सहमतिमा संबिधान संशोधन बिधेयक आउने संभावना कम

सहमतिमा संविधान संशोधन विधेयक आउने सम्भावना क्षीण बन्दै गएको छ। सरकारले कात्तिक मसान्तभित्र सहमतिमा संविधान संशोधन विधेयक दर्ता गर्ने बताउँदै आए पनि प्रमुख तीन दलबीच कुरो मिल्न सकेको छैन । सहमति जुटाउन शनिबारका लागि बोलाइएको तीन दलको बैठकसमेत बस्न सकेन ।प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार संशोधन प्रस्ताव तयार भएको जानकारी दिँदै सहमतिमै कात्तिक मसान्तभित्र संसद्मा दर्ता हुने बताएका थिए ।

तीन दलको बैठक बस्न नसके पनि प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।अब तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठक आज (सोमबार) बोलाउने तयारी छ । तर, प्रमुख प्रतिपक्षी एमालेले भने संविधान संशोधन विधेयकमा सहमति गर्ने सम्भावना देखिएको छैन ।
यो समाचार आजको राजधानी दैनिकले छापेको छ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अहिलेसम्मको अवस्थाको अध्ययन गर्दा संविधान संशोधन प्रस्तावमा सहमतिको सम्भावना नदेखेको बताए । ‘अध्यक्षसँग कुनै कुरो भएको भए मलाई थाहा भएन नत्र यसमा सहमति भएको मलाई थाहा छैन,’ नेम्वाङले भने ।

प्रधानमन्त्री दाहालले कांग्रेस, एमालेसँग सहमति गरेर संविधान संशोधन विधेयक ल्याउन निकै प्रयास गरेका छन् । सोमबारको बैठकमा सहमति हुने संकेत नदेखिए एकलौटी रूपमै संशोधन दर्ता गराउने सरकारको तयारी छ । संशोधनका विषयमा आइतबारको मन्त्रिपरिषद् बैठकमा समेत छलफल भएको थियो । कांग्रेस र माओवादीकै केही मन्त्रीले सहमतिको कुरालाई फेरि जोड दि“दै एक दिन कुरौं भनेपछि मन्त्रिपरिषद्ले संशोधन प्रस्तावमा निर्णय नगरेको हो । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्की (राम कार्की) ले मन्त्रिपरिद्षमा संविधान संशोधन विधेयकबारे छलफल भएको तर अधिक सहमति गरेर विधेयक लगे राम्रो हुने सुझाव आएकाले रोकिएको बताए ।

मन्त्रिपरिषद्बाट स्वीकृत गराई संविधान संशोधन विधेयक आइतबार नै कानुन मन्त्रालयमा पठाउने प्रधानमन्त्री दाहालको तयारी थियो । मन्त्रिपरिषद्ले संविधान संशोधन विधेयकलाई स्वीकृत गरेपछि त्यसलाई कानुन मन्त्रालयमा पठाउनुपर्दछ । कानुन मन्त्रालयले मस्यौदालाई अन्तिम रूप दिएपछि त्यसलाई संसद्मा दर्ता गरिन्छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले एकपटक तीन दलको बैठक बसेपछि मात्रै संशोधन विधेयक कसरी र कहिले दर्ता गर्ने निर्णय हुने बताए ।

शनिबार बोलाइएको तीन दलको बैठक कांग्रेस सभापति शेरबहादुर देउवा तरुण दलको कार्यक्रममा पोखरा जाने भएका कारण बस्न नसकेको उनले राजधानीलाई जानकारी दिए । सकभर सहमतिमै विधेयक लैजाऔं भनेर सोमबार तीन दलको बैठक बोलाइएको र सहमति नभए सरकारले एकलौटी रूपमा संविधान संशोधन विधेयक दर्ता गर्ने उनले बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना