बिश्वका अनौठा पुलमा पर्ने मुलुककै अग्लो कुस्मा –मुडिकुवा झोलुङ्गे पुल आज देखि सर्वसाधरणका लागि खुल्ला
पर्वत / बिश्वका अनौठा पुलमा पर्ने मुलुककै अग्लो मध्येको एक कुस्मा –मुडिकुवा झोलुङ्गे पुल आज देखि सर्वसाधरणका लागि खुल्ला गरिएको छ । पुलको निर्माण निर्माण कार्य पुरा भएपछि सर्वसाधरणको सुबिधा र पर्यटकको रोजाईलाई ध्यानमा राख्दै खुल्ला गरिएको हो ।
पर्वतको सदरमुकाम कुस्मालाई जिल्लाको फलेबास क्षेत्र संग जोड्न मोदीखोलामा निर्माण भएको यो पुल १ सय ५८ दशमलब ७० मिटर अग्लो छ ।
कुस्मा– मुडिकुवा झोलुङ्गेपुल निर्माण उपभोक्ता समितिले पुलको ९९ प्रतिशत निर्माण कार्य आइबार साँझ सम्म सकिएकाले आज बिहान देखि सर्वसाधरण र पर्यटकका लागि खुल्ला गरेको जानकारी दिएको छ। ‘सामान्य फिनिसिङ्गको काम मात्रै बाँकी छ’ समितिका अध्यक्ष बालकृष्ण तिवारीले न्युज डबलीलाई भने ‘सर्वसाधरणको चाप थाम्नै गाह्रो भएपछि आज बिहान देखि औपचारिक रुपमा खुल्ला गरेका हौ’ आइतबार साँझ सम्म तारबार लगाउने काम सकिएको र त्यसलाई राम्रो बनाउने काम मात्रै बाँकी भएकाले यात्रु र पर्यटकका लागि भने कुनै जोखिम हुनेछैन । आज बालाचर्तुदशी पर्व पर्ने भएकाले पनि गुप्तेश्वर गुफा, अलपेश्वर, गलेश्वर जाने तीर्थालुको सुबिधालाई समेत ध्यानमा राखेर पुल सञ्चालन गर्न लागिएको समितिले जनाएको छ । पुल सञ्चालनमा आएपछि फलेबास क्षेत्र र दक्षिण बागलुङ्गका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन ।
मोटरसाईकललाई वारपार गर्नका लागि अझै दुई महिना लाग्ने अध्यक्ष तिवारीले बताए । दुबै तर्फबाट सडक जोड्न तथा पुलमा मोटरसाईकल ओहोर दोहोर गर्ने पुर्बाधार बनाउन समय लाग्ने उनको भनाई छ। ‘सर्वसाधरणलाई अब ओहोर दोहोर गर्न समस्या छैन ’ उनले भने ‘मोटरसाईकल चलाउनका लागि भने अझै दुई महिना कुुर्नुपर्ने हुन्छ’
कुस्माको बड्गाउँबाट मुडिकुवा जोड्ने यो झोलुङ्गे पुल मुलुककै सबैभन्दा अग्लो कालीगण्डकी नदीमा बनेको बड्गाउँ कैया झोलुङ्गे पुल भन्दा मात्रै ३० सेन्टिमीटर होचो छ । यो पुल अहिले सम्म निर्माण भएका पुल मध्ये सबैभन्दा लामो छ । यो पुल ३ सय ५९ मिटर लामो रहेको छ ।
बिभागले दिएको जानकारी अनुसार कुल १ करोड ७६ लाखको लागतमा निर्माण भएको छ । पर्वतको महत्वपुर्ण कृषि तथा ब्यापारिक केन्द्रको रुपमा रहेको फलेबास सम्म पुग्न अहिले बड्गाउँबाट १ घण्टा पैदल जानुपर्छ भने दोबिल्ला फलेबास सडक मार्फत जाँदा १३ किलोमिटर कच्ची सडकको दुरी पार गर्नुपर्छ । झोलुङ्गे पुल निर्माणपछि कुस्मा देखि मुडिकुवा पुग्न १० मिनेट समय लाग्नेछ । यसले त्यस क्षेत्रमा आवतजावत र कृषि उपजको ढुवानीमा सहजता ल्याउने उपभोक्ता समितिका सदस्य बिष्णु नेवारले जानकारी दिए ।
अग्ला झोलुङ्गे पुलको शहर बन्दै गएको कुस्मामा पुल हेर्न आउने आन्तरिक पर्यटकको भिड नै लाग्ने गरेको छ। बागलुङ्गको बलेवा क्षेत्र जोड्नलाई बनेको मुलुककै सबैभन्दा अग्लो कुस्मा–कैया झोलुङ्गे पुलबाट जम्मा १ सय मिटर नजिकै यो पुलको निर्माण भएकाले थप पर्यटक भित्र्याउन सहयोग पुग्ने बिश्वास लिइएको छ। कुस्मा –कैया झोलुङ्गे पुल १ सय ५९ मिटर अग्लो र ३ सय ४७ मिटर लामो छ । यी दुई पुल भन्दा १ किलोमिटर माथि ३ सय ४४ मिटर लामो र १ सय ३५ मिटर अग्लो कुस्मा –ज्ञादी झोलुङ्गे पुल समेत निर्माण भएको छ।
कुस्माबजारको बड्गाउँ देखि कैया जोड्ने ३ सय ४४ मिटर लामो र १ सय ५६ मिटर उचाई रहेको उक्त पुल नेपालकै अग्लो पुल हो । यस्तै मुलुकको दोस्रो अग्लो झोलुङ्गे पुल कुश्माज्ञादी झोलुङ्गे पुलको लम्वाई ३ सय ४४ मिटर र उचाई १ सय ३५ मिटर रहेको छ ।
तीन वटा अग्ला पुलहरु पाँचसय मिटरको दुरीमा रहेका छन । यी पुल हेर्नका लागि ठुलो संख्यामा आन्तरिक पर्यटक आइरहेका छन । अझै तीन वटा पुल बनेपछि पर्यटकले घुम्ने र हेर्ने ठाउँ समेत बढ्ने देखिन्छ ।