एमाले अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधब नेपालको पुर्नमिलन , दुबै नेता संगसंगै कार्यक्रममा
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पार्टीले सुरु गरेको चारमहिने देशव्यापी राष्ट्रिय जागरण अभियानमा सँगसँगै देखिएका छन् ।
आगामी तीनवटै निर्वाचनमा एमालेलाई बहुमतसहितको पहिलो शक्ति बनाउने उद्घोषसहित सुरु भएको राष्ट्रिय अभियानमा दुवै नेता सँगसँगै देखिएका हुन् । अभियानमा सरिक हुने सिलसिलामा प्रदेश नम्बर ७ को धनगढीमा मंगलबार आयोजित प्रदेश भेलामा दुवै नेता बुद्ध एयरको जहाजबाट त्यहाँ पुगेका हुन् । विमानको एउटै सिटमा १ घण्टा २८ मिनेट यात्रा गरेर उनीहरू धनगडी पुग्दा त्यहाँ उपस्थित हजारौँ नेता–कार्यकर्ता उत्साहित भएका थिए ।
यात्राका क्रममा पनि उनीहरूले अनौपचारिक भलाकुसारी गरेका थिए । ‘यात्रामा उहाँहरूले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमदेखि आगामी निर्वाचनसम्मका विषयमा अनौपचारिक भलाकुसरी र छलफल गर्नुभयो,’ ‘विमानमा सँगै यात्रा गरेका अनेरास्ववियुका सचिवालय सदस्य गोविन्द गिरीले भने, ‘उहाँहरू विमानस्थलमा पनि करिब ४५ मिनेट बस्नुभयो, त्यतिबेला पनि उहाँहरूले सँगै पत्रिका पढ्ने, तस्बिर खिचाउने गर्नुभयो ।’
११ बजेको बुद्ध एयरबाट धनगढी विमानस्थलमा पुग्दा दुवै नेतालाई प्रदेश नम्बर–७ का संयोजक एवं पार्टी उपाध्यक्ष भीमबहादुर रावलसहितका नेताहरूले भव्य स्वागत गरेका थिए । प्रदेश र जिल्लास्तरीय भेलापछि एमालेले प्रत्येक निर्वाचन क्षेत्रका साथै देशका सबैजसो सहरहरूमा दसौंं हजार सहभागी विशाल प्रकृतिको आम सभा गर्ने यसअघि नै घोषणा गरेको छ ।
गत असोज पहिलो साता सम्पन्न सातौं केन्द्रीय कमिटी बैठकबाट पार्टीको आन्तरिक गुटबन्दी समाप्त पारेर वलियो एकता स्थापित गर्न ६ बुँदे संकल्प प्रस्ताव पारित गरेको थियो । त्यसलगत्तै सम्पन्न एमालेका जिल्ला अधिवेशनहरूमा कतिपय सर्बसम्मत र कतिपय प्यानलरहित स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चुनिएको छ ।
ओलीलाई छाडिदिए नेपालले सिट
सँगै यात्रा गर्ने क्रममा अध्यक्ष ओलीले आफू झ्यालतिर बस्ने भन्दै आग्रह गरेपछि वरिष्ठ नेता नेपालले दायाँतिरको सिट छाडेर बायाँतर्फ बसेका थिए । त्यसक्रममा ओलीले नेपाललाई ‘गाइड’ले पयर्टकलाई बताएजसरी हिमाली दृश्यबारे जानकारी गराएका थिए । सुर्खेतको काँक्रेबिहार, कर्णालीलगायतका बारेमा पनि ओलीले व्याख्या गरेका थिए । ओलीको ‘गाइडिङ’बाट मक्ख परेका नेपालले पनि नवनेपाल निर्माणमा देशको प्राकृतिक स्रोत–साधनको प्रचुर उपयोगका लागि पार्टीका तर्फबाट छुट्टै विशेष नीति बनाएर जानुपर्ने भनाइ राखेका थिए । तस्बिरः गोविन्द गिरी ।