पिडामा झन पिडा थपियो, भूकम्प पिडीतले पाएको अनुदानको रकम आगोमा

डढेको पैसाको पोको बोकेर ७४ वर्षीय भीमबहादुर कार्की सदरमुकाम चरिकोटमा भौंतारिरहेका छन् । भूकम्पपीडित भएबापत घर बनाउन आएको अनुदान रकम आगलागीमा परेर डढेपछि उनी हतास मनस्थितीमा सदरमुकाम पुगेका हुन् ।
डढेको पैसा सटहीका लागि साहारा खोज्दै आएका उनले सबै बैंक चहारिसके। तर कुनैपनि बैंकले ती नोट साट्न नमानेको गुनासो गरे । ‘घर बनाउन भनेर ज्यामी काम गरेर जोगाएको ६७ हजार र सरकारले दिएको ५० हजार स्वाहा भयो,’ उनले भने । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको छ ।
लापिलाङ ९ का भीमबहादुरको कात्तिक १९ गते दिउँसो कटेरो जल्दा पैसा र अन्य सम्पत्ति जलेको हो । उनले कटेरोमा रहेको ट्याङभित्र ज्याकेटको खल्तीमा ६७ हजार राखेका थिए । सरकारले घर बनाउन दिएको ५० हजार बैंकबाट झिकेर ट्याङभित्रै ज्वारिकोटको गोजीमा हालेका थिए । पैसा र भएको सम्पत्ति सबै स्वाहा भएपछि हारगुहार गर्दा जिल्ला प्रशासन कार्यालयबाट पाँच हजार र कागजको निस्सा पाए । रेडक्रसले पाल दियो । तर, उनले डढेको पैसा सटही र क्षतीपूर्तिको उचित सुविधा भने अझै नपाएको बताए ।
पत्नी र छोराछोरी वियोगको घटनाले विछिप्त भीमबहादुरले ६७ हजार रुपैयाँ घर बनाउँन भनेरै जोहो गरेका थिए । भूकम्प गएपछि घर बनाउन दिनरात अर्काको घरमा ज्यामी गर्थे र खाइनखाइ पैसा जम्मा पार्थे । आउने सामाजिक सुरक्षा भत्ता पनि भोक मारेर जोगाएको बताए । ‘भोक र तिर्खा सहेर बचाँएको पैसा सबै गयो हजुर,’ उनले भने ।
भीमबहादुरका अनुसार आगोले पग्लने ज्याकेट भएकाले ६७ हजार रुपैयाँको खरानी पनि पाइएन् । कपडाको ज्वारिकोटमा राखिएकाले ५० हजार रुपैयाँको चाहीँ केही निस्सा देखिन्छ । छिमेकीले नोटको एकापट्टि कागज टाँसेर बनाइदिएका पैसा सटहीका लागि उनले चिनजानका मानिस पठाए तर नसाटिएपछि आफै चरिकोट धाएका हुन् ।
आजभन्दा ३४ बर्षअघि श्रीमती गुमाएका भीमबहादुरले त्यसपछि नौ र छ बर्षिया छोरी र दुई बर्षिय छोरा गुमाउनु पर्‍यो । उनको भनाई मा दुई छोरी दादुराले मरे । आमा र छोरा भने दिसा पिसाबबाट रगत जाने व्यथाले गए । ‘उपचार गर्दा केही लागेन,’ उनले पुरानो दुर्दशा दर्शाउदा आखाँबाट आशु झर्न लागेको देखिन्थ्यो ।
‘भाग्यले कान्छी छोरी र जेठो छोरो बाच्यो तर अहिले आफ्नो साथमा छैनन,’ भीमबहादुर भन्छन, ‘छोरीको विहे भयो । छोरासँग भने चित्त नबुझेर एक्लै बस्छु ।’ भिन्न भएपछि पहाडको छ रोपनी बारी र तीन पाथी विऊ जाने खेत उनको नाममा परेको छ । त्यसैबाट गुजारा गर्ने उनी फुर्सदका बेला घर बनाउने काममा खट्छन् ।
आगोले सबै सम्पत्ति नष्ट भएपछि बुढ्यौलीमा भूकम्पप्रतिरोधी घर बनाउने उनको चाहना पुरा हुने छाट छैन । अब उनलाई डढेको पैसा साटिएला की नसाटिएला भन्ने चिन्ता छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा