नेपालप्रति गलत नजर नलगाए हुन्छ, दायाँबायाँ, तलमाथि पर्न दिँदैनौं : ओली
काठमाडौं । प्रधानमन्त्रीबाट बहिर्गमन भएपछि भारतप्रति कडा टिप्पणी गर्दै आएका नेकपा एमालेका अध्यक्ष केपी ओलीले आइतबार अमेरिका र बेलायतप्रति पनि आक्रोशपूर्ण अभिव्यक्ति दिँदै समावेशीताका विषयमा नेपाललाई नसिकाउन सुझाव दिए ।
ओलीले आफ्नै देशमा सामाजिक तथा लैंगिक समानता नभएको अवस्थामा अमेरिका र बेलायतले नेपालमा अनावश्यक रुपमा यसबारेमा प्रशिक्षण दिन आएको बताए । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले राजधानीमा महिला हिंसा विरुद्व गरेको एक कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेपालको पाँच महत्वपूर्ण पदमध्ये ६० प्रतिशत महिला पुगेको बताउँदै अमेरिका र बेलायतलाई पनि यसबारेमा नेपालबाट सिक्न सुझाव दिए ।
“हामीले माथिल्लो महत्वपूर्ण पाँच पदमध्ये ६० प्रतिशत पदमा महिलाको प्रतिनिधित्व गराएका छौं । हामीलाई अंग्रेजीमा महिला शसक्तिकरणको प्रशिक्षण दिन आउने अमेरिका र बेलायतले सिके हुन्छ ।”
एमाले अध्यक्ष ओलीले नेपालको संविधानले ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको भन्दै बाँकी विश्वले पनि आफूहरुबाट सिक्नुपर्ने बताए । “हामीले अध्यक्ष महिला हुँदा उपाध्यक्ष पुरुष र पुरुष अध्यक्ष हुँदा महिला उपाध्यक्ष बनाउने व्यवस्था गरेका छौं । ४० प्रतिशत महिलालाई स्थानीय निकायमा प्रतिनिधित्व गराउने सुनिश्चित गरेका छौं । हामीलाई अंग्रेजीमा प्रशिक्षण दिन आउने अमेरिकाले हुन आटेको राष्ट्रपति पनि बनाएन नि । हामीलाई के सिकाउनु ?” उनले भने, “हामीलाई प्रशिक्षण दिन आउने अमेरिकी, बेलायतीहरु हाम्रो संसद भवनबाट हुलका हुल महिला सांसदको जुलुस निस्केको देख्दा छक्क पर्दा हुन् । तै पनि हामीलाई अंग्रेजीमा प्रशिक्षण दिन आउँछन् ।”
अर्काे एक प्रसंगमा अध्यक्ष ओलीले आफूले राष्ट्रियता र राष्ट्रिय एकताको पक्षमा कुनै शक्तिसँग सम्झौता नगर्ने बताए । नेपालको संसद, लोकतन्त्र आफूहरुले ल्याएको तर नेपालको भूभाग आफ्नो पुर्खाहरुले जोडेको बताउँदै ओलीले पुर्खाले बनाएको नेपाल टुक्रिन नदिने दाबी गरे । उनले भने, “संसद, संविधान, लोकतन्त्र हामीले ल्याएका हौं । तर यो देश हाम्रो पुर्खाले बनाएका हुन् । कसैले नेपालप्रति गलत नजर नलगाए हुन्छ । दायाँबायाँ, तलमाथि पर्न दिदैनौं । ढुक्क भए हुन्छ ।”
संविधान कार्यन्वयन गर्नेबेला सरकार संविधान संशोधनको कुरा उठाउँदै हिंडेको बताए । “एमाले संविधान संशोधनको विरोधी हैन आवश्यक बुँदा संशोधन गर्न तयार छ,” ओलीले भने, “संविधान कार्यान्वयन गर्न संविधानको कुन बँुदाले रोक्छ । सरकारले भनोस् त्यसमा एमाले सहयोग गर्न तयार छ ।”