समृद्धिका लागि पार्टीमा अब तेस्रो पुस्ता

surendra-556x330पार्टीमा पहिलो पुस्ता – अब कस्तो पार्टी बनाउने ? सबै राजनीतिक दलसामु अहिलेका लागि यो महत्वपूर्ण प्रश्नसँगै त्यस्तो पार्टी बनाउने प्रशस्त चुनौती र सम्भावना छन् । ०३० सालतिर म राजनीतिमा प्रवेश गर्दा देशको राजनीतिक परिस्थिति भिन्न थियो । पञ्चायती तानाशाही व्यवस्थामा कोही व्यक्ति जोखिम मोल्न तयार हुन्नथे । कल्पना गरौँ, राणा शासनको अँध्यारो कालखण्डमा ००६ सालमा कसरी कम्युनिस्ट पार्टी बन्यो होला ? कांग्रेस र प्रजा परिषद् कसरी स्थापित भए होलान् ? त्यो अँध्यारो कालरात्रिमा औँलामा गन्न सकिने एकाध दर्जन व्यक्ति पढेलेखेका थिए । कलेज थिएन, एसएलसी दिन पट्ना जानुपर्ने बाध्यताबीच पक्कै जोखिम मोल्न चाहनेहरूले नै पार्टी निर्माण गरे । अहिले पार्टीमा असल–खराब कस्ता मान्छे आए प्रश्न उठिरहन्छ, तर त्यो वेला राजनीतिमा लाग्नेहरू स्क्रिनिङ (छानिन्थे) हुन्थे । प्रहरीले बुट बजारेपछि वा जेलको कालरात्रिबाट बाहिरिएपछि कतिपय त आफैँ पलायन पनि हुन्थे । हामीले धेरै जोखिम मोलेर, बलिदान गरेर, जेलमा बसेर, भूमिगत जीवनमा अनेकौँ यातना सहेर माले बनायौँ । त्यतिवेला मालेजस्तै अरू पार्टी क्रान्तिको आवश्यकताले निर्माण भएको पहिलो पुस्ताको पार्टी थियो । जेल, भूमिगत जीवन, यातना सहन तयार, पढ्ने, जागिर खाने, घुम्ने सबै अवसर गुमाउन तयार भएर पार्टी निर्माण गर्नु त्यसवेला कम्ती चुनौतीपूर्ण थिएन, अझ उनीहरूलाई पार्टीमै टिकाइराख्नु त झनै ठूलो चुनौती थियो । ०४६ सम्म पुग्दा नेकपा मालेसहितका तिनै पार्टीले पञ्चायतलाई परास्त गरे । त्यो पहिलो ‘जेनेरेसन’को पार्टी थियो । पार्टीमा दोस्रो पुस्ता ०४६ पछि ०७२ सालसम्म हामीले दोस्रो ‘जेनेरेसन’को पार्टी बनायौँ । ०४६ अघि हामीले वर्गीयताका आधारमा पार्टी बनायौँ । तर, ०४६ को परिवर्तनपछि आजसम्म हामीले महिला, दलित, मधेसी, पिछडिएको क्षेत्र, अल्पसंख्यकलाई सिट छुट्याएर पार्टी निर्माण ग¥यौँ । तल्लादेखि माथिल्लो केन्द्रीय कमिटी अनि महाधिवेशनसम्म कोटा तोकेर प्रतिनिधित्व गरायौँ । तर, माक्र्सदेखि माओत्सेतुङसम्म आइपुग्दा कुनै पनि पार्टी के वर्गीय आधारबाहेक निर्माण भएको पाइएको छ ? पक्कै छैन । तथापि, हामीले वर्ग र जात अर्थात् वर्ग र अधिकारलाई जोडेर पार्टी निर्माण गर्‍यौँ । यो कतिपयलाई अनौठो लाग्न सक्छ । खासगरी, बाहिरियाहरूको आँखामा के गरेको होला भन्ने लागे पनि हामीले त्यसै गरी पार्टी निर्माण ग¥यौँ । सुरक्षा र गोपनीयतालाई ख्याल गरेर त्यतिवेला सानो आकारमा पहिलो पुस्ताको पार्टी बनाइन्थ्यो । दोस्रो पुस्ताको पार्टी सबैलाई समेट्न, निर्वाचनमा जान, आवश्यकता र आकांक्षालाई सम्बोधन गर्न ठूलो आकारमा बनाइयो । अधिकारका मुद्दाको सम्बोधन तर, ०७२ असोजमा आइपुग्दा जब हामीले