मेसी क्लबमा भित्र्याउन म्यान्चेस्ष्टर सिटीको २७ बर्षको प्रस्ताब
इङ्लिस क्लब म्यानचेस्टर सिटीले बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसीलाई अनुबन्धित गर्न मात्र करिब २७ अर्ब २४ करोड रुपैयाँ छुट्याउने निर्णय गरेको छ। बेलायतबाट प्रकासित ‘दि सन्डे मिरर’ पत्रिकाका अनुसार मेसीले इङ्लिस क्लबमा आउन इच्छा मात्र देखाएको खण्डमा क्लबले अर्जेन्टिनी स्ट्राइकरका लागि ऐतिहासिक कदम अगाडि सार्ने बताइएको छ। बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओला यसै सिजन म्यानचेस्टर सिटीको व्यवस्थापकमा नियुक्त भएपछि मेसीलाई इङ्लिस क्लबमा ल्याउन ठूलै पहल भइरहेको छ।
ग्वार्डिओलाकै कार्यकालमा मेसी बार्सिलोनाको टिमबाट चम्किएका थिए। मेसी र ग्वार्डिओलाको सम्बन्ध अहिले पनि निकै सुमधुर छ। मेसीलाई सिटीमा अनुबन्धित गर्न अर्को खेला पनि सुरु भएको बेलायती अखबारले बताएका छन्। मेसीलाई पहिले क्लबमुक्त गर्ने र स्वतन्त्र खेलाडीको हैसियतमा उनले चाहेको मुल्यमा क्लब भित्रयाउने सिटीको चाहना रहेको छ। यसका लागि सन् २०१८ को जुनसम्म बार्सिलोनासँग रहेको अनुबन्धको सम्झौतालाई नविकरण गर्न नदिने खेलमा पनि सिटी लागेको छ।
बार्सिलोनाले मेसीलाई कानुनी रुपमा आफूसँग राख्न सम्झौताको मिति सकिन ६ महिनाअघि नविकरण गरिसक्नु पर्नेछ। मेसीलाई आठौ पल्ट सम्झौतामा हस्ताक्षर गरेर नोउ क्याम्पमा राख्न बार्सिलोनाको व्यवस्थापकीय टिम अहिले निकै सक्रिय र तनावमा छ। किनभने मेसीको सम्पूर्ण आर्थिक कारोबारको हिसाब–किताब उनका बुवाले राख्ने गर्छन्। २०१८ को जनवरीसम्म बार्सिलोनाले मेसीको अनुबन्धको सम्झौता नविकरण गर्न नसकेको खण्डमा अर्जेन्टिनी स्ट्राइकर स्वतन्त्र खेलाडीको रुपमा आफूले चाहेको क्लबमा सिधै मोलतोल गरेर जान सक्छन्।
मेसी बार्सिलोनामा अनुबन्ध रहेको अवस्थामा सिटीले अहिले उनलाई खरिद गरेको खण्डमा क्लब स्थानान्तरणका लागि क्याटलान क्लबलाई महंगो रकम उपलब्ध गराउनु पर्ने हुन्छ। त्यसैले सिटी बार्सिलोनालाई दिने रकम जोगाएर बरु मेसीको पारिश्रमिक र सुविधा थप्ने सोचमा छ। सिटीले अहिलेको अवस्थामा मेसीको मोल करिब १३ अर्ब ६३ करोड रुपैयाँ राखेको छ।
जसमा साताको करिब ६ करोड ८१ लाख रुपैयाँको पारिश्रमिक छुट्टै छ। स्पेनिस पत्रिका अल मुन्डोको दावी अनुसार मेसीले बार्सिलोनासँगको सम्झौता समाप्त हुँदासम्म धैर्यता कायम राख्न सकेको खण्डमा थप रकम कमाउन सक्ने छन्। तर, बार्सिलोना जापानी कम्पनी राकुटेनसँग भर्खरै जर्सीका लागि भएको करिब २७ अर्बको नयाँ सम्झौतापछि निकै उत्साही रहेको बताइन्छ। क्लब अध्यक्ष जोसेप मारिया बाटोमेउले मेसीलाई क्लबमै राख्न सिटीको प्रस्ताव बराबर खर्च गर्न सक्ने पनि आशा गरिएको छ।