यस्ता कारण छन प्रधानमन्त्रीको सम्पति बिबरणमा आलोचना हुनुमा
२ पुस । सामान्यतः कुनै व्यक्तिले आफ्नो सम्पत्ति घोषणा गरेपछि त्यसमा अरुले टिप्पणी गरिरहन आवश्यक विषय होइन । किनभने, कसैको निजी सम्पत्ति कति छ भन्ने कुरा अरुलाई थाहा हुने विषय होइन । तर, प्रधानमन्त्री पुष्पकमल दाहालले सम्पत्ति विवरण सार्वजनिक गरेपछि चाहिँ व्यापक आलोचना भएको छ । आखिर किन होला त ? त्यसका पछाडि केही कारणहरु छन् ।
१. मासिक घरभाडा नै १ लाख ३ हजार !
समकालीन नेताहरुमध्ये पुष्पकमल दाहाल विलाशी जीवनशैली बिताउने नेताहरुमध्ये पर्दछन् । लाजिम्पाटमा उनी बसिरमहेको घर उनले किनेका होइनन् भने पनि त्यसको मासिक भाडा नै महंगो छ । एकपटक उनले नै सार्वजनिक गरेको विवरण अनुसार पनि चार वर्षअघि त्यो घरको मासिक भाडा १ लाख ३ हजार थियो । जम्मा तीन तोला सुन मात्र भएको, कुनै आम्दानीको अतिरिक्त स्रोत नभएको एकजना सांसदले मासिक त्यत्रो रकम तिरेर कसरी भाडामा बस्न सक्छ ?
२. महंगा ब्रान्डका सामान प्रयोग
प्रधानमन्त्री दाहालको विलासिता राजधानीको महंगो ठाउँमा विशाल कम्पाउन्डसहितको सुविधासम्पन्न घरमा बस्नमा मात्र सीमित छैन, उनी महंगा ब्रान्डका सामान प्रयोग गर्छन् । उनको हातमा रहेको रोलेक्स घडीको मात्रै लाखौँ रकम पर्दछ । उनले लगाउने लुगा र प्रयोग गर्ने सवारी साधन पनि सामान्य प्रकारका छैनन् । यसबाट पनि उनको सम्पत्तिका बारेमा मानिसहरुलाई कुरा गर्न सजिलो भएको छ ।
३. मुड फ्रेस गर्न विदेश र रिसोर्ट
तनावमा परेपछि मुड फ्रेस गर्न विदेश जाने नेपाली नेतामध्ये सम्भवतः प्रधानमन्त्री दाहाल एक्ला छन् । उनी कहिले ब्यांकक त कहिले सिंगापुर पुग्छाउन् । स्वदेशमै पनि सिन्धुपाल्चोक र काभ्रेका महंगा रिसोर्टमा गएर रात बिताउनेमा उनी माहिर छन् । अनि प्रश्न उठ्छ, त्यसो भए यी सबै ठाउँमा खर्च गर्ने पैसा उनले कहाँबाट कमाउँछन् ?
४. अजय सुमार्गी कनेक्सन
माओवादी शान्ति प्रक्रियामा आउनासाथ पुष्पकमल दाहालसँग निकट सम्बन्ध बनाएका व्यापारी अजयराज सुमार्गीका कारण पनि प्रधानमन्त्री दाहालका बारेमा आम रुपमा प्रश्न उठाउन सजिलो भएको छ । यहाँनेर एउटा संयोगले काम गरेको छ । प्रधानमन्त्री दाहालका पिताको नाम मुक्तिराम दाहाल हुन् र सुमार्गीले आफ्ना व्यापारिक संरचनाहरुको नाम मुक्ति राख्नुले प्रश्न उठाउनेलाई ठाउँ दिएको छ । जस्तो, बानेश्वरमा सुमार्गीले बनाएको नौ तलाको मुक्ति टावर प्रधानमन्त्री दाहालका पिताको नाममा हो भन्ने प्रचार छ । यद्यपि, दाहालसँग भेट हुनुभन्दा पहिलादेखि नै सुमार्गीले आफ्ना कम्पनीहरुको नाम मुक्तिबाट राख्दै आएका थिए ।
५. युद्ध र लडाकु शिविरको पैसा
माओवादीले युद्धकालमा जम्मा गरेको ठूलो रकमका साथै लडाकुका नाममा राज्यबाट लगेको अर्बौं रकममध्ये ठूलो मात्रामा दाहाल आफैँले राखेको आरोप माओवादीभित्रबाटै लाग्ने गरेको छ । लडाकुहरुमध्ये कसैले पनि राज्यबाट लगेको जति पैसा नपाएको त प्रमाणित नै भइसकेको छ । विगतमा माओवादी युद्धका बेला सँगै भएका बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, मोहन बैद्यलगायतका नेताहरुल्े समेत दाहालले युद्धका बेलाको रकम र लडाकुका नाममा आएको पैसा राखेको बताउने गरेका छन् । अनि त्यस्तो मानिसले सम्पत्तिका नाममा तीन तोला सुन भनेर सार्वजनिक गर्दा विवाद उठ्ने नै भयो ।
६. विभिन्न ठाउँको लगानी
प्रधानमन्त्री दाहालले एबीसी टेलिभिजन, नयाँ पत्रिका दैनिक, जनमैत्री अस्पताल जस्ता संस्था चलाउन लगानी गरेका छन् भनेर उनीहरुकै कार्यकर्ताले भन्ने गरेका छन् । तर, सम्पत्ति विवरण दिँदा ती कुनैको पनि उल्लेख गरेका छैनन् । यसकारण पनि उनका बारेमा प्रश्न उठेको पाइन्छ ।
७. जनमत नै विपक्षमा छ
अहिले प्रधानमन्त्री दाहालको यति आलोचना हुनुमा राजनीतिक परिस्थितिले पनि काम गरेको छ । किनभने, अहिले आमजनमत उनका विपक्षमा छ । संविधान संशोधनको अलोकप्रिय प्रस्ताव ल्याएका कारण आममनोविज्ञान उनका विपक्षमा रहेकाले यति बेला सार्वजनिक विवरणको थप आलोचना भएको देखिन्छ ।