शिशिर योगीका चर्चित १०१ गीतहरूको संग्रह बजारमा

15126234_10209602704097865_1280790380_o-e1479269908993काठमाडौं, १ मंसिर – गम्भीर र कालजयी गीतहरूका गायक शिशिर योगीका चर्चित गीतहरूलाई सुन्न अब न युट्युबमा खोज्नुपर्छ न त सिडी वा त्यसलाई बजाउने यन्त्र नै जोहो गर्नुपर्छ । योगीले आफूले गाएका करीब ५ सय गीतहरूबाट छानेर १ सय १ गीतलाई पेनड्राइभ मार्फत बजारमा ल्याएका छन् ।

आफ्ना श्रोताहरूको आग्रहलाई स्वीकार्दै यसो गरिएको उनले बताए । गायक तथा संगीतकार योगीले भने, ‘युट्युबमा खोज्न इन्टरनेटको पहुँच नभएका आफ्ना श्रोताहरूको आग्रहलाई नकार्न नसकेर मैले यो कदम चालेको हुँ ।’

उनका बहुचर्चित ‘सारंगी त रेटे पनि’, ‘मान्छेको खोजी’, ‘चौतारीमा बरै ढलेछ’ जस्ता गीतहरू यस पेनड्राइभमा अटाएका छन् । विभिन्न संगीतकार तथा रचनाकारका गीतहरुलाई एकमुष्ट संग्रह गरिएको यो गीतिसंग्रहको नाम जुरेको छ – माधुर्य संगीत भाग १ ।

यसको बजार प्रवर्द्धन उनको आफ्नै रहेको छ भने यसको बजार मूल्य रु २५ सय र नेपाल बाहिर ५० अमेरिकी डलर रहेको छ ।

पेनड्राइभको मूल्य अलि बढी नै भएपनि आफ्नो संगीतलाई माया गर्ने श्रोताले यसलाई स्वीकार्ने उनले अपेक्षा राखेका छन् ।

गीतिसंग्रहमा समावेश गरिएका सबै गीतको शब्दलाई उनले पेनड्राइभसँगै पुस्तिकामा प्रकाशन समेत गरेका छन् । गीत सुन्दै पुस्तिका हेर्दै गुन्गुनाउन सजिलो हुने विश्वास लिएको योगीले बताए ।

वरिष्ठ गीतकार रत्न शमशेर थापा, राष्ट्रकवि माधव घिमिरे, क्षेत्रप्रताप अधिकारी लगायत महाकवि लक्ष्मी प्रसाद देवकोटाका गीतहरूमा उनले आफ्नो सुमधुर स्वर दिएका छन् ।

माधुर्य संगीतमा संगीतकार सुरेश अधिकारी, स्वर सम्राट् नारायण गोपाल लगायत उनको आफ्नै संगीतका गीतहरू समावेश गरिएका छन् ।

योगीका छोरा संयोग योगीको समेत स्वरमा रहेका तीनवटा गीतहरू यसमा संग्रहित छन् । गायक डिबी महेश (पाल्पाली) को सम्मानमा उनले गाएको ‘हे आमा नेपाल तिमीलाई संसारकी राम्री बनाउँला’ गीतमा उनका छोरा संयोगले स्वर दिएका छन् । सानै उमेरमा गीत गाएर उनका छोरा संयोग पनि चर्चामा छन् ।

गायक शिशिर योगी नेपाली सुगम संगीतमा २०४७ सालदेखि निरन्तर लागिपरेको गायकको नाम हो । शब्द र संगीतको मर्मलाई नमर्नेगरी स्वर दिने गायकको परिचय बनाएका योगी संगीतज्ञ अम्बर गुरुङका कान्छो पुस्ताका सफल चेला हुन् ।

उनले हालसम्म ६ वटा एल्बम बजारमा ल्याइसकेका छन् । संगीतलाई साहित्यसँग समानान्तर लान सकेमात्र संगीत स्तरीय बन्ने उनको ठम्याई छ ।

 

उनी भन्छन्, ‘म जस्तो पायो त्यस्तै गीत गाउने भए काठमाडौंमा घरजग्गा त जोड्थें हुँला तर मलाई श्रोताहरूले यति धेरै माया गर्नुहुन्नथ्यो ।’

योगीका प्रायः गीतमा देश दुखेका पीडा सुन्न पाइन्छ । शब्दलाई हृदयदेखि गाउन जान्ने गायक योगी शान्त र सरल स्वभावका छन् ।

काठमाडौंका विद्यालयमा संगीत शिक्षकका रूपमा पनि रहेका उनी देश विदेशका कार्यक्रममा व्यस्त छन् ।

लाखौं लगानी गरेर आफूले गाएका गीतहरू किनेर सुनिदिन समेत उनी आग्रह गर्छन् ।

‘किनेर गीत सुन्नु भनेको स्रष्टालाई सम्मान गर्नु हो,’ उनी भन्छन् । यो संग्रह बजारमा सहज उपलब्ध नहुने पनि उनले जानकारी गराए ।

उनका गीतलाई नजिकबाट चिन्ने र माया गर्ने श्रोताहरूलाई लक्षित गरेर यो संग्रह तयार भएको पनि उनले जानकारी गराए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’