पर्वतको कुर्घाको यो परिवारमा सबैको मिर्गौला फेल, के सरकारले हेर्ला?

एकाघरको परिवारमा सानी बहिनीबाहेक कसैको मिर्गौला दुइटा छैनन्।
timthumb

आइतबार साँझ रेडियोमा सुनेको खबरले श्यामला शर्माको मन भरंग भयो।
खबर थियो, कांग्रेस नेतृ सुजाता कोइरालाको उपचारका लागि ५० लाख रुपैयाँ दिने मन्त्रिपरिषद निर्णय।
उनले मिर्गौला फेल भएपछि डाइलाइसिसमा बाँचिरहेकी आफ्नी आमालाई सम्झिइन्। मनमा दुइटा प्रश्न खेल्न थाले– ‘मेरी आमाको उपचारका लागि आर्थिक सहयोग माग्दा कानुन देखाउने राज्यले सुजाता कोइरालालाई आधा करोड दिन मिल्छ?’
‘के राज्यको नजरमा सुजाता र मेरी आमा बराबर होइनन्?’
 श्यामलाका बारेमा हामीले स्वास्थ्य सेवा विभागबाट जानकारी पाएका थियौं। उनले आफ्नी आमालाई प्राणघातक रोग लागेपछि सहयोगको याचना गर्दै विभागमा निवेदन दिएकी रहिछन्। विभागका अधिकृत प्रकाश घिमिरेले उनको निवेदन प्रसंग उठाउँदै सोमबार  भनेका थिए, ‘पर्वत, कुर्घा गाउँको एउटा परिवार छ, आमा र चार जना छोराछोरी सबै मिर्गौलापीडित छन्। त्यही परिवारकी छोरी सहयोग माग्दै आजै हामीकहाँ यहाँ आएकी थिइन्।’
मैले प्रकाशसँग नम्बर लिएर श्यामलालाई फोन गरेँ।
श्यामलाका बाबा भारतको मुम्बईमा काम गर्थे। आमाले घरबार सम्हालेकी थिइन्। पाँच छोराछोरीका सानातिना रहर पूरा गर्न उनीहरूलाई कुनै दुःखजिलो थिएन। छोरी श्यामलाको पढाइ पनि राम्रो थियो। एसएलसी पास भएपछि आमाले नै सदरमुकाम कुश्मामा पढ्न पठाइन्।
कक्षा १२ पढ्न थालेपछि श्यामलालाई टाउको दुख्ने व्यथाले समात्यो। पढाइमा ध्यान जानै छाड्यो। टाउको चड्किँदा होसै हराउँथ्यो। अति भएपछि आमा आफैं कुश्मा झरिन्। दुवै पोखरा आए। त्यहाँबाट राजधानीको वीर अस्पताल रेफर गरी पठाइयो। वीरमा उनीहरू २० दिन बसे।
बल्ल थाहा भयो, श्यामलाको मिर्गौला फेल भएछ।
श्यामलालाई तीन भुवन रिंगेजस्तो भयो। तै आमाले हरेस खाइनन्। क्याम्पस पढ्दै गरेका ठूलो छोराको साथ लगाएर बम्बई पठाइन्, श्यामलाको बाबाकहाँ। बम्बई पुगेपछि उनको डाइलाइसिस सुरु भयो, पहिले घाँटीबाट अनि हातमा फिस्टुला राखेर।
उनका दाइले उतै नोकरी खोजे। बाबा र दाजु अफिस जाने भएपछि श्यामलाको हेरचाह गर्न दिदी पढाइ छाडेर मुम्बई आइन्। फुरफुर गर्दै क्याम्पस जाने बेला श्यामलालाई अस्पताल धाउनुपर्यो। मनमा रंगीन सपना बुन्दै हिँड्ने बेला मृत्युको छायाँ पछ्याउँदै हिँड्नुपर्यो।
दुई वर्ष बिते।
श्यामलालाई आमाको छेउमा बसेर कुरा गर्न मन थियो। उनले पकाएको खान मन थियो। आमाको न्यानो हातको स्याहार नपाएर उनी न्यास्रिएकी थिइन्। साथीभाइलाई भेट्ने इच्छाले मनमा तुफान मच्चाउँदै थियो। सबभन्दा बढी त, आफू जन्मेहुर्केको ठाउँ पुग्नै उनी व्यग्र थिइन्।
मनको इच्छामा डोरिँदै गाउँ त पुगिन्, तर धेरै दिन बसिरहन सकिनन्। उनको स्वास्थ्यले नै गाउँमा धेरै दिन बस्न दिएन। उनी यस्तो अवस्थामा थिइन्, बाँच्नकै लागि नियमित अस्पताल गएर डाइलासिस गराइरहनुपथ्र्यो।
सबैलाई गाउँमै छाडेर दिदी र श्यामला पोखरा आइन्।
उता, यसैबीच गाउँमा ठूलो दाइलाई टाउको दुख्ने र उल्टी हुने रोगले च्याप्यो। बाबाले उपचार गराउन सिधै बम्बई लगे। दुर्भाग्य, जँचाउदा–जँचाउँदै अस्पतालमै उनको मृत्यु भयो।
डाक्टरले मृत्युको कारण बताए– मृगौला फेल र मुटुरोग।
यो खबर परिवारकै लागि ठूलो झट्का थियो। किनकि, श्यामला त्यही रोगसँग जुधिरहेकी थिइन्। त्यसपछि उनलाई तुरुन्तै मुम्बई लगियो।
एकदिन डाक्टर राजेश कुमारले श्यामलालाई बोलाएर भने, ‘तिमी किन मिर्गौला प्रत्यारोपण गर्दिनौ? तिम्रो बुबा, आमा वा आफन्तले एउटा मिर्गौला दिए तिमी आफ्नो पूरै आयु बाँच्न पाउँछ्यौ।’
उनको अँध्यारो मनमा आशाको सानो झिल्का उठ्यो।
खबर सुन्नेबित्तिकै उनका बाबा डाक्टरलाई भेट्न गए। भने, ‘डाक्टरसाप, मेरो मिर्गौला दिएर छोरी बाँच्छ भने म दिन्छु।’
मुखले त भने, तर सायद उनको मन डराइरहेको थियो। आफ्नो शरीरै काटेर अर्कालाई दिन सकिन्छ भन्ने उनले यसअघि सुनेका पनि थिएनन्। भावनामा बहेर घरसल्लाह नगरी निर्णय गर्न उनी हच्किए।
आमा र बाबाको कुराकानी भयो। आमा पनि मुम्बई आइन्। सबै कुरा बुझेपछि आमाले ढिपी गर्न थालिन्, ‘मेरो छोरीलाई मै मिर्गौला दिन्छु।’
उनको मिर्गौला जाँचियो। आकार सानो रहेछ। श्यामलालाई प्रत्यारोपण गर्न मिलेन। आखिरमा बाबाले नै आफ्नो मिर्गौला दिने भए। अहिले श्यामला बाबाको मिर्गौला धारण गरेर नयाँ जीवन बाँचिरहेकी छन्।
प्रत्यारोपणपछि डाक्टरले सम्झाएका थिए, ‘जिन्दगीभरी तिमीले औषधि खानुपर्छ, त्यसैले परिवारको बोझ नबन्नु, कम्तीमा औषधिका लागि आफैं कमाउनुपर्छ भन्ने ख्याल राख्नू।’
उनले बाबालाई जागिर खोजिदिन अत्याउन थालिन्। बाबाले चिनेको कम्पनीमा जागिर पनि खोजिदिए। जीवनको गाडी सामान्य हिसाबले चल्न थाल्यो। फरक यत्ति हो, १९–२० वर्षको उमेरमा मनमा नाच्ने स्वाभाविक कल्पनाहरू उनले देख्न छाडेकी थिइन्। आफन्त र समाजका आँखामा देखिने सहानुभूतिले पनि बारम्बार उनको मुटु छेडिन्थ्यो।
यसबीच केही प्रेम प्रस्ताव पनि आए। तर, उनी सुरुमै भनिहाल्थिन्, ‘मेरो एउटा मात्र मिर्गौला छ।’
मान्छे देखिने अंगले लोभिन्छन्, तर नदेखिने अंगको चिन्ता बढ्ता गर्दा रहेछन्। उनलाई माया देखाउनेहरू पनि मिर्गौलाको कुरा सुन्नेबित्तिकै तर्किन थालिहाल्थे।
जिन्दगीको यो तत्वबोधपछि श्यामलाले बिहेको ख्याल यस्तरी मनबाट झिकिदिइन्, मानौं पैतलामा बिझेको कुनै काँडा झिकेकी हुन्। हुन पनि त्यसपछि उनको मन साह्रै हल्का भयो, कपासको भुवाजस्तै।
पाँच वर्ष बित्यो।
दसैंमा उनी घर आइन्। चाड मनाइवरी मुम्बई फर्किने तर्खरमा थिइन्। त्यही बेला परिवारमा अर्को बज्रपात पर्यो, भाइ पनि उसैगरी टाउको दुख्ने ब्यथाले थलिए।
परेर जानेकी श्यामलाले भाइलाई आफैं पोखरा ल्याइन्। सिधै मिर्गौला जचाउन लगिन्।
नभन्दै, भाइको मृगौला पनि फेल भइसकेको रहेछ।
रातारात भाइलाई मुम्बई लगियो। डाइलाइसिस सुरु भयो। भाइलाई मिर्गौला दिन ठूली दिदी राजी भइन्। सात महिनामै प्रत्यारोपण भयो। श्यामलाको हकमा भने यस्तो थाहा पाउनै दुई वर्ष लागेको थियो।
घरमा कमाउने जम्मा श्यामला र उनका बाबा मात्र थिए। महँगो औषधि र घरखर्च चलाउनै धौधौ हुन थाल्यो। यही भार थेग्न भाइ पनि पढाइ छाडेर जागिर खान थाले। दिदीले पोखरामा पढाइ सुरु गरिन्। घरमा आमा र बहिनी मात्रै थिए।
दुई वर्षअघि उनकी दिदीको प्रेम विवाह भयो। ‘भिनाजुले सबै थाहा पाएर पनि दिदीलाई स्विकार्नुभयो,’ श्यामलाले भनिन्, ‘हाम्रो समाजमा कुरा बुझ्ने असल मानिस पनि हुँदा रहेछन् भनेर मलाई खुब खुसी लागेको थियो।’
अर्को खुसी त्यतिखेर लाग्यो, जब उनले पनि त्यस्तै बुझ्ने मानिस भेटिन्।
उनी एउटा आइटी अफिसमा काम गर्थिन्। अर्कै अफिसमा काम गर्ने भारतीय नागरिक करण हुड्डासँग उनको चिनापर्ची भयो। भेटघाट बाक्लियो। एकदिन करणले फोन गरेर आफ्नो मनको कुरा भने, ‘श्यामला, म तिमीलाई मन पराउँछु।’
सुन्नेबित्तिकै श्यामलाले भनिन्, ‘मेरो एउटा खोट छ, त्यो थाहा पाएपछि पनि तपाईं मलाई मन पराउनुहुन्छ भने ठिक छ।’
‘के?’ करण सोधे।
श्यामलाले कुरा खोलिन्।
उताबाट करणको आवाज सुनिएन। उनले फोन राखिसकेछन्।
यसले श्यामलाको चित्त त दुख्यो, तर उनी व्यथीत भइनन्। आफ्नो जिन्दगीको यथार्थसँग उनले बाँच्न जानिसकेकी थिइन्।
करणसँग भेटघाट बन्द भयो। फोन पनि आएन। श्यामलाले आश पनि गरेकी थिइनन्।
अलि दिनपछि अचानक करण फेरि भेटिए। श्यामला उनीसँग बोल्न चाहन्थिनन्। नदेखे जस्तो गरी पन्छिन चाहन्थिन्। तर, करणले नै कुराकानी थाले।
‘श्यामला, मैले तिम्रो डाक्टरलाई भेटेको थिएँ,’ उनले भने।
श्यामला केही बोलिनन्। करणलाई हेरी मात्र रहिन्।
‘डाक्टरले भनेको तिमीले बिहे गर्न सक्छ्यौ रे। अरूको जस्तै नर्मल जीवन बिताउन सक्छ्यौ रे,’ उनले भने, ‘तिमी मसँग बिहे गर्छौ श्यामला?’
श्यामलालाई त आफ्नो कानप्रति विश्वासै भएन। मन पनि अलमलमा पर्यो। मान्छेको मनले भन्दा आँखाले पहिला कुरा बुझ्दो रहेछ!
उनका आँखा भरिए।
दिदीको बिहे भएको छ महिनापछि श्यामलाले बिहे गरिन्।
‘मिर्गौला फेरेको आठ वर्षमा मलाई अरूजस्तै सामान्य केटी हुँ भन्ने लागेको त्यही बेला हो,’ ओठमा फूलजस्तै हाँसो भर्दै श्यामलाले भनिन्, ‘त्यसपछि मैले कहिल्यै आफूलाई बिरामी र बेखुसी महशुस गर्नुपरेको छैन। उहाँ (करण) मलाई संसारमै सबभन्दा स्पेसल फिल गराउनुहुन्छ।’
श्यामला आफ्नो संसारमा रमाउन थालेकी थिइन्। भाइ र बुबा नोकरीमा व्यस्त थिए। आमा र बहिनी घर चलाउँथे। उनलाई माइतिको पीर थिएन। करण र उनको परिवारले त श्यामलाको हेरचाहमा कुनै कसर छाडेनन्।
कहिलेकाहीँ कसै–कसैलाई दैवको आँखा लाग्छ भन्छन् नि! श्यामलाको परिवारलाई पनि दैवकै आँखा लागेको रहेछ।
सात महिनाअघि उनकी आमाको पनि मिर्गौला फेल भयो।
अहिले कुर्घा गाउँको घरमा ताल्चा मारिएको छ। सबै पोखरामा डेरा गरेर बस्न थालेका छन्। बाबा र भाइ पनि मुम्बईमा नोकरी छाडेर फर्किसके।
र, आमा डाइलाइसिसको साहाराले बाँचेकी छन्।
दुर्भाग्य कस्तो भने, उनीहरूको एकाघरको परिवारमा सानी बहिनीबाहेक कसैको मिर्गौला दुइटा छैनन्। सानी बहिनीको मिर्गौला लिन आमा मान्दिनन्। अरू कोही आफन्तले दिए त आमा ठिक हुन्थिन्, तर त्यस्तो दाता फेला परेको छैन।
एक महिनाअघि श्यामला आमाको उपचार निम्नि नेपाल आइन्। बल्ल पो उनले थाहा पाइन्, मृगौला दिन कोही राजी भइहाले पनि उपचार खर्च जुटाउनै गाह्रो रहेछ। भाइको जागिर छैन। बाबाको एक्लो कमाइले घरभरिका तीन–तीन जना मिर्गौला बिरामीको निम्ति उपचार गर्नै गाह्रो रहेछ।
कतैबाट कुनै आश नदेखेपछि श्यामलाले सरकार गुहार्ने निधो गरिन्। र, आमाको उपचार निम्ति आर्थिक सहायताको निवेदन बोकेर काठमाडौं आइन्।
‘डाइलाइसिस र मिर्गौला फेर्न ३ लाख रुपैयाँ सहायताबाहेक केही गर्न सक्दैन रे सरकारले, त्यहाँभन्दा बढ्ता दिने कानुनै छैन रे,’ उनले  भनिन्, ‘आखिर कानुन त हामीजस्ता दैवले ठगेका गरिबका लागि त रहेछ नि!’

‘राज्य भनेको त गरिब जनताको आमाबाबु होइन र? हुनेखानेलाई त किन सहयोग चाहियो? के राज्यले हामीलाई हेर्ला त?’ श्यामलाले बारम्बार यिनै प्रश्न दोहोर्याइरहिन्।

 शोभा शर्मा,

 सेतोपाटीबाट साभार 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले-दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

यसरी हुँदैछ एमालेको १०औं महाधिवेशन

पर्वत कांग्रेस निर्वाचन- जोशी सभापतिमा विजयी

एमाले महाधिवेशनको उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्ः योगेश भट्टराई