिसो सुरु भएसँगै जाडो छल्न बेंसी झरिसकेका छन्। ‘यहाँ अहिले थोरै मानिस छन्,’ प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, ‘त्यहाँको प्रहरी चौकी नजिकैको चौकीमा सारिएको छ। स्कुल पनि बन्द छ। त्यसैले सम्पर्क गर्न कठिन छ। जिल्लाबाट गएको टोली फर्किएर आएपछि मात्रै के भएको हो भन्ने विस्तृतमा जानकारी हुन्छ।’

जोमसोमबाट डेढ दिनको पैदल दुरीमा पर्ने ढाकमारमा पुसको चिसो हिउँदमा पनि कसरी अचानक बाढी आयो त?

स्थानीयले कुनै हिमताल फुटेर बाढी आएको अनुमान गरेका छन्।

जिल्ला प्रशासन कार्यालयका कर्मचारी जितेन्द्र बलामीले स्थानीयलाई उद्धृत गर्दै भने, ‘डोल्पाको सीमानातिर कुनै हिमताल फुटेको हुनसक्छ।’

जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालयमा कार्यरत भूगर्भविद् श्रीकमल द्विवेदी पनि हिमतालमा पहिरो गएकाले बाढी आएको हुनसक्ने बताउँछन्। ‘ढाकमारभन्दा माथि दुईवटा हिमताल छन्,’ उच्च हिमाली क्षेत्रको बाढीबारे अनुसन्धानमा संलग्न द्विवेदीले भने, ‘तीमध्ये कुनै तालमा माथिबाट पहिरो आएर बाढी आएको हुनसक्छ।’

उनका अनुसार भूउपग्रह नक्सामा ढाकमारभन्दा माथि ५ हजार ५ सय र ५ हजार ६ सय मिटर उचाइमा दुईवटा हिमताल देखिन्छन्। यी हिमतालमा माथिबाट पहिरो आएको द्विवेदीको अनुमान छ।

timthumbपछिल्लो समय जलवायु परिवर्तन र बढ्दो विश्व तापमान (ग्लोबल वार्मिङ) का कारण हिमाली क्षेत्रमा नयाँ नयाँ हिमताल बन्ने र भएका हिमताल विष्फोट हुने खतरा बढ्दै गएको छ। नेपालमा रहेका तीन हजार हिमतालमध्ये २१ वटा ठूला हिमताल फुट्न सक्ने उच्च जोखिममा छन्। हिमाली क्षेत्रमा लामो समयदेखि काम गरिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इसिमोडले सन् २०११ मा प्रकाशित गरेको एक प्रतिवेदनमा २१ हिमताल उच्च जोखिममा रहेको उल्लेख छ।

‘यसको मुख्य कारण बढ्दो ग्लोबल वार्मिङ नै हो,’ द्विवेदी भन्छन्, ‘विश्वको तापक्रम वृद्धिसँगै हिमनदीको हिउँ पग्लिने क्रम तीव्र भयो। यसले नयाँनयाँ हिमताल बन्नुका साथै हिमतालमा पानीको मात्रा बढ्दै गयो र हिमताल फुट्ने खतरा पनि बढ्यो।’

लामो समयदेखि नेपालका हिमनदी तथा हिमतालबारे अनुसन्धानमा संलग्न द्विवेदीका अनुसार अधिकांश हिमताल सन् १९५० पछि बनेका हुन्। पानीको मात्रा बढ्दै जाँदा यस्ता हिमताल आफैं फुट्ने जोखिम हुन्छ। माथिबाट पहिरो गएर ताल पुरिँदा त्यहाँको पानी ‘ओभरफ्लो’ भएर बाढी आउने उनले बताए।

ढाकमारको बाढीबाट कालीगण्डकी तल्लो तटमा भने खासै असर नपर्ने उनले बताए। ‘जति पानी बग्ने थियो बगिसक्यो,’ उनले भने, ‘तालमा पानीको मात्रा धेरै नभएको हुँदा त्यसले धेरै असर गर्न सक्दैन।’

तर, हिमतालहरु विष्फोट हुने र त्यसमा पहिरो आएर बाढी जाने खतरा बढ्दै गएकाले दीर्घकालीन समाधान खोज्नुपर्नेमा उनको जोड छ। अहिलेसम्म उच्च जोखिममा रहेका २१ मध्ये दुईवटा हिमतालको सतह घटाएर नियमित निकास खोल्ने काम भएको छ। केही वर्षअघि च्छो रोल्पा हिमतालको सतह घटाइएको थियो। यसै वर्ष नेपाली सेनाले सगरमाथाको काखमा रहेको इम्जाको सतह घटाएको छ।

उच्च जोखिममा रहेका अरु १९ हिमतालको पनि सतह घटाएन आवश्यक भएको इसिमोडले सुझाएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी