परिवारका सबै सदस्यको एउटा मात्र मृगौला, प्रत्यारोपणका लागि सहयोगको खोजीमा पिडीत परिवार
दुर्गाप्रसाद शर्मा /पर्वत

premkala
पछिल्लो समय मृगौलाले काम नगर्ने समस्या धेरै नेपालीको समस्या बन्न थालेको छ । परिवारमा एक जनामा मात्रै दुई वटै मृगौलाले काम गरेन भने परिवार ठुलै समस्यामा पर्छ। एक जना होइन, दुई जना पनि होइन एउटै परिवारका चार जना सदस्यको मृगौला फेल भएपछि त्यो परिवार कति ठुलो समस्यामा पर्छ भनेर हामीले अनुमान मात्रै गर्नं सक्छौ ।
यस्तै पिडामा छ पर्वतको कुर्घा गाउँ बिकास समिति –२ को एक परिवार । परिवारमा चार जनाको मृगौला फेल भएको छ भने प्रत्यारोपण गरेका तथा प्रत्यारोपणमा सहयोग गरेका कारण सबै सदस्यको एउटा मात्रै मृगौला रहेको छ । विगत एक दशकदेखि यस्तै समस्या भोग्दै आएका छन् त्रिलोचन शर्मा पौडेलको परिवारले । मृगौला फेल भएर समयमा उपचार हुन नसक्दा जेठो छोरा प्रकाश पौडेलको ज्यान गैसकेको छ भने छोरी र छोराको मृगौला प्रत्यारोपण गरिएको छ । अहिले श्रीमतीका दुईवटै मृगौला फेल भएपछि प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको छ ।
‘रोगलाई मानिसको सबैभन्दा ठुलो शत्रु मानेर नै होला, शत्रु लागे पनि रोग नलागोस भनेर कामना गरिन्छ , तर मेरो परिवारका लागि रोग नै सबैभन्दा ठुलो शत्रु बनेर आयो’ शर्माले भने ‘परिवारका सबै सदस्य मृगौलाबाट पिडीत हुँदा घरबास उठ्यो’ श्रीमति प्रेमकला पौडेलको अहिले डायलासिस भैरहेको छ । उनको मृगौला प्रत्यारोपण गर्न जरुरी भैसकेको छ । ‘डायलासिसबाट सधै बस्न सकिदैन’ त्रिलोचनले भने –‘सहयोग पाएमा छिट्टै प्रत्यारोपण गर्ने योजनामा छु, आफुँ संग प्रत्यारोपण गर्ने धन छैन’ माइली छोरी र कान्छो छोराको मृगौला प्रत्यारोपण गरेपनि संक्रमण हुने र नियमित रुपमा औषधी खानुपर्ने समस्या छ ।
जेठो छोरा प्रकाशको २०६३ सालमा २६ बर्षको उमेरमा मृगौलाकै कारण भारतको मुम्बईमा निधन भएको थियो । उनलाई मृगौला खराब भएको भन्ने जानकारी नभएपछि उपचारकै अभाबमा मृत्यु भयो । कान्छो छोरा दिपकको २३ बर्षको उमेरमा मृगौला प्रत्यारोपण गरिएको छ । उनलाई ठुलो दिदी शारदा शर्माले एउटा मृगौला दिएपछि प्रत्यारोपण गरिएको छ । अहिले नियमित रुपमा औषधी खाँदा महिनामा २० हजार जति खर्च लाग्ने दिपकले बताए । ‘मृगौला फेरेर मात्रै भएन, नियमित रुपमा औषधी सेवन गर्न समेत कठिनाई भएको छ’ माहिली छोरी श्यामलाको पनि दुबै मृगौला फेल भएपछि बाबु त्रिलोचनले एउटा मृगौला दिएका छन । ‘छोरीको पनि मृगौला फेल भएपछि मैले एउटा दिएर बचाएको छु’ उनले भने । शारदा र श्यामलाको बिहे भैसकेको छ । गत फागुनदेखि श्रीमति प्रेमकुमारीको समेत दुवै मृगौलाले काम गर्न छाडेपछि परिवारमा पीडामाथि पीडा थपिएको उनले