मुलुककै पहिलो यान्त्रिक पुल सुचारु गर्ने तयारी
पर्वत /मर्मतका लागि बन्द गरिएको मुलुकै पहिलो केबुलकार मोडेलको यान्त्रिक पुल छिट्टै सञ्चालनमा आउने भएको छ।
प्राविधिक समस्या देखिएका कारण कार्तिक २७ दलेखि बन्द भएको यान्त्रिक पुल दुई चार दिन भित्र सञ्चालनमा आउन लागेको हो ।
पुलको लठ्ठामा समस्या देखिएपछि बन्द गरिएको सेवा मर्मत पछि सुचारु गरिएको कुश्मा बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । ‘भारतबाट प्राबिधीक झिकाएर मर्मतको काम भैरहेको छ । ’ उनले भने ‘दुई चार दिन भित्र सेवा सुचारु गर्ने योजनाका साथ काम भैरहेको छ’
पुल लामो समयसम्म सञ्चालन भैरहँदा लठ्ठामा समस्या देखिएका कारण यात्रुहरुलाई सम्भावित खतरा हुन नदिन सेवा बन्द गरिएको थियो । यान्त्रिक पुल बन्द हुँदा बागलुङको बलेवा क्षेत्रका झण्डै डेढ दर्जन गाविसका वासिन्दा र पुल हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु समस्यामा परेका छन् । उक्त पुलबाट अहिले दैनिक सयौँको संख्यामा यात्रुहरु आवतजावत गर्दै आईरहेका छन् । विगत पाँच वर्ष अघि मुलुकमै पहिलोपटक केवलकार मोडेलमा निर्माण गरिएको कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेड संचालनमा आएपछि २ घण्टाको पैदल यात्रा चार मिनेटमै छोटिएको छ ।
पुल सञ्चालनको समयमा आठ मिनेटको यात्रा गर्नुपर्ने भएपनि पछिल्लो समयमा नयाँ प्रबिधी जडान गरिएपछि आठ मिनेटको यात्रा चार मिनेटमै छोटिएको थियो । उक्त पुलमा बाग्लुङ्ग र पर्वतका गरि चार सय ३६ जनाको शेयर रहेको छ । दुईवटा यान्त्रिक कार जडान भएको उक्त पुलमा एउटा कारमा ८ जना अट्न सक्ने क्षमता रहेको छ । दुवैतर्फ गरेर एकपटकमा १६ जना आवतजावत गर्न सकिन्छ । करिब ५ करोडको लागतमा निर्मित उक्त पुलबाट यात्रा गर्नका लागि एक तर्फी भाडा १ सय रुपैंया तोकिएको छ भने, बागलुङ जिल्लाको वलेवा क्षेत्रका वासिन्दाका लागि ७५ रुपैंया तोकिएको छ ।
कुश्मा बलेवा यान्त्रिक पुलले गत आर्थिक वर्षमा १ करोड मुनाफा समेत आर्जन गरेको थियो भने शेयर सदस्यहरुलाई २० प्रतिशत लाभांस समेत वितरण गरेको थियो । पुन संचालनमा आएपछि अहिलेसम्म ७० प्रतिशत लाभांस वितरण भैसकेको लिमिटेडका सचिब केदारनाथ शर्माले जानकारी दिए ।