विप्लव माओवादीका ४ कार्यकर्ता गोली सहित पक्राउ
जाजरकोट– प्रहरीले इन्सास राइफलका गोलीसहित विप्वलव माओवादीका ४ जना कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला शिक्षा कार्यालय जाजरकोटको बा२झ १००५ नम्बरको सेतो प्लेटको सरकारी जिपबाट २ सय ५० थान इन्सास राइफलका गोली र ९ थान म्याग्जिनसहित पक्राउ परेका हुन् ।
गोली ओसारपसारमा संलग्न डाँडागाउँ ७ का धर्मराज देवकोटा, पजारी ७ का दीघी नेपाली र खगेनकोट ३ का मिलन शाहीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक हिक्मत बोहराले बताए ।
पक्राउ परेका सबै विप्लव माओवादी कार्यकर्ता भएको उनले जनाए । छिन्जु जाजरकोट सडकको छेडाबजारमा जिल्ला शिक्षाको गाडी जाँज गर्दा भित्र झोलामा लुकाई राखेका गोली फेला परेको प्रहरी निरीक्षक बोहराले बताए ।
शिक्षाका विद्यालय निरीक्षक धनञ्जय आचार्य, झाप्रा स्रोत केन्द्रका स्रोत व्यक्ति भक्तबहादुर मल्ल र लुहादह स्रोतकेन्द्रका स्रोतव्यक्ति टेकबहादुर थापालाई विद्यालय अनुगमन तथा निरीक्षणका लागि दशेराको थलहबजारमा छाडेर गाडी फर्किएको थियो । गाडीलाई छेडा प्रहरी चौकिमा जाँज गर्ने क्रममा गोली फला परेका थिए ।
गाडीमा सवार विप्लव माओवादी कार्ययकर्तासहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । विष्ट, देवकाटा र नेपाली पूर्वमाओवादी लडाकु हुन् । शाही विप्लव विद्यार्थी नेता हुन् ।