चौरासी पुजाको खर्च कटाएर विद्युतीय पुस्तकालय स्थापना
पर्वत /उत्तरी पर्वतको मल्लाज माझफाँटमा रहेको विद्याज्योती माविमा विद्युतीय पुस्तकालय स्थापना भएको छ ।
धाईरीङ घर भई हाल बेलायतमा ब्यवसाय गर्दै आउनुभएका गैरआवासीय नेपाली संघ एनआरएनका युरोप संयोजक कुल आचार्यले कम्प्युटरमा पढ्न र सुन्न सकिने पुस्तकालय स्थापना गर्नुभएको हो । आचार्यले माध्यमिक तह सम्मको अध्ययन गरेको विद्यालयमा आफ्नो आमा चौरासी वर्ष पुग्नुभएको अवसरमा विद्युतीय पुस्तकालय स्थापना गरेको बताउनुभयो ।
कक्षा २ देखि दश सम्मका पाठ्यक्रम सहित विभिन्न बिधाका दश हजार पुस्तकलाई डिजीटलाईज्ड गरिएको पुस्तकालयमा बिस वटा कम्प्युटर रहेका छन् । पुस्तकालय स्थापना गर्न आचार्यले करिब आठ लाख रुपैया लगानी गर्नुभएको विद्यालयले जनाएको छ । कक्षा १२ सम्मको पठनपाठन हुने सो विद्यालयमा तिन सय ६२ जना बालबालीका अध्ययरत छन् ।
आचार्यले पर्वत क्षेत्र नम्बर १ का सांसद अर्जुनप्रसाद जोशी, पर्वतका जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल लगायतको उपस्थितीमा विद्यालयलाई पुस्तकालय हस्तान्तरण गर्नुभएको छ । आचार्यले शैक्षिक गुणस्तर वृद्धी होस र ग्रामिण क्षेत्रका बालबालिकाले प्रबिधियुक्त शिक्षा पाउने भन्ने उद्देश्यले पुस्तकालय स्थापना गरेको बताउनुभयो ।