पर्वतलाई पुर्ण साक्षर घोषणा गर्ने तयारी
पर्वत /पर्वत जिल्लालाई आगामी जेठ महिना भित्र पुर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी थालिएको छ ।
जिल्ला शिक्षा कार्यालय पर्वतले स्थानिय निकायको सहकार्यमा आगामी जेठ १५ सम्मा जिल्लालाई पुर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी गरेको हो ।
कार्यालयले पुर्ण साक्षर जिल्ला घोषणाका लागि कार्ययोजना समेत तयार पारेको छ । अहिले सम्म जिल्लाको कुल जनसंख्याको ९५ प्रतिशत भन्दा बढी जनसंख्या साक्षर भैसकेकाले बाँकी रहेका गाउँ तथा नगरलाई पुर्ण साक्षर घोषणा गरि जिल्लालाई नै घोषणा गर्ने कार्ययोजना अघि सारेको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले बताए । ‘पर्वत जिल्ला भन्दा कम्जोर शैक्षिक अवस्था भएका जिल्ला पुर्णसाक्षर घोषणा भैसकेकाले पर्वतलाई पनि घोषणा गर्न ढिला भैसकेको छ’ उनले भने‘जिल्ला घोषणा गर्न सकिने अवस्था भएपनि तल्लोतहबाट घोषणा गर्दै आउँनुपर्ने भएकाले समय लाग्ने देखिएको हो’
२०६८ को जनगणना अनुसार पर्वतमा १५ देखि ६० बर्ष उमेर समुहका ४ हजार १ सय ७४ जना मात्रै पुर्ण साक्षर हुन बाँकी जनसंख्या छ । यसबिचमा पनि साक्षरता कक्षा सञ्चालन भैसकेकाले अब जिल्लामा वास्तबिक रुपमा ३ हजार ३ सय ५४ जनालाई मात्रै साक्षर बनाउन बाँकी छ । कार्यालयले हरेक बिद्यार्थीलाई आफ्ना अभिभावक र छिमेकीलाई साक्षर बनाउन शिक्षकको रुपमा प्रयोग गर्ने योजना बनाएको छ । बिद्यार्थीले गर्ने प्रयोगात्मक अभ्यासलाई निरक्षरलाई साक्षर बनाउन लगाउने र त्यसबाट थोरै पारिश्रमीक समेत बिद्यार्थीलाई दिने ब्यबस्था मिलाइने जिशिअ पौडेलले बताए ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले पुर्ण साक्षर बनाउन जिल्लाका सबै सरोकारवाला लाग्नुपर्ने सुझाब दिए । उनले बाँकी रहेका निरक्षरलाई साक्षर बनाउँनका लागि सबै सरोकारवालाले सहयोग गर्नुपर्ने कुरामा पनि जोड दिए । स्थानिय बिकास अधिकारी एबम जिल्ला शिक्षा समितिका अध्यक्ष युबराज पौडेलले स्थानिय निकायले यो अभियानलाई पुरा गर्न पुर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा जिल्लाको साक्षरताको अवस्था र रणनितीका बारेमा बिद्यालय निरीक्षक कृष्णप्रसाद श्रेष्ठले जानकारी गराएका थिए ।