संविधानसभाबाट नयाँ संविधान निर्माण गर्‍यौँ, त्यसले मूलभूत रूपमा अधिकारको मुद्दा सम्बोधन गर्‍यो । जस्तै– हेपिएका भनिने महिलालाई राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला, सभामुख र उपसभामुखमध्ये एक महिला, सांसद् बनाउँदा परिणाममै (प्रत्यक्षमा नजिते समानुपातिकबाट क्षतिपूर्तिको सुनिश्चितता)सहित एकतिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्‍यौँ । राष्ट्रिय सभामा कम्तीमा एक प्रदेशबाट दुईजनाको प्रतिनिधित्व, प्रदेशमा एकतिहाइ र स्थानीय तहमा कम्तीमा ४० प्रतिशत परिणाममै प्रतिनिधित्व हुने गरी सुनिश्चित गर्‍यौँ । के अब महिलाले हामी तल पर्‍यौँ, अधिकारमा पछि छौँ भन्न मिल्छ ? सबैको प्रतिनिधित्व गर्दै केन्द्र, प्रदेश र स्थानीय तहमा नियम, कानुन बनाउने ठाउँमा पुर्‍याएर अधिकारसमेत दिइसकेपछि त मलाई यी काम गर्न मत दिनुपर्‍यो र त्यहाँ गएपछि यी–यी काम गर्छु भनेर छाती ठोक्दै आफ्ना योजना प्रस्तुत गर्नुपर्दैन र ? कतिपय अपूर्ण छन् भने पनि महिलाले संविधान र कानुनले दिएका अधिकार प्रयोग गर्दै बाँकी पनि पूरा गर्छु भनेर जानुपर्ने हुन्छ । त्यस्तै, दलित, जनजाति, मधेसी, क्षेत्री–बाहुनलाई पनि प्रतिशत छुट्याइएको छ । कर्मचारीतन्त्रमै ४५ प्रतिशतसम्म आरक्षण सुरक्षित छ । बाहुन–क्षेत्रीलाई ५५ प्रतिशतमा खुला, तर जनजाति, महिला, दलित, मधेसी समुदाय र पिछडिएका क्षेत्रलाई आरक्षण र खुला दुवैतिर लड्न पाइने व्यवस्था भएकाले हामी पछि पारियौँ भन्ने अवस्था अब रहेन । बरु २० वर्षपछि ४५ प्रतिशतको दरले आरक्षित हुँदै जाँदा कर्मचारीतन्त्र कस्तो होला ? सम्पूर्ण रूपले समावेशी हुन्छ, अझ कुनै दिन क्षेत्री–बाहुनचाहिँ अल्पमतमा पर्ने दिन पनि आउन सक्छ । यसरी संविधानले अवसरका सम्पूर्ण ढोका खोलिसकेको छ । अब अधिकार चाहियो भन्दै आन्दोलन गर्ने चरण समाप्त भयो । समयक्रममा घटनाक्रम र अनुभवका आधारमा पूरक रूपमा सम्बोधन गर्नु बेग्लै हो । पार्टीमा तेस्रो पुस्ताको आवश्यकता यी सबै तथ्यका आधारमा अब तेस्रो पुस्ता पार्टी निर्माण गर्नु आजको वस्तुगत आवश्यकता हो । संविधानले समाजवादमा जाने गरी समृद्धिको यात्रा तय गरिसकेपछि समृद्धिको नेतृत्व गर्न योग्य र क्षमतावान् व्यक्तिहरू आवश्यक पर्छन् कि पर्दैनन् ? त्यसैले अब निर्वाचनमा जाने प्रत्येक पार्टी र तिनका नेताहरूले जनतालाई भन्नुपर्नेछ–यति वर्षभित्र मेरो देशलाई म यहाँ पु¥याउँछु । त्यस अवधिमा देशको आर्थिक वृद्धिदर यति पुर्‍याउँछु । हाम्रा समस्या र सम्भावना यी छन्, सम्बोधन यसरी गर्छौं भन्ने सोचसहित अबको नेतृत्व आउनुपर्छ । म अन्याय, अत्यचारमा परेको छु भन्नेहरूले समाजलाई अब नेतृत्व गर्न सक्दैनन् । अब योग्य, सक्षम र क्षमतावान् नेतृत्व आवश्यक छ । ऊसँग समृद्धिको योजना हुनु आवश्यक छ । हामीले देश समृद्ध हुन सक्ने