मैत्रीपूर्ण फुटबलः नेपालद्वारा मलेसिया पराजित
काठमाडौँ । नेपाली महिला टोलीले मैत्रीपूर्ण फुटबल खेलमा मलेसियामाथि १–० को जित हात पारेको छ ।
सातदोबाटोस्थित एन्फा कम्लेक्समा आज भएको खेलमा सावित्रा भण्डारीले २७औँ मिनेटमा गरेको गोल नै नेपालको जितमा निर्णायक बन्यो । हीराकुमारी भुजेलको पासमा सावित्राले गोल गरेकी हुन् ।
खेलपछि आयोजित पत्रकारसम्मेलनमा मलेसियाली प्रशिक्षक मोहमद असिराफ अब्दुल्लाले नेपाली टिम निकै बलियो रहेको बताए । “हामीले थाइल्यान्ड र म्यान्मारका टिमसँग पनि खेलेका छौँ, नेपाल उनीहरु जत्तिकै बलियो, सन्तुलित टिम रहेछ,” उनले भने ।
नेपालका मुख्य प्रशिक्षक कुमार थापाले मलेसियाली टोली आफूहरुले सोचेभन्दा बलियो नरहेको आजको खेलबाट पुष्टि भएको बताए ।