किन रोकियो प्रहरीमा बढुवा ? ७ सय प्रहरी अधिकृत अन्यायमा

police-new-dressकाठमाडौं, १५ मंसिर । नेपाल प्रहरीभित्र समयमै बढुवा नहुँदा तीन दर्जन सिनियर अधिकृत र ७ सयभन्दा बढी जुनियर अधिकृतको वृत्ति विकासमा असर परेको छ ।

नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) एक, प्रहरी उपरीक्षक (एसपी) १३, प्रहरी नायब उपरीक्षक (डीएसपी) १६, प्रहरी निरीक्षक (इन्सपेक्टर) १ सय ६, प्रहरी नायब निरीक्षक (सई) १ सय ८ र ६ सय ४७ जना प्रहरी सहायक निरीक्षक (असई)को वृत्ति विकासमा असर परेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

समयमै बढुवा समितिको बैठक बस्न नसक्दा खाली रहेको दरबन्दीमा कसैको पनि पदपूर्ति हुन सकेको छैन । समयमै पदपूर्ति नहुँदा प्रहरी संगठनभित्र निराशासमेत छाएको छ । १५ साउन २०७१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डीआईजी गोपाल भण्डारीलाई निलम्बन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएपछि २० साउन २०७१ मै उनी निलम्बित भएका थिए ।

प्रहरी नियमावलीअनुसार ६ महिनापछि उनको स्थानमा बढुवाको प्रक्रिया अघि बढाउनुपर्नेमा अहिलेसम्म बढुवा नगर्दा अन्य सबै तहमा असर गरेको हो । एसएसपीहरू गणेश केसी, रमेश भट्टराई, लव विष्ट, केदारमानसिंह भण्डारीमध्येबाट एकजना बढुवा हुनुपर्ने थियो । यस विषयमा लोकसेवा आयोग र गृह मन्त्रालयले पूर्णतः बेवास्ता गर्दा यस्तो अवस्था आएको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार लोक सेवा आयोगमा प्रहरी प्रशासन हेर्ने वृन्दा हाडाले चासो नदिँदा झन्डै ७ सय प्रहरी अधिकृतको वृत्ति विकासमा असर परेको हो । डीआईजी भण्डारीको मुद्दा अहिले पनि विशेष अदालतमा विचाराधीन छ ।

यसअघि डीआईजी बढुवा समितिको बैठक बसेको भए वा सिफारिस भएको भए ६ महिनाअघि नै प्रतिस्पर्धीमध्ये एक डीआईजीमा बढुवा हुन्थे । त्यसमुनिका दर्जाका लागि पनि बढुवा प्रक्रिया अघि बढ्ने थियो । १६ डीएसपीहरू एसपी हुने थिए भने २५ प्रहरी निरीक्षकहरू डीएसपीमा बढुवा भइसक्ने प्रधान कार्यालयका एक अधिकृतले बताए ।

स्रोतका अनुसार प्रहरीको प्राविधिकतर्फ डीआईजी ३, एसएसपी १०, एसपी ९, डीएसपी ३६, इन्सपेन्टर ९८, सई १ सय २६, असई ६३, हवल्दार ५ सय ३७, जवान ५ सय ८५ दरबन्दी खाली रहेका छन् ।

समयमै बढुवा नहुने भए पनि राम्राभन्दा आफ्ना मान्छेलाई बढुवाका लागि सिफारिस गर्ने गरेका कारण अहिले सुरक्षा निकायमा तोकिएको समयभन्दा पनि पहिला नै जागिर छोड्ने लहरसमेत चलेको छ ।

सुरक्षा निकायमा कार्यरत रहेका अधिकृतदेखि जवानसम्मले पेन्सन पाकेपछि वा विभिन्न कारणले जागिर छोड्ने गरेका कारण दरबन्दी रिक्त हुने गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरीको भनाइ छ ।

डीआईजीको पाँचवर्षे पदावधिका कारण हेमन्त मल्ल ठकुरी, केशव अधिकारी र निलम्बित डीआईजी भण्डारी आगामी ६ पुसदेखि अनिवार्य अवकाश पाउँदै छन् । उनीहरूको स्थानमा बढुवा लागि सिफारिस गर्दा पनि समय अभाव हुने अवस्था छ ।

प्रहरी नियमावलीमा सिफारिस भएको १५ दिनभित्र कसैलाई चित्त नबुझे उजुरी गर्ने प्रावधानले करिब एक महिनासम्म बढुवा प्रक्रियामै बित्ने भएकाले १५ पुसमा केसीलगायत बढुवाका प्रमुख दाबेदार एसएसपीहरू पनि ६ वर्षे पदावधिका कारण बिदा हुने अवस्था छ ।

द्वन्द्वकालमा ज्यान बाजी लगाएर खटेका प्रहरी अधिकृत बढुवा नहुँदा पदावधिकै कारण यतिबेला घर जानुपर्ने बाध्यता सिर्जना भएको छ । प्रहरी प्रधान कार्यालयले समयमै बढुवा प्रक्रिया अघि नबढाएको भन्दै केही दिन अघि बढुवाका लागि प्रतीक्षारत डीएसपीहरूले प्रहरी महानिरीक्षकलाई भेटेर गुनासो गरेका थिए ।

प्रधान कार्यालय बढुवाका लागि तयार भएको तर बढुवा समितिमा रहेको लोकसेवा आयोग र गृह मन्त्रालयले चासो नदिँदा यो अवस्था आएको जवाफ उनीहरूले पाएका थिए । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले ६ महिनाअघि नै डीआईजी बढुवाका लागि लोकसेवासँग सहमति मागेको थियो ।

रिक्त दरबन्दीमा बढुवाका लागि प्रहरी प्रधान कार्यालयले मागेको सहमति लोकसेवा आयोगले अझै दिएको छैन । ‘आयोगले सहमति नदिँदा बढुवा रोकिएकाले बढुवासम्बन्धी सबै काम प्रभावित भएको छ, मन्त्रालयले पनि प्रहरी मुख्यालयको पीडा बुझ्न सकेको देखिएन,’ गृह मन्त्रालयका एक अधिकृतले भने ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी