माओवादीले चार हजार रहने गरी केन्द्रिय समिति विस्तार गर्ने

माओवादीले चार हजार रहने गरी केन्द्रिय समिति विस्तार गर्ने

२१ मंसिर ।

नेकपा माओवादी केन्द्रले चार हजार सदस्य रहने गरी महाधिवेशन आयोजक समिति विस्तार गर्ने भएको छ । ‘पार्टी कार्यालयको बैठकले तीन हजार ९९९ जनाको महाधिवेशन आयोजक समिति बनाउने र पोलिटब्युरोको सदस्य सङ्ख्या ३९९ बनाउने निर्णय गरेको छ’, स्थायी समितिका एक सदस्यले भने, ‘जारी पोलिटब्युरो बैठकले यसबारे अन्तिम टुङ्गो लगाउने छ । ‘

उनका अनुसार निर्धारित सङ्ख्याको आधारमा विभिन्न प्रादेशिक समितिलाई सदस्य सिफारिसका लागि निर्देशन दिई सकिएको छ । प्रदेशहरूले आफ्नो कोटाअनुसार सदस्य सिफारिस गरिसकेको छ । अहिले त्यसैलाई मिलाउन शीर्ष तहमा छलफल भइरहेको छ । सोमबार बस्ने भनिएको पोलिटब्युरो बैठकमा यसबारे छलफल गर्ने भनिएको थियो तर शीर्ष तहमा आयोजक समिति र पोलिटब्युरोमा रहने सदस्यहरूको नामावली टुङ्ग्याउने गृहकार्यले अन्तिम रूप पाउन नसकेपछि बैठक स्थगित गरिएको थियो ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले सङ्गठनात्मक संरचना मिलाउनेबारे अनौपचारिक गृहकार्य भइरहेको बताएकी छन् । ‘आन्तरिक रूपमा अनौपचारिक छलफल भयो तर औपचारिक बैठक भएन’ , बैठक स्थगित गरिएकोबारे जानकारी दिँदै भुसालले भनिन्, ‘भोलि ११ बजे बैठक बस्नेछ । बैठकले सङ्गठनको संरचना टुङ्गो लगाउनुका साथै राजनीतिक कार्ययोजना पनि बनाउने छ ।’

आयोजक समिति र पोलिटब्युरोको विस्तारसँगै स्थायी समिति तथा कार्यालयको पनि विस्तार गरिनेछ । माओवादीले केन्द्रीय समितिको कुल सदस्यको एक तिहाइ पोलिटब्युरो, पोलिटब्युरोको एक तिहाइ स्थायी समिति र सोहीअनुसार केन्द्रीय कार्यालय टोली बनाउने विधि प्रयोग गर्दै आएको छ ।

यति ठूलो महाधिवेशन आयोजक समिति बन्नुअघि समिति सदस्यहरूलाई केन्द्रीय सदस्यका रूपमा लिइएको थियो । आयोजक समिति ठूलो हुने भएपछि समितिका सदस्यहरूलाई केन्द्रीय सदस्यको मान्यता नहुने भएको छ ।स्रोतका अनुसार आयोजक समिति सदस्य भनिए पनि महाधिवेशनमा प्रतिनिधि हुन तल्लो तहबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरिनेछ । निर्वाचित नहुने सदस्यलाई पर्यवेक्षकका रूपमा मात्र महाविधिवेशनमा प्रवेश गर्ने अधिकार हुनेछ ।

केन्द्रले यसअघि यसै वर्षभित्र महाधिवेशन गर्नेगरी करिब दुई हजार जनाको आयोजक समिति बनाएको थियो । वैद्य माओवादीबाट विद्रोह गरी आएका रामबहादुर थापा नेतृत्वको समूहसँग पार्टी एकता भएपछि चार सय सदस्य रहनेगरी आयोजक समिति बनाइएको थियो । सुरुमा बनाइएको यो समिति बढ्दै गएर दुई हजारसम्म पुगेको थियो । यति गर्दा पनि सबैको आकाङ्क्षा पूरा नहुने देखिएपछि समिति विस्तार गर्न लागिएको बताइएको छ ।

एक नेताका अनुसार माओवादीले स्थानीय तहको निर्वाचनलगत्तै महाधिवेशन गर्ने तयारी गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन भएपछि यसै वर्षको माघमा गर्ने भनिएको महाधिवेशन स्थगित गरिएको थियो ।

गाेरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी

सेवा प्रवाहमा ढिला सुस्ती नगर्न कार्यालय प्रमुखलाई स्वास्थ्य मन्त्री गिरीको निर्देशन

पर्वत अस्पतालमा थपियो डिजीटल एक्सरे सेवा -गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउन सरकार प्रतिबद्ध छ —स्वास्थ्यमन्त्री गिरी

संकटको डिलमा पुगेको अर्थतन्त्र माथि ल्याउन प्रयत्नरत छ- मन्त्री गिरी