नेपालमै अब कलेजो प्रत्यारोपण

captureमानव अङ्ग प्रत्यारोपणसम्बन्धी नियमावली पारित भएपछि अब नेपालमै कलेजो प्रत्यारोपण हुने भएको छ । मानव अङ्ग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यारोपणको बाटो खुला गरेसँगै अब स्वास्थ्य मन्त्रालय अन्तर्गत मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले कलेजो प्रत्यारोपण सुरु गर्नेछ । कलेजो प्रत्यारोपणका लागि केन्द्रले डेढ वर्ष पहिले नै चिकित्सक तथा नर्सलाई तालिमका लागि विदेश पठाएको थियो ।

स्वास्थ्य मन्त्रालयले ल्याएको नियमावलीले कलेजो प्रत्यारोपणसँग ब्रेन डेथबाट मृत्यु भएकाको आठवटा अङ्ग लिने र प्रत्यारोपण गर्ने बाटोसमेत खुला गरेको छ ।
नेपालका कलेजो रोगीले कलेजो प्रत्यारोपण गर्न चाहे पनि नियमावली तथा प्रत्यारोपण सुविधा नभएका कारण विदेशमा गई करोडौँ खर्च गरेर प्रत्यारोपण गर्दै आएका थिए ।

मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले कलेजो प्रत्यारोपणका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए । ‘मानव अङ्ग प्रत्यारोपण नियमावली आएसँगै कलेजो प्रत्यारोपणमा कानुनी रूपमा सहज भएको छ,’ कार्यकारी निर्देशक डा. श्रेष्ठले भने, ‘कलेजो प्रत्यारोपणका लागि यसअघि नै केन्द्रले चिकित्सक तथा नर्सिङ्ग टोलीलाई तालिमका लागि विदेश पठाइसकेको छ ।’ डा. श्रेष्ठले केन्द्रले केही समयमै कलेजो प्रत्यारोपणसम्बन्धी विदेशबाट विज्ञ चिकित्सक टोली आएपछि नेपालमै कलेजो प्रत्यारोपण गर्न सकिने जानकारी पनि दिए ।

केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले मानव अङ्ग प्रत्यारोपण नियमावलीले ब्रेन डेथ भएकाको अङ्ग निकाल्न र कलेजो प्रत्यारोपण गर्न खुला गरेर थप उत्साहित बनाएको जानकारी पनि दिए । कलेजो प्रत्यारोपणमा विदेशमा एक करोड ५० लाख रुपियाँसम्म खर्च हुने गरेकोमा नेपालमा १५ देखि २० लाख रुपियाँमा प्रत्यारोपण गर्ने तयारी गरिएको छ ।

‘मानव अङ्गसम्बन्धी नियमावलीमा ब्रेनडेथबाट आउने मिर्गौला लगायतका अङ्ग कसरी प्रत्यारोपण गर्ने, कसले पाउने, त्यसको स्पष्ट मापदण्ड बनाएर वितरण प्रक्रिया बनाइएको छ,’ श्रेष्ठले भने, ‘त्यसका लागि कुनै अस्पतालमा कुनै बिरामीको मस्तिष्क मृत्यु भयो भने मानव अङ्ग प्रत्यारोपण केन्द्रमा भएको समन्वय एकाइलाई खबर गर्नुपर्ने हुन्छ ।’ समन्वय एकाइले उक्त अस्पताल गएर त्यो डोनर ठीक छ छैन भनेर परीक्षण गर्नुका साथै त्यसको परिवारको सहमति लिएर अङ्ग निकाल्ने प्रक्रिया अघि बढाउँछ ।

नियमावलीमा अङ्ग दिने व्यक्ति र लिने व्यक्तिको उमेर मिल्नुपर्ने हुन्छ । यस्तै अङ्ग म्याच हुनेले प्राथमिकताका साथ पाउँछ । यो बाहेक बढी समय कुरेको बिरामीलाई पनि प्राथमिकता दिइन्छ । डा. श्रेष्ठले नियमावलीले महिलालाई बढी प्राथमिकता दिएको जानकारी दिए ।

जुन प्राथमिकता विश्वका कुनै राष्ट्रमा छैन, डा. श्रेष्ठले भने, ‘महिलालाई तीन नम्बर बढी दिइएको हुन्छ, सबैभन्दा बढी मापदण्डमा जुन व्यक्ति पर्दछ, उसैलाई प्राथमिकता दिने व्यवस्था गरेको हुन्छ ।’ उक्त मापदण्ड कम्प्युटरले बनाउने जानकारी दिँदै उनले मापदण्डमा जति धेरै स्कोर पाएको छ, त्यसैले अङ्ग पाउने बताए ।

मस्तिष्कको पूर्ण क्षमता नभएको अवस्थालाई ब्रेन डेथ भनिन्छ । अङ्ग वितरण प्रक्रिया, प्रत्यारोपण प्रक्रियामा यसले सघाउने व्यवस्था नेपाल सरकारले गरेको छ । डा. श्रेष्ठले मिर्गौला बाहेक कलेजो, मुटु, फोक्सो, प्यान्क्रियाज प्रत्यारोपण पनि अब सहज बनेको बताए ।

गाेरखापत्र दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’