निजामती कर्मचारीबीच नेतृत्वका लागि कसरत, को–को भिड्दैछन् चुनावमा ?
२८ मंसीर । नेपाल निजामती कर्मचारी संगठनको दशौ महाधिवेशको एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार नेपालगंजमा उद्घाटन गरेका छन् । एमाले समर्थक निजामती कर्मचारीहरु आवद्ध संगठनको महाधिवेशन आजदेखि २९ सम्म चल्नेछ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
२०७३ असार ३१ गते पेशागत महासंघको रोहबरमा दशौं महाधिवेशनमा वर्तमान अध्यक्ष मोहनकुमार घिमिरेको नेतृत्वलाई सर्वसम्मत गराउने सहमति भए पनि बरिष्ठ उपाध्यक्ष केदारप्रसाद देवकोटालाई अध्यक्षमा उम्मेदवार बनाउन लागिएको छ । जसको अगुवाइ आधिकारिक ट्रेड युनियन अध्यक्ष पुण्य ढकालले गरेका छन् ।
संगठनका तत्कालीन अध्यक्ष पुण्यप्रसाद ढकाललाई आधिकारिक ट्रेड युनियनमा अध्यक्ष बनाउने क्रममा दशौं महाधिवेशनमा मोहन घिमिरेकै नेतृत्वलाई सर्वसम्मत चयन गर्ने सहमति भएको थियो । संगठनमा ढकालको विपक्षमा बहुमत हुँदाहुँदै उनलाई आधिकारिक ट्रेड युनियन (सीबीए)को अध्यक्ष बनाई दशौं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने सहमति भएको थियो । तर सीबीएका अध्यक्ष ढकालले नै उक्त सहमति विपरीत देवकोटालाई अध्यक्षका रुपमा अगाडि बढाएका छन् ।
सीबीएका अध्यक्ष ढकाल नै गुटबन्दीमा लागेर उनले नेपालगंजमा हिजो भएको उद्घाटन सत्र भाँड्न बाहिरबाट मानिस ुलगेको आरोप छ । उद्घाटन सत्रमा सुर्खेततिरका एक नेताको नेतृत्वमा महाधिवेशन भाँड्ने ठूलै जत्था परिचालित गरेको आरोप उनीमाथि छ । उद्घाटनअघि भएको -यालीदेखि कुनै पनि महाधिवेशनका क्रियाकलापमा सहयोग नगरेको आरोप घिमिरे पक्षका भरतकुमार थापाले लगाए । उनले भने, ‘उद्घाटन सत्र नभाँड्न आग्रह गर्दा ढकाल र देवकोटाले ल्याएका गैरकर्मचारीले ममाथि आक्रमण गरे ।’ थापाले आफूमाथि भएको आक्रमणको तस्वीर सामाजिक संजाल फेसबुकमै राखेका छन् ।
को–को भिड्दैछन् चुनावमा ?
संगठनका ९० प्रतिशत जिल्लामा सर्वसम्मत ढंगले नेतृत्व चयन भएकाले जतिसुकै बितण्डा मच्चाए पनि घिमिरे नेतृत्वको समूह नै जित्ने पक्षमा ढुक्क छ । मोहन घिमिरेको समूहबाट बरिष्ठ उपाध्यक्षमा इश्वरी ढकाल र महासचिवमा रेवन्त गौतमको निश्चित जस्तै छ । महिला उपाध्यक्षमा भुवन राईको नाम छ । मधेशी उपाध्यक्षमा सुवेदार यादव, राजकुमार यादव र जयकान्त झामध्ये एक हुनेछन् । जनजाति उपाध्यक्षमा शरणकुमार गुरुङ र राजेन्द्रकुमार श्रेष्ठको नाम छ । कार्यालय सहयोगीबाट उपाध्यक्ष दीपक राणाको चर्चा छ ।
प्रदेश उपाध्यक्षमा एक नम्बरबाट जयराम श्रेष्ठ, दुईबाट नौतम पोखरेल, तीनबाट भरतकुमार थापा वा मुकुन्द पराजुलीमध्ये एक हुनेछन् । चार नम्बर प्रदेशको उपाध्यक्षमा घनश्याम सापकोटा, पाँचमा मन्जु कोइराला, छ नम्बरबाट मोहन गिरी र सात नम्बर प्रदेशबाट प्रेमबहादुर सिंहको नाम छ । उपत्यका उपाध्यक्षमा शेखर दाहालको पक्काजस्तै छ । उपमहासचिवमा राजेन्द्रकुमार श्रेष्ठ, चेतनाथ न्यौपाने र शान्ति लुइँटेलको दाबी छ । लेखापरीक्षण आयोगमा मुकुन्द पराजुली, अनुशासन आयोगमा टीकाराम अधिकारी र भरत थापामध्येबाट छनोट हुने बताइएको छ ।
सात सचिवमा भवानी खतिवडा, गगन विक, शान्ति लुइँटेल, रामचन्द्र अधिकारी, हरिकाजी राई, भीमबहादुर बिष्ट, यामबहादुर खत्री, अच्युत अधिकारी, अनिल रेग्मी, सुवास पोखरेलहरुमध्येबाट हुनेछन् । खतिवडा अहिले पनि सचिव हुन् । कोषाध्यक्षमा बखतबहादुर खड्का उम्मेदवार हुनेछन् ।
पुण्य ढकाल पक्षले अध्यक्षमा देवकोटा, बरिष्ठ उपाध्यक्षमा कृष्ण ढकाल, महासचिवमा गंगा सुनुवारको नाम तय गरेको छ । महिला उपाध्यक्षमा भवानी दाहाललाई उठाउने तयारीमा छ । उपमहासचिवमा केशवराज जोशी र बिष्णु अधिकारीको नाम चर्चामा ल्याएको छ । अरु उम्मेदवारको बारेमा निर्णय नभएको देवकोटा समूहका महासचिवका उम्मेदवार गंगा सुनुवारले बताए ।पहिलो न्युजबाट साभार