सुविधाको खोजिमा गाउँ रित्तिदै, गाउँमा बुढापाका मात्र
सुुबास लामिछाने., पर्वत
पर्वतमा बसाई सराई जानेहरुको संख्या बढ्दै गएपछि गाउँहरु रित्तिन थालेका छन् । न्यूनतम आवश्यकता र सुविधा खोज्दै बसाइ सरि जानेहरु र विदेश पलायन हुनेको संख्या बढेपछि गाउँहरु रित्तिएका हुन् ।
सदरमुकामदेखि दुई घण्टाको पैदलमा सजिलै पुग्न सकिने जिल्लाको ठूलीपोखरी ५ अर्जिकोट गाउँ पनि अहिले बसाइ सरि जानेहरुको कारण लगभग शुनसान छ ।
२०७० सालसम्म ठूलीपोखरी ५ अर्जिकोटमा ५० घरपरिबारमा करिब ५ सय जनाको बसोबास थियो । तर अहिले त्यही गाउँमा मुस्किलले ५० जनामा सीमित भएको छ । सोहि गाउँका चिरञ्जीबी लामिछाने बिगत ५ बर्ष अघि कामको खोजिमा तराई तिर पसे । शहरबजारमा मानिसहरुको आउजाउ बढी हुने, सहजै काम पाइने र केटाकेटीलाई पढाउन सजिलो भएपछि केहि वर्ष उनी उतै बसे । न्यूनतम आवश्यकता र सुविधा खोज्दा–खोज्दै उनको बसाई अहिले उतै भएको छ । नजिकैका अर्जून लामिछाने पनि आफ्नो बस्दै आएको घर र जग्गा सबै बेचेर नवलपरासी बसाईं सरेको करिव १० वर्ष भयो । सोहि गाउँमा खाली रहेका अधिकांश घरहरु हिजोआज बाहिरबाट गाउँ आएका पाहुना सुताउन प्रयोग हुँदै आएका छन् । याी दुई परिवार त उदारण मात्र हो । एक दशकयता ठुलिपोखरी गाबिसकै धेरै वडाका परिवार गाउँबाट बसाईं सरिसकेका छन् । कामको शिलशिलामा गाउँ बाहिरिनेहरु कहिल्यै फर्किएर नआउने बरु परिवार र आफन्तलाई समेत आफु बसेकै ठाउँमा लैजाने गरेका छन् । युवा बिदेशिएपछि तिनका श्रीमती बालबच्चा बोकेर शहर झर्ने र परिवारै गाउँ नफर्किने संस्कारै बसिसकेको स्थानीय बृद्धबृदाहरु बताउँछन् ।
मुख्यगरि शिक्षा, स्वास्थ्य र रोजगारको खोजिमा बाध्यताले गाउँ छोड्नेहरु अधिक रहेको सोहि गाबिसमा अध्यापन गराउने शिक्षक बलबहादुर केसि बताउँछन् । स्थानीयले गाउँ छोड्दै गएपछि आसपासको खेतबारी सबै बाँझै छ । गाउँमा बस्नेहरुमा निर्वाहमुखी खेतीको विकल्प नहुने, अति बिपन्न परिवार र केहि बूढाबुढी मात्रै छन् । सदरमुकामबाट २ घण्टामै पुगिने भएपनि विकासका सम्भावनाहरु शुरु नभएका भने होइनन् । बर्खाको केहि महिना मात्रै सवारी नगुड्ने भए पनि धुले र कच्चि सडकले गाउँका मुख्य बस्तीहरु छोएका छन् । तर पनि सुख र सुविधाको खोजीमा गाउँमा बस्ने भन्दा गाउँ छोड्नेहरुको संख्या बढेपछि यहाँका गाउँनै शुन्य भएको छ ।