सम्भावनाको कुरा त गर्दै आएका छौँ, तर कुराले होइन । अब कामबाटै देखाउने वेलामा प्रवेश गरिसकेका छौँ । भूमिको व्यवस्थापन मुलुकको समृद्धिको पहिलो सुरुवात हामीले जमिनको वर्गीकरणबाट गर्नुपर्छ । जमिनको उपयोगलाई औद्योगिकीकरणअनुकूल बनाउन नीति र कानुन निर्माण जरुरी छ । जस्तै– जमिनलाई प्रयोगका आधारमा वर्गीकरण गर्ने, जमिनलाई अघिल्लो पुस्ताबाट अहिलेको पुस्तामा हस्तान्तरण गर्न विधि, प्रक्रिया, करलगायतका विषयमा कानुनी व्यवस्था गर्ने । सबै पुँजीवादी व्यवस्था भएका मुलुकमा यो प्रक्रिया आरम्भ नगरेसम्म पुँजीवादसँगै औद्योगिक धन्दाको विकास भएन । अमेरिकामा १८६१ मा आएको भूमि व्यवस्थापन ऐनले जमिनको पुनर्संरचना ग-यो, युरोपमा त्यसअघि नै भइसकेको थियो, एसिया प्यासिफिक क्षेत्रका मुलुकले पनि यसै गरे । जापानमा पनि १८७० मा भूमिको पुनर्संरचना भयो, स्थानीय सामन्तका सबै अधिकार खोसिए, कृषियोग्य जमिन राज्यमातहत ल्याएर खेती भइरहेको छ । यसरी विभिन्न देशमा भूमिको पुनर्संरचना विभिन्न तरिकाले भएका छन् । तर, हामीले अहिले गर्नुपर्ने मुख्य काम जमिनलाई उपयोगका आधारमा वर्गीकरण गर्ने गरी कानुन ल्याउनुपर्छ । कृषियोग्य भूमिलाई कृषि, उद्योग चलाउनेलाई औद्योगिक, व्यवसाय गर्नेलाई व्यावसायिक, आवास बनाउनेलाई आवासमा वर्गीकरण गर्ने, वर्गीकरणअनुसारका काम मात्रै गर्ने गरी अर्थात् खेती लगाउने जमिनमा घर बनाउन नपाउने गरी कानुन बनाउनुपर्छ । यसो नगरिए देश बर्बाद हुन्छ, भविष्यको पुस्तालाई न खुवाउन सकिन्छ, न केही दिन सकिन्छ । खाली जमिनमा उद्योग खुल्छ, व्यापारको आसले मान्छे वरिपरि झुम्मिन्छन्, बिस्तारै संख्या बढेपछि प्रदूषण भयो भन्दै उद्योग विस्थापित गर्न कोसिस गरिन्छ । राजनीतिक नेताहरू के ठीक-बेठीक नछुट्याईकन मतको राजनीतिका लागि गलत कामको अगुवाइ आफैँ गर्न थाल्ने विडम्बना छ अहिले । पैतृक सम्पत्तिमा नयाँ व्यवस्था पुँजीवादी मुलुकमा आफूले छोराको नाममा जमिन किन्न नपाउने, छोरा र छोरीले आफ्ना लागि आफैँले किन्नुपर्ने व्यवस्था गरिएको छ । बाबुले जमिन लिँदा पनि त्यतिवेलै इच्छाइएको व्यक्ति उल्लेख गर्नुपर्छ, त्यो नभएको अवस्थामा पुख्र्यौली सम्पत्ति छोराले लिन पाउँदैन, राज्यमातहत जान्छ । अहिले हाम्रो मुलुकमा बूढाबूढी अलपत्र पर्ने शृंखला चलिरहेको छ । कानुनमार्फत भूमि व्यवस्थापन नगर्ने हो भने यो समस्या झनै बढ्दै जाने निश्चित छ । विदेशमा बाबुको सम्पत्ति छोराछोरीलाई हस्तान्तरण गर्ने हो भने ४० प्रतिशतसम्म कर लाग्छ, त्यसैले सम्पत्तिको लोभ गर्नुभन्दा छोराछोरीले त्यो नगदलाई उद्यममा लगाउँछन् । उत्पादनको विशिष्टीकरण कृषिको विकास औद्योगिकीकरणको पहिलो ढोका हो । हाम्रो मुलुकमा सबै उत्पादन हुन्छ । तर, कहाँ के उत्पादन गर्ने ? यसमा विशिष्टीकरण हुनुपर्छ । पहाडमा पनि धान फल्ने