ढोरपाटनलाई मध्यवर्ती क्षेत्र घोषणा गर्ने तयारी

dhorpatan-hunting-reserve-being-encroached ढोरपाटन सिकार आरक्षलाई मध्यवर्ती क्षेत्र घोषणा गर्ने तयारी पुनः अघि बढेको छ । आरक्ष कार्यालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा नयाँ पुनः प्रस्ताव पठाएको हो । पाँच वर्ष अघिदेखि मध्यवर्ती क्षेत्र घोषणाको प्रयास हुँदै आएकामा स्थानीयवासीको विरोधपछि गत वर्ष अन्तिम चरणमा घोषणा कार्य रोकिएको थियो ।

सीमा सर्वेक्षणसहितको विस्तृत अध्ययन प्रतिवेदन विभागमा पठाइएको आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । “अध्ययनपश्चात् विस्तृत रुपमा सीमा सर्वेक्षण पनि गरेका छौँ” अधिकृत बरालले भने, “अब विभाग र मन्त्रालयको निर्णयको प्रतिक्षामा छौँ ।” आरक्ष कार्यालयले पटक पटक मध्यवर्ती क्षेत्र घोषणाको लागि स्थानीय तहदेखि केन्द्रसम्म जानकारी गराउँदै आएको थियो ।

आरक्ष क्षेत्रभित्र पर्ने बागलुङ, म्याग्दी र रुकुम जिल्लाका १० गाविसलाई मध्यवर्ती क्षेत्रमा समेट्ने योजना छ । जसभित्र ४७ वटा मानव बस्ती पर्नेछन् । करिब ५५० वर्ग किलोमिटर क्षेत्रफल जमिन मध्यवर्ती क्षेत्रमा समेट्ने गरी प्रस्ताव गरिएको अधिकृत बरालले जानकारी दिए । बागलुङको बोबाङ, अधिकारीचौर, निसी र बोङ्गादोभान, म्याग्दीको लुलाङ र गुर्जाखानी तथा रुकुमको तकसेरा, जाङ, हुकाम र रन्मामैकोट गाविस मध्यवर्ती क्षेत्रमा समेटिएको छ ।

उनका अनुसार देशभर रहेका १४ वटा निकुञ्ज र आरक्ष क्षेत्रमध्ये ढोरपाटन मात्र मध्यवर्ती क्षेत्र घोषणा हुन बाँकी छ । अहिले स्थानीयवासी पनि मध्यवर्ती क्षेत्र घोषणाप्रति सकारात्मक रहेको आरक्ष कार्यालयले जनाएको छ । डेढ वर्षअघि मध्यवर्ती क्षेत्र घोषणा रोक्न स्थानीयले वन मन्त्रालय, राष्ट्रिय वनजन्तु संरक्षण विभाग र प्रधानमन्त्री कार्यालयसम्मै पुगेर बिरोध जनाएका थिए । विरोध मत्थर पार्न आरक्ष कार्यालयले स्थानीयस्तरमा सचेतना अभियान चलाएइपछि उनीहरुले समर्थन जनाएका अधिकृत बरालले बताए । उनले भने, “मध्यवर्ती क्षेत्रबारेको बुझाइमा पनि कमी देखिएको छ, यसप्रति केही भ्रम छन्, त्यसको अन्त गर्छौं ।” संरक्षण र विकासको साझा अवधारणा अनुसार ढोरपाटनलाई मध्यवर्ती क्षेत्र घोषणा गर्न तयारी अघि बढाइएको हो । संरक्षित आरक्ष क्षेत्रको साथमा वरिपरिको बस्ती, वनक्षेत्र र भूभागलाई समेटेर मध्यवर्ती क्षेत्र घोषणा गर्ने गरिएको छ ।

मध्यवर्ती क्षेत्र घोषणा भएपछि आरक्षबाट बर्से्नि सङ्कलन हुने राजस्वको ५० प्रतिशत रकम आरक्षमै फर्कनेछ । राजस्वको ५० प्रतिशत रकम मध्यवर्ती क्षेत्र कार्यक्रम र सामुदायिक विकासका लाागि खर्च हुनेछ । घोषणापछि आरक्षको संरक्षण, व्यवस्थापन, सामुदायिक विकास, सीप विकास, आयआर्जन, पर्यटन विकासलगायतका कार्यक्रम सञ्चालन गरिने आरक्ष कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा