विश्व शारीरिक सुगठनमा नेपालकी ननितालाई ऐतिहासिक पदक

काठमाडौं । नेपालकी ननिता महर्जनले आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा आइतबार कांस्य पदक जितेकी छिन् । ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामा ननिताले महिला एथलेटिक फिजिकको १६५ सेन्टीमिटर उचाइसम्ममा कांस्य जित्दै नेपाललाई महिला शारीरिक सुगठनमा ऐतिहासिक सफलता दिलाएकी हुन् । थाइल्यान्डको पटायामा तीनदिने प्रतियोगिताको अन्तिम दिन ननिताले फाइनलमा चाइनिज ताइपेईंकी सुन सु तिङ र इटालीकी एलेसान्ड्रा डा सिल्भालाई पछि पार्दै कांस्य पक्का गरेकी हुन् ।

५ खेलाडी सहभागी उक्त स्पर्धामा मंगोलियाकी गाम्बागा उगल्सेबेगले स्वर्ण तथा उज्वेकिस्तानकी नुरायेभा येलेनाले रजत जिते । सुन चौथो र एलेसान्ड्रा पाँचौं स्थानमा रहे । पाँचै जनाबीच पहिले प्रिजजिङ राउन्ड भएको थियो र पछि पाँचै जनाले फाइनलमा पनि प्रतिस्पर्धा गरेका थिए । उद्घोषकले एलेसान्ड्रालाई पाँचौं र सुनलाई चौथो घोषणा गरेपछि ननिताको कम्तीमा कांस्य पदक निश्चित भएको खुशीयालीमा प्रतियोगिता आयोजनास्थल कन्भेन्सन हलमै रहेका ननिताका पति, बुवा, आमा, दिदी, भिनाजु, खेलाडी र अन्य नेपाली समर्थकले हुटिङ गरेका थिए ।
नेपाली शारीरिक सुगठनमा नेपाली महिला खेलाडीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेको यो पहिलो अवसर हो । ननिता अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने दोस्रो नेपाली महिला खेलाडी हुन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा गर्ने नेपाली महिला खेलाडी निर्मला महर्जन हुन् । निर्मलाले थाइल्यान्डको बैंककमै गत वर्ष भएको विश्व च्याम्पियनसिपको सातौं संस्करण तथा भुटानको थिम्पुमा भएको ५० औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागिता जनाएकी थिइन् ।

कीर्तिपुर नयाँ बजार निवासी ३१ वर्षीयाँ ननिताले ३ वर्षे छोटो शारीरिक सुगठन करियारमा एक घरेलु र एक अन्तर्राष्ट्रिय गरी जम्मा दुई प्रतियोगितामा मात्र खेलेकी छन् । काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले यसै वर्षको सेप्टेम्बरमा आयोजना गरेको मिस्टर काठमाडौं शारीरिक सुगठन तथा प्रथम महिला फिट्नेस च्याम्पियनसिपमा ननिताले पहिलो पटक सहभागिता जनाउदै उपाधि जितेकी थिइन् । ३ पुरुषसहति ४ नेपाली खेलाडी सहभागी भएको यो च्याम्पियनसिपमा नेपाललाई पदकविहीन हुनबाट जोगाएकी ननिताले शारीरिक सुगठनमा आउनुअघि भलिबल, एथलेटिक्स र बास्केटबल खेलेको बताइन् । क्षेत्रीय भलिबल प्रतियोगितामा ननिताको मध्यमाञ्चल टोलीले स्वर्ण जितेको थियो भने क्षेत्रीय स्तरको एथलेटिक्समा ननिताले सटपुट र १ सय मिटर दौडमा कांस्य जितेकी थिइन् ।

ननिताले शारीरिक सुगठनको महिलामा नेपाललाई पदक दिलाउन सफल भएकोमा खुशी लागेको बताउदै प्रिजजिङ राउन्ड सकिन साथ दोश्रो वा तेश्रो हुन्छु भन्ने लागेको बताइन् । ‘राष्ट्रका लागि पदक जित्न सफल भएकोमा खुशी छु । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले कन्फिडेन्ट भएर खेल्छु र सक्दो राम्रो गर्ने प्रयास गर्छु भन्ने सोचेकी थिए ।’ ननिताले भनिन्– ‘प्रिजजिङ सकिएपछि दोश्रो वा तेश्रो हुन्छु भन्ने लागेको थियो । र, नतिजा पनि त्यही अनुसार आयो ।’
ननिताले शारीरिक सुगठनमा लाग्न विशेष गरी पति रुडन वज्राचार्यले प्रेरित गरेको र यसमा परिवारका अन्य सदस्यको समेत सहयोग रहेको बताउँदै महिलाले पनि उचित अवसर पाए राष्ट्रका लागि योगदान दिन सक्ने बताइन् ।
ननिताका पति वज्राचार्यले पहिले उपचारका लागि शारीरिक व्यायाम गर्न लगाएको र पछि ननिताले फ्टिनेसमा राम्रो गर्न सक्छिन् भन्ने लागेर शारीरिक सुगठनमा लगाएको बताए ।
थाइल्यान्डमै रहेका नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले ननिताको सफलताले नेपाली शारीरिक सुगठनको इतिहासमा नयाँ अध्याय थपिएको बताउदै ननिताको सफलताले नेपाली शारीरिक सुगठन मात्र नभइ सिंगो राष्ट्रलाई गौरवान्वित तुल्याएको बताए । अध्यक्ष श्रेष्ठले २०१७ को अक्टोबरमा मंगोलियामा हुने नवौं विश्व च्याम्पियनसिप तथा सोही वर्षको अगष्टमा दक्षिण कोरियामा हुने ५१ औं एसिायली च्याम्पियनसिपमा सहभागी गराउन ननितालाई विशेष तयारी गराउने बताए ।
प्रशिक्षक ज्ञानेन्द्र नकर्मीले सोचे भन्दा राम्रो नतिजा आएको बताउदै प्रशिक्षणमा अझ बढी ध्यान दिएमा ननितामा यो भन्दा राम्रो नतिजा ल्याउने खुबी रहेको धारणा व्यक्त गरे ।
विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघ (डब्लुबीपीएफ) को तत्वावधानमा थाइल्यान्ड शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स संघद्वारा आयोजित प्रतियोगितामा ४९ राष्ट्रका ४ सय भन्दा बढी खेलाडीले विभिन्न ३८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । नेपाली टोली मंगलबार स्वदेश फर्किने कार्यक्रम छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई