प्रचण्ड र देउवासँग कुरा गरेपछि माधव नेपाल भन्छन्, ‘संशोधन फिर्ता हुन्छ, उहाँहरु पछि हट्नुहुन्छ’
(नेकपा (एमाले) का बरिष्ठ नेता माधवकुमार नेपाल अमेरिकाबाट फर्किनासाथ वर्तमान गतिरोध हटाउन सक्रिय छन् । शीर्ष तहमा सम्वादहीनता रहन नहुने भन्दै सक्रिय रहेका पूर्वप्रधानमन्त्री नेपाललाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा गत शनिवार नेपाल निवास कोटेश्वर पुगेका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहालले टेलिफोनमा कुरा गरेका थिए । सत्ताघटकका दुई प्रमुख नेतासँगको कुराकानी पछि बरिष्ठ नेता नेपाल भन्छन्, गतिरोध हट्छ । प्रस्तुत छ उनीसँग पहिलोन्युज डटकमले गरेको संक्षिप्त कुराकानी)
० तपाईंहरुको पार्टीले लगातार संसद अवरुद्ध गरिरहेको छ, यो क्रम कहिलेसम्म चल्छ ?
हामीले चाहेर संसद् अबरुद्ध गरिरहेका छैनौँ । जनभावना र संविधान प्रतिकूल संशोधन प्रस्ताव ल्याएपछि प्रतिक्रिया मात्र दिएका छौँ । गतिरोध कति लम्बिन्छ भन्ने हामीमा होइन, सत्तापक्षमा निर्भर छ । जुन दिन प्रस्ताव फिर्ता हुन्छ, त्यही दिन सदन खुल्छ ।
० सत्तापक्षले त प्रस्ताव फिर्ता लिँदैनौँ भनिरहेको छ नि त ?
मैले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुराकानी गरेँ । उहाँहरुलाई संविधान संशोधन प्रस्ताव पारित हुन्छ भन्ने भ्रम रहेछ । एक तिहाईभन्दा बढी सांसद विपक्षमा स्पष्ट रुपमा देखा परिसकेपछि उहाँहरु भ्रममुक्त हुनुपर्ने हो । अब त्यो भ्रम हट्छ होला ।
० कांग्रेस सभापति देउवा लचिलो बनेको पाउनुभयो र ?
शेरबहादुरजीलाई संशोधन प्रस्ताव पारित हुन्छ भनिएको रहेछ । मैले संख्याको हिसाबै गरेर देखाइदिएँ– हाम्रो १८२, नेकपा (माले) ५, नेमकिपा ४, जनमोर्चा ३, परिवार दल २, जनमुक्ति पार्टी २, नेपाः २ र मधेस समता पार्टी १ गरी २ सय मत संविधानको विपक्षमा प्रस्ट छ । यस्तो अवस्थामा कसरी प्रस्ताव पारित हुन्छ ?
० देउवाको प्रतिक्रिया के रह्यो त ?
उहाँले हो र ? त्यसो भए पारित हुँदैन त ? भन्नुभयो । मैले ‘तपाईंको सभापति सुशील कोइरालाजीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउँदा यसैगरी बहुमत आउँछ भनिएको थियो, पछि आयो त ?’ भनेर सम्झाएको छु । आशा छ, उहाँले परिस्थिति बुझ्नुहुनेछ र जिम्मेवार दलको सभापति भएका कारण अवरोध हटाउन भूमिका निर्वाह गर्नुहुनेछ ।
० प्रधानमन्त्री कत्तिको संवेदनशील हुनुहुन्छ त ?
उहाँका बाध्यता होलान्, बचनबद्धता होला । तर, मुख्य कुरा घरको न घाटको हुने स्थिति नबनोस् भनेर हामीले सम्झाउने हो । उहाँहरुबीच भएको सहमति अनुसार पनि उहाँको कार्यकाल ४–५ महिना होला । यसबीचमा गर्न सकिने काममा मात्र हात हाल्दा हुन्छ । पक्कै पनि उहाँले सोच्नुभएको होला ।
० संशोधन प्रस्ताव फिर्ता लिनु नै समस्याको समाधान हो र ? मधेसी दलहरुलाई कसरी विश्वासमा लिन सकिन्छ त ?
मेरो विचारमा मधेसी दलहरुले हामीले जति गर्दा पनि मान्ने पक्षमा छैनन् । उनीहरुले निर्वाचनलाई ध्यानमा राखेका छन् । मधेसी दलका ठूला नेताहरुले नै अघिल्लो निर्वाचनमा मधेसमा हारेका छन् । केही गरी त्यो स्थिति बदल्न सकिन्छ कि भन्ने उनीहरुको योजना होला । लोकतन्त्रमा मुख्य कुरा निर्वाचन हो, निर्वाचनमा जानुपर्छ ।
० मधेसी दल निर्वाचनमा आउँछन् त ?
आउनेहरुले भाग लिने हो । कुनै दल आउँदैन भने कसैले जबर्जस्ती गर्न सक्दैन । स्थानीय निकाय र प्रदेशको निर्वाचन घोषणा गर्ने हो भने धेरै कुराको समाधान हुन्छ । जुन संविधानले मधेसीलाई पहिचान दिएको छ, संरक्षण दिएको छ, अधिकार दिएको छ, त्यही संविधानको विरोध गर्नुपर्ने कारण के हो ? बुझ्न सकिएको छैन ।पहिलो न्युजबाट साभार