खेत, मधेसमा धानै फल्ने खेत । के सबैतिर धानै लगाउने त ? त्यसैले उत्पादन क्षेत्र घोषणा गर्नुपर्छ । सरकारले सब्सिडी (अनुदान) दिने गरी उत्पादन क्षेत्र तोक्नुपर्छ । जस्तै– ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम र धनकुटालाई चिया र अलैँचीमा १५ वर्षका लागि सब्सिडी दिने, अरू लगाउँछन् भने उनीहरूकै स्वेच्छामा लगाउन पाउने, तर सरकारले एक पैसा नदिने । सरकारले अलैँची कलेज खोल्ने, प्रविधि उपलब्ध गराउने, बजारीकरण गर्ने काममा सहयोग गर्नुपर्छ । सिराहा, सप्तरीमा आँप उत्पादन गरेर हिमालयन म्यांगोको नाममा संसारभर बेच्न सकिँदैन र ? धनुषा, महोत्तरीमा माछा, काभ्रे, धादिङमा तरकारी, गुल्मी, अर्घाखाँची र पाल्पामा कफी, दाउन्नेपूर्व चितवनसम्म पोल्ट्री फार्म, जोमसोम, मुस्ताङ र जुम्ला स्याउ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा धान लगाउने गरी विशिष्टीकरण गर्नेबित्तिकै औद्योगिकीकरणको आधार सिर्जना हुन्छ । पूर्वाधार र ठूला सहरको विकास पूर्वाधार विकासले वस्तु उत्पादनमा वृद्धि गर्छ । पूर्व–पश्चिम राजमार्ग बन्दा १० लाख नेपालीले रोजगारी पाए । दायाँ–बायाँ खुलेका उद्योग, होटेल, व्यापार, कारखानामा संलग्न हिसाब गर्दा त्यतिले पाए । हामीले त्यस्तै पाँचवटा राजमार्ग बनाउँदा के हुन्छ ? त्यसले रोजगारी सिर्जना गर्छ । एकैपटक दशवटाबाट होइन, एउटा राजमार्ग पूरा गरेर सुरु गरौँ । जस्तै– काठमाडौं–निजगढ फास्टट्र्याक, काठमाडौं–रसुवागढी, मध्यपहाडी राजमार्गलाई विस्तार गरौँ । सबैमा एकैपटक लगानी गर्नुको अर्थ एउटा पनि राजमार्ग निर्माण नगर्नुजस्तै हो । एउटा बनाएर त्यसको प्रभावमा अर्कोमा दिनेगरी अघि बढौँ । जथाभावी सहर बनाउने होइन, निश्चित स्थान तोकेर अघि बढौँ । संसारभरि सहरलाई आर्थिक वृद्धिको इन्जिनका रूपमा लिने गरिन्छ । पहाडमा पाँचवटा, तराईमा पाँचवटा नयाँ सहर विकास गर्नेबित्तिकै त्यसले बजारीकरण गर्दै जान्छ । हाइड्रोपावर पनि छनोट गरेर सुरुमा लोडसेडिङ अन्त्य गर्ने गरी कम्तीमा तीनवटा मात्रै कम समयावधिभित्रै निर्माण गरौँ । त्यस्तै, प्राविधिक शिक्षामा जोड दिने गरी अघि बढौँ । यसो गर्न सकेको खण्डमा नाटकीय रूपमा देश समृद्धितर्फ अघि बढ्छ । अन्त्यमा, चीन र भारतले तीव्र आर्थिक विकास गरिरहेका छन् । हाम्रो बजार र अवसर यिनै दुई मुलुक नै हुन् भन्ने तथ्यलाई हामीले भुल्नु हुन्न । उनीहरूका आवश्यकतालाई समेत मध्यनजर गरी हाम्रा उत्पादनलाई विशिष्टीकरण गर्दै अघि बढौँ । अबको केन्द्रबिन्दु मुलुकको आर्थिक समृद्धि नै हो । त्यसैले यसलाई नेतृत्व गर्न सक्षम तेस्रो पुस्ताको पार्टी निर्माणमा सबैले ध्यान दिन ढिलो भइसक्यो । (एमाले स्थायी समिति सदस्य पाण्डे पूर्वअर्थमन्त्री हुन्) नयाँपत्रिका दैनिकबाट 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना