अख्तियार उचालेर ‘कु’ गर्न खोजियो
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उचालेर आफू भारत भ्रमण रहेको बेला ‘कू’ गर्न खोजिएको बताएका छन् ।
विराटनगरमा आयोजित पार्टीको १ नम्बर प्रदेश कार्यकर्ता भेलामा आइतबार दाहालले लडाकु शिविर अनियमितता छानविन नाममा आफूलाई पक्राउ गर्ने र सरकारविरुद्ध ‘कू’ गर्ने योजना बनेको तर त्यो सफल नभएको बताएको समाचार आजको नागरिक दैनिकले छापेको छ।
‘भारत भ्रमणका बेला अख्तियारलाई उचालेर ‘कू’ गर्ने प्रयास भएको थियो तर कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीले त्यसलाई रोकेको पछि थाहा भयो,’ माओवादी केन्द्रका नेताले प्रचण्डको भनाई उद्धृत गरेको उल्लेख गर्दै नागरिकले लेखेको छ, ‘अख्तियारलाई उचालेर प्रधानमन्त्रीलाई पक्राउपुर्जी थमाउने योजना थियो, पक्राउ पत्र तयार पारेर खाममा ठिक्क पारेपछि रोकिएछ ।’