एमाले कुनै हालतमा ब्याक नहुने, राष्ट्रघाती संशोधनविरुद्धको आन्दोलन देशव्यापी बनाउने

uml-meetकाठमाडौं, २१ मंसिर । सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयकविरुद्ध आन्दोलनरत प्रमुख प्रतिपक्षी दल एमालेले आन्दोलनलाई देशव्यापी रूपमा अघि बढाउने भएको छ ।

प्रस्तावविरुद्ध संसद्, उपत्यका र पाँच नम्बर प्रदेशमा आन्दोलन केन्द्रित गर्दै आएको एमालेले सरकारलाई दबाब दिन देशभर आन्दोलनका कार्यक्रम थाल्ने निर्णय गरेको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

सोमबार बसेको स्थायी समिति बैठकले सडक र प्रदेशकेन्द्रित आन्दोलनलाई देशव्यापी रूपमा सशक्त र प्रभावकारी ढंगले अघि बढाउने निर्णय गरेको हो ।संशोधनपछि उत्पन्न राजनीतिक तनाव मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले पहल थालेको भोलिपल्टै एमालेले आन्दोलनको दायरा बढाउने निर्णय गरेको हो ।

दलहरूबीच विवाद समाधानका लागि अनौपचारिक संवाद मात्र जारी रहेका बेला प्रमुख प्रतिपक्षी दलको स्थायी समितिले वार्ताभन्दा आन्दोलनका कार्यक्रमलाई प्राथमिकतामा राखी सडक र सदन आन्दोलनबाटै सरकारलाई झुकाउने रणनीति तय गरेको बैठकपछि एक सदस्यले राजधानीलाई बताए ।

अध्यक्ष केपी शार्मा ओलीको बालकोटस्थित निवासमा बसेको पार्टीको बैठकमा पार्टी अध्यक्ष ओलीले संविधानविपरीत प्रमुख प्रतिपक्षीलाई निषेध गरी सरकारले संशोधन प्रस्ताव दर्ता गराएकाले फिर्ता नहुन्जेल आन्दोलनलाई सशक्त बनाउनुपर्ने प्रस्ताव गरेपछि आन्दोलन देशव्यापी बनाउने निर्णय लिइएको सचिव प्रदीप ज्ञवालीले बताए ।

‘संविधानको व्यवस्थाविपरीत र प्रमुख प्रतिपक्षीलाई निषेध गरी सरकारले संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता गरेको छ, यो कुनै पनि हालतमा पास हुनुहँुदैन,’ ओलीको भनाइ उद्धृत गर्दै सचिव ज्ञवालीले भने, ‘सरकारले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदन र सडकमा भइरहेको आन्दोलन अझै सशक्त हुन्छ ।’

सरकारले संशोधन प्रस्ताव दर्ता गराएर प्रमुख राजनीतिक दलबीच दूरी बढाउने, सम्प्रदायिक दंगा फैलाउने, संविधान कार्यान्वयन हुन नदिने काम गरेको निष्कर्षसहित एमालेले आन्दोलनमा सहभागी हुन राजनीतिक दल र जनतालाई आह्वानसमेत गरेको छ ।

बैठकमा ओलीले संविधान संशोधनमा अन्तर्राष्ट्रिय समुदायको हस्तक्षेपलाई एमालेले स्वीकार गर्न नहुने बताएपछि बैठक संशोधनमा छिमेकी मुलुकबाट भइरहेको चलखेलविरुद्ध सचेत भएर अघि बढ्ने निष्कर्षमा पुगेको हो ।

सरकारले संसद् सचिवालयमा दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदन र सडकको आन्दोलनलाई नरोकिने एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।

एमालेले तराई–मधेस विशेष अभियान पनि आन्दोलनसँगै अघि बढाउने भएको छ । एमालेलाई मधेसविरोधी पार्टीका रूपमा विरोधीले फैलाएको भ्रमलाई चिर्न पूर्वदेखि पश्चिमसम्म तराई–मधेस विशेष अभियान सञ्चालन गरिने सचिव भट्टराईले बताए ।

एमालेले संशोधनका विरोधमा सदन र सडकमा थालेको आन्दोलनमा नेकपा माले, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले समेत साथ दिइरहेका छन् ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा