स्थानिय तह निर्धारण प्राबिधीक समितिले पर्वतमा दुई वटा प्रस्ताब पठायो , छ वा साता वटा स्थानिय तह हुने कुरा अझै अन्यौलमा
पर्वतमा कतिवटा स्थानिय तह बनाउने कुरामा जिल्ला प्राबिधीक समितिले समेत एउटै मात्र निर्णय गर्नबाट चुकेको छ। राजनैतिक दल र जिल्लाका जनप्रतिनिधी समेत सहमति जुटाउन असफल भएको बेला प्राबिधीक समितिले ६ र ७ वटा स्थानिय तह बनाउने सिफारिस केन्द्रमा पठाएको हो ।
प्राबिधीक समितिले यस अघि बनाएका ६ वटा र राजनैतिक दल समेतको सहमतिमा बैकल्पिक प्रस्ताबको रुपमा पठाएको ७ वटालाई नै सिफारिस गरेर पठाएको छ। साना राजनैतिक दलले यस अघि समितिले आधिकारीक प्रस्ताब बनाएको ६ वटाको पक्षमा उभिएका थिए भने नेपाली कांग्रेस, नेकपा(एमाले) र नेकपा माओबादी केन्द्रले ७ वटाको पक्षमा भएपनि पहिलेको भूगोललाई मिलाउनुपर्ने अडानमा थिए ।
समितिका एक सदस्यले दिएको जानकारी अनुसार ६ वटा स्थानिय तहको प्रस्ताबमा कुस्मा नगरपालिकामा आर्थर डाडाँखर्क, खौलालाँकुरी र ठुलीपोखरी गाबिसका सबै वडा गाभिएको छ । उत्तर तर्फ लेकफाँट, शालिजा, माझफाँट, बाँसखर्क, धाइरिङ्ग, बनौ र नाङ्गलिबाङ्ग सात वटा गाबिस मिलाएर एउटा गाउँपालिका बनाइएको छ । बाजुङ्ग, क्याङ्ग, देउराली, देउपुर, भूकताङ्गले, तिलहार, राम्जा र चित्रे वटा गाउँ बिकास समिति मिलाएर अर्को गाउँपालिका बनाइएको छ ।
यसैगरी दक्षिण तर्फ कार्किनेटा, थापाठाना, भंगारा, शंकरपोखरी, लिमीठाना, ठानामौला, फलामखानी, कुर्घा, देबिस्थान, खानीगाउँ र मुडिकुवा गरी १० वटा गाउँ बिकास समिति मिलाएर अर्को गाउँ पालिका बनाइएको छ। यस्तै लुंखु, पाखापानी, बालाकोट, होस्राङ्गदी, भोर्ले, सरौखोला, हुवास, त्रिबेणी र बेउलीबास ९ वटा गाबिस मिलाएर अर्को गाउँपालिका सिफारिस गरिएको छ । यसैगरी पाङ्गराङ्ग, बाच्छा, बर्राचौर,रानीपानी, उरामपोखरा, वहाकी, शालिग्राम र टकलाक र भोक्सिङ्ग गाबिस मिलाएर अर्को गाउँपालिका सिफारिस गरिएको छ।
सात वटा स्थानिय तहमा पर्वतका ५५ गाविस मध्ये ८ गाविस मिलेर बनेको कुश्मा नगरपालिकामा खौलालाँकुरी, आर्थर डाँडाखर्क र ठुलिपोखरी गाविसलाई थप गरी कुश्मा नगरपालिका कायम गर्ने प्रस्ताव गरिएको छ । बाँसखर्क, माझफाँट, लेखफाँट, शालिजा, धाइरिङ, बनौ गाविसको एउटा गाउँ पालिका प्रस्ताव गरिएको छ भने क्याङ, बाजुङ, देउराली, भुकताङ्ले, देउपुर, तिलाहार, चित्रे, राम्जादेउरालीको अर्को गाउँपालिकाका रुपमा प्रस्ताव गरिएको छ । त्यसै गरी कार्किनेटा, थापाठाना, शंकरपोखरी, मुडीकुवा, भंगरा, लिमिठाना, ठानामौला खानीगाउँ र देविस्थान गाविसलाई मिलाएर एउटा गाउँपालिका प्रस्ताब गरिएको छ । जिल्लाका दक्षिणी गाविस फलामखानी, लुंखु, पाखापानी, बालाकोट, भोकसिङ, होश्राङ्दी र कुर्घा गाविसलाई अर्को गाउँपालिकामा राखिएको छ । टकलाक, त्रिवेणी, बेहुलीबास, सरौखोला र भोर्ले गाविसलाई पनि गाउँ पालिका सिफारिसका लागि प्रस्ताव गरिएको छ । पाङराङ, बाच्छा, बर्राचौर, वहाकी , उराम र शालिग्राम गाविसलाई समेत गाउँ पालिका सिफारिस गरिएको छ ।
यस बाहेक ब्यबस्थापिका संसदका सदस्यहरु अर्जुनप्रसाद जोशी, बिकास लम्सालले राखेका प्रस्ताब, अन्य राजनैतिक दलले गरेका प्रस्ताबलाई समेत बैकल्पिक प्रस्ताबको रुपमा पठाइएको छ। स्थानिय बिकास अधिकारी युबराज पौडेलले यस अघि प्राबिधीक समिति र राजनैतिक दलमा समेत सहमति भएको कारण ६ र ७ वटा प्रस्ताबलाई नै पठाइएको बताए । ‘स्थानिय तहमा सहमति भएका प्रस्ताबलाई पठाएका छौ’ उनले भने ‘अन्य कुरा आयोगले नै टुंगो लगाउने छ ’