नेपाली राष्ट्रिय टोलीसँगै मैत्रीपुर्ण फुटबल खेल्न जापानी टोली आज नेपाल आउँदै
November 17, 2016 | 8:08 am    

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्न जापानको पूर्व राष्ट्रिय खेलाडी सम्मिलित ‘जापान फ्रेन्डस् टोली’ आज नेपाल आइपुग्दै छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र जापानको सामाजिक संस्था कलरवाथको संयुक्त आयोजनामा हुने च्यारिटी मैत्रीपूर्ण खेलका लागि जापानिज टोली आज अपरान्ह नेपाल आउँदैछ । जापानिज टोली अपरान्ह १२ः ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने कार्यक्रम रहेको एन्फाले जनाएको छ ।
जापानिज टोली र नेपालबीचको खेल आगामी नोभेम्बर १९ तारिखमा एन्फा कम्प्लेक्स सातदोबाटोमा मैत्रीपुर्ण हुनेछ । नेपाल र जापान दौत्य सम्बन्ध स्थापना भएको ६० औं वर्षको उपलक्ष्यमा च्यारिटी फुटबल हुन लागेको हो ।
च्यारिटी फुटबलको लागि विश्वकप २००२ को जापानिज राष्ट्रिय टोलीबाट खेलिसकेका पूर्व राष्ट्रिय खेलाडी तोडा काजुयाकीको नेतृत्वमा १६ सदस्यीय जापानिज शीर्ष लिग जे लिगका खेलाडी तथा अन्य क्लबका व्यवसायिक फुटबल खेलाडी नेपाल आउँदैछन् ।
नेपाल र जापानिज फुटबल टोलीबीचको खेलबाट उठेको रकम भूकम्पले प्रभावित जिल्लामा विद्यालय निर्माण गर्ने लक्ष्य रहेको छ । मैत्रीपूर्ण खेलका लागि एन्फाले १ हजार र १५ सय दरको टिकट राखेको छ । टिकट एन्फाले सातदोबाटोबाट बिक्रि गरिरहेको छ ।