अल्लोले धानेको पर्वतको उद्यम
पर्वत/ वुझ्नेलाई श्रृखण्ड नबुझ्नेलाई खुर्पाको बिड भनेझै कुनै समय बनपाखामा कुहिएर जाने चाल्नेसिस्नो नामक अल्लो बनस्पती अहिले आम्दानीको गतिलो श्रोत बनेको छ ।
उत्तरी पर्वतका विभिन्न सामुदायिक बनमा पाईने अल्लो प्रशोधन गरेर कपडा उत्पादन हुन थालेपछि नेपालका अधिकांस जिल्लाका साथै विदेशी बजारमा जान थालेको छ । जापान र कोरिया तथा बेलायत लगायतका देशहरुमा निर्यात हुन थालेपछि अहिले यसको मुल्य समेत उल्लेख्य मात्रामा बढेको छ । झण्डै डेढ दशक पहिले सम्म वनपाखामा कुहिएर जाने अल्लोबाट बुनेका कपडा अहिले बहुमुल्य बनेका हु्न् । बार्षिक रुपमा लाखौ मुल्यको कपडा जापान, कोरिया र बेलायत पुग्ने गरेको छ ।
उत्तरी पर्वतका लेखफाँट, शालिजा, क्याङ, भुकताङ्ले, चित्रे आर्थर र भोक्सिङ्ग गाविसमा अल्लोको प्रसस्त उत्पादन हुँदै आएको छ । यद्यपि अहिलेसम्म शालिजा र क्याङ गाविसमा उत्पादित अल्लो मात्र प्रशोधन हुँदै आएको छ । ती दुई गाविसका महिलाहरुले ब्यबसायिक रुपमा अल्लो प्रशोधन गरी कपडा बुन्न थालेपछि उत्पादित कपडा युरोप र अमेरिकामा समेत लोकप्रिय बन्दै गएको छ । हम्पालको जंगलमा प्रशस्त मात्रामा पाइने अल्लो प्रशोधन गरेर पर्वतमा व्यावसायीक रुपमा अल्लोको कपडा उत्पादन गरिदै आएको छ ।
बिभिन्न संस्थाको पहलमा स्थानीय महिलाहरुलाई अल्लो प्रशोधन सम्वन्धी तालिम दिएपछि व्यावसायीक रुपमा यसको उत्पादन हुन थालेको हो । पछिल्लो समयमा जिल्ला भित्रिने आन्तरीक तथा बाह्य पर्यटकका लागि मुख्य उपहार समेत अल्लोका कपडा बनेका छन् । उत्पादीत कपडा धेरै मात्रामा बिदेशमा नै खपत हुने गरेको उद्यमीहरु बताउँछन । बिक्रीका लागि पर्वतको सदरमुकाम कुस्मा र पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा बिक्री केन्द्र संचालन गरेर विक्रिबितरण गरिदै आएको छ । कपडाबाट केही तयारी बस्तुहरु समेत बनाउने गरेका छन् । टोपी, सुट, इष्टकोट, झोला, पर्स जस्ता सामाग्रीहरु अहिले जिल्ला भित्रिनेहरुका लागि मुख्य उपहारका सामाग्री बनेका छन् ।
अल्लोबाट कपडा उत्पादनका लागि जिल्ला बिकास समिति, लघु उद्यमी संघ, सेवा नेपाल जस्ता विभिन्न संस्थाको सहयोगमा शालिजा, धाईरिङ्ग, पातीचौरमा सामुदायिक अल्लो प्रशोधन केन्द्र समेत संचालनमा रहेका छन् । सोही केन्द्र मार्फत महिलाहरुलाई व्यावसायीक रुपमा अगाडि बढाइएको छ ।
बिक्रि केन्द्र मार्फत काठमाण्डौमा समेत पठाउने गरिएको उद्यमी घममाया पुर्जाले जानाकारी दिईन् । अल्लो एक प्रकारको सिस्नो हो । यसको धागोबाट बुनेका कपडा स्वदेश र बिदेशमा पनि लोकप्रिय हुन थालेपछि धेरैले रोजगारी पाएको उनले बताईन् । अहिले जिल्लाभरमा ६० जना महिलाहरु अल्लो उद्यममा क्रियाशिल रहेका छन् । जंगलवाट अल्लो ल्याउने र प्रशोधन गर्नुका साथै त्यसवाट कपडा र अन्य तयारी बस्तु बनाउनका लागि उनिहरु क्रियाशिल रहेको अल्लो उद्यमी जसमाया पुनले बताईन ।
पर्वतमा बार्षिक १ हजार पाँच सय मिटर अल्लोको कपठा उत्पादन हुँदै आएको छ । अहिले प्रतिमिटर कपडालाई ६ सय रुपैया सम्म विक्रि हुँदै आएको सदरमुकाम कुश्मामा रहेको सौगात गृहकी संचालन समेत रहेकी उद्यमी जसमाया पुनले बताईन । थान कपडाको मुल्य सस्तो भएपनि यसवाट निर्मित कोट, स्टकोट, झोला, मनिपर्स लगायतका बस्तुहरुको मुल्य भने अन्य कपडा भन्दा दोब्बर÷तेब्बरसम्म पनि रहेको छ ।
व्यावसायीक रुपमा लागेका महिलाहरुले मासिक १० हजार रुपैया सम्म आम्दानी हुने गरेको बताउँछन् । वनमा कुहिएर जाने र गाई भैसीलाई दाम्लो अनि भारी बोक्न नाम्लो बनाउन मात्रै प्रयोगमा आएको अल्लोबाट उपभोग्य र गुणस्तरीय कपडा उत्पादन हुने भएपछि महिलाहरु आत्मनिर्भर बनेका छन् । अहिले उद्यमी महिलाहरु पनि आर्थिक रुपमा आत्मनिर्भर बन्दै गएका छन् ।
एक दशकसम्म ज्याला मजदुरी गरेर घरखर्च चलाउँदै आएका महिलाहरुले अहिले घरमै बसेर राम्रो रोजगारी पाएको पुनले बताईन् । स्वदेश र बिदेशमा समेत यसको माग अत्याधिक रहेकाले माग पु¥याउन समेत धौ धौ परिरहेको छ । यहाँका महिलाहरुलाई तालिमका लागि बोलाउने भएकाले बाजुरा, जुम्लामा समेत पुगेर सिप तालिम दिने गरेको उद्यमी पद्मा पुनले बताईन् ।
केही समय अघिसम्म हातले बुन्ने गरेपनि अहिले भने आधुनिक मेशीन समेत आइसकेको छ । कपडा गुणस्तरीय बनाउन सक्नुपर्छ, बजारको खाँचो नहुने उद्यमी घममाया पुर्जाको भनाई छ ।
अल्लो प्रशोधनका लागि जिल्ला स्थित जिल्ला बन कार्यालय र घरेलु तथा साना उद्योग विकास समिति र जिल्ला विकास समिति पर्वतले पनि सहयोग गर्दे आएका छन् । महिलाहरुले वर्षायाम सकिएपछि मंसिरदेखि माघ महिना सम्म बनबाट अल्लो काटेर ल्याउने गर्दछन् र त्यसलाई पकाउन, सुकाउने र धागो बनाइसकेपछि तयारी कपडा बनाउनका लागि उद्योगमा पु¥याउने गर्दछन् ।
जिल्ला लघु उद्यमी संघ पर्वतका अनुसार पर्याप्त लगानी र जनशक्तिको अभावमा जिल्लामा पाईन अल्लो प्रशोधन हुन सकिरहेको छैन । जिल्लाका ७ वटा गाविसमा प्रसस्त मात्रामा पाईने अल्लो पुर्ण रुपमा प्रशोधन गर्न सकेमा जिल्लाको प्रमुख आम्दानीको श्रोत बन्न सक्ने जिल्ला संघकी कार्यक्रम संयोजक सिता शर्माले बताईन । उनले अहिलेपनि अल्लो उद्यमीहरुलाई संस्थाले सहयोग गर्दै आएको जानकारी दिईन ।
अहिलेपनि आधुनिक मेशिन नहुँदा र तानमार्फत बुन्नुपर्ने समस्याका कारण पनि यसवाट उत्पादन कम भएको देखिएको छ । आधुनिक मेशिनहरु उपलव्ध हुन सक्यो भने दैनिक सयौ मिटर अल्लोका कपडा बुन्न सकिने उद्यमी जसमाया पुनले बताईन । जिल्ला वन कार्यालय पर्वतका निमित्त प्रमुख हरिशचन्द्र सापकोटाका अनुसार झण्डै एक दशक अघि एन्साव नामक संस्थाले जिल्लाको अल्लो सम्वन्धि अध्ययन गरेको र उक्त अध्ययन अनुसार जिल्लामा अल्लोको प्रवद्र्धन हुन सकेमा ठुलो फाईदा लिन सकिने बताए । जिल्ला वन कार्यालयले पनि जिल्लामा विभिन्न क्षेत्रमा पाईने अल्लोको प्रशोधन र निकासीका लागि सहयोग गर्दै आएको जानकारी दिए ।
पछिल्लो समय पर्वत उद्योग बाणिज्य संघले पनि अल्लोको उद्योग स्थापनाका लागि पहल थालेको छ । केहि दिन पछि जिल्लामा आएको उद्योग मन्त्री नविन्द्रराज जोशीसँग पर्वतमा अल्लोको उत्पादन प्रसस्त मात्रामा पाईने भएकाले जिल्लामै अल्लोको उद्योग स्थापना गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन माग गरेको थियो । पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले पर्वतमा अल्लो र लप्सी उद्योग स्थापना गर्न मन्त्रीसँग माग गरेको र मन्त्रीले सम्भाव्यता अध्ययन गरेर बिस्तृत विवरण पेश गर्न भनेको लामिछानेले जानकारी दिए ।