गुनासो गरे । कान्छी छोरी कमला मात्रै अहिले सम्म मृगौलाको रोगबाट बचेकी छन । कमला र दिपकको सामान्य जागिरका भरमा बिहान बेलुकाको छाक टार्दै आएको यो परिवारले उपचारका लागि मात्रै अहिले सम्म डेढ करोड भन्दा बढी खर्च गरिसकेको छ । अहिले दिपक र प्रेमकलाको डायलीसको खर्च मात्रै २० हजार खर्च हुन्छ मासिक रुपमा । ‘मासिक रुपमा औषधी खुवाउन समेत कठिन छ ’ उनले भने ।
भारतको मुम्बईमा काम गरी परिवारको खर्च टार्दै आएका उनी एकाएक परिवारमा मृगौला रोगको पीडा थपिएपछि निकै मर्माहत भएको गुनासो गरे । ‘ऋणधन र जग्गाजमिन बेचेर तत्कालिन खर्च टारेपनि अहिले आर्थिक संकटमा परेको छु’ उनले भने–‘मासिक रुपमा हुने उपचार खर्च कसरी ल्याउनुहुन्छ’ कान्छा छोरा प्रकाशको मृगौला प्रत्यारोपण गरेपनि समस्या देखिएपछि भारतबाट चर्को मुल्यमा औषधी मगाएर नियमित सेवन गरिरहेका छन् । कान्छी छोरी कमला बाहेक सबै जना एकपछि अर्को गरी यही अंगको खराबीले थलिदै गएको तिलोचनले बताए । ‘अब परिवारमा कान्छी छोरी कमला मात्रै स्वस्थ छिन’ उनले भने ।
तिलोचनकी श्रीमति प्रेमकलाको हप्तामा दुई पटक नियमित डायलोसिस गर्नुपर्छ । सरकारीले डायलासिस निशुल्क भनेपनि एकपटकमा डायलासिस गर्दा दुई हजारको औषधी र सुई किन्नुपर्ने हुन्छ । जसकारण मासिक रुपमा ४० हजार बढी उपचारमै खर्च हुने गरेको छ । ‘रोग निको हुने कुनै ग्यारेन्टी छैन तर मासिक ४० हजार रुपैयाँ खर्च हुने गरेको छ’ तिलोचनले भने–‘कतै अब जाने ठाउँ छैन, अब कसैले सहयोग दिएमात्रै हो ।’
छोराछोरी र श्रीमतीको उपचारकै क्रममा घरघडेरी, जग्गाजमिन सबै बिक्री गरेका त्रिलोचन सहयोगको खोजीमा सदरमुकाम आएका छन् । ‘उपचार गर्दागर्दै घरघडेरी, जग्गाजमिन सबै सकियो’ तिलोचनले भने–‘संसारमा कसैलाई पनि यस्तो दुःख नपरोस ।’ उनले परिवारका सदस्यमा मृगौला समस्याले अहिलेसम्म डेढ करोडबढी उपचारकै क्रममा सकिएको बताए ।
उनले स्वास्थ्यमन्त्री गगन थापा, सांसद अर्जुनप्रसाद जोशी, बिकास लम्साल देखि लायन्स, रोटरी, पर्वत सेवा समाजलाई सहयोगका लागि अनुरोध गरेका छन । श्रीमतीलाई मृगौला प्रत्यारोपणको सहयोग जुटाउने र छोरा दिपकलाई राम्रो आम्दानी हुने जागिर लगाउनु उनको प्राथमिकतामा छ ।
यसैबिच स्वास्थ्यमन्त्री गगनकुमार थापाले परिवारका चार जनामा मृगौला खराब देखिएका तिलोचनका कान्छा छोरा दिपकलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा जागिरको ब्यवस्था मिलाइदिएका छन् ।
‘स्वास्थ्यमन्त्रीले जागिरको ब्यवस्था मिलाइदिनुभएको छ तर कर्मचारी नभएका कारण नियुक्ति लिन पाएको छैन’ दिपकले भने । उनले आफुलाई जागिर लगाइदिएपनि आफुले त्यो रकमबाट औषधी मात्रै खान पुग्नेभन्दै अन्य सहयोगी निकायसमक्ष थप सहयोगको याचना गरे ।