स्थानिय निकायले नहेरेपछि अग्लापुलमा जाने बाटो मर्मत थाले ब्याबसायीले
पर्वत/ बिश्वकै आकर्षक र हेर्न लायक पुलका सुचीमा परेका पर्वतको कुस्मा स्थित मुलुककै अग्ला झोलुङ्गे पुलमा पुग्ने सडक अवस्था नाजुक बनेपछि स्थानिय ब्याबसायीले मर्मत गर्न थालेका छन ।
कुस्माबजारका ट्याक्सी ब्याबसायीहरुले कुस्माबजारको बड्गाउँ सशस्त्र प्रहरी गणको गेट देखि दुई वटा अग्लापुल रहेको बड्गाउँ सम्मको सडक मर्मत गर्न थालेका हुन ।
पुलमा दैनिक रुपमा हजारौ पर्यटक आउने तर बाटोको अवस्थाका कारण समस्या भोग्न थालेपछि मर्मत थालिएको धौलागिरी टयाक्सी तथा जीप यातयात ब्यबसायी प्रालिका सचिब दयाराम शर्माले बताए । प्रालिमा आबद्ध ब्याबसायीहरुले बाटोको सामान्य मर्मत गरि यात्रा सहज बनाउन खोजेको उनले जानकारी दिए ।
मुस्ताङ्ग जाने धौलागिरी अञ्चलको प्रबेशद्वारको रुपमा रहेको कुस्माबजारमा रहेका अग्लापुलहरु पर्यटकहरु मुस्ताङ्ग जाँदा र फर्कदा अवलोकन गर्न थालेका छन । मुस्ताङ्ग जाने र फर्कने पर्यटकहरुले एक पटक अग्लो पुल हेर्नका लागि आउने गरेका छन । यसले गर्दा आन्तरिक पर्यटकको राम्रो बिकास भएको छ । बड्गाउँ देखि बड्गाउँ– कैया पुल सम्मको बाटो कालोपत्रे गर्ने र पुल नजिक पार्किङ्गको राम्रो ब्यबस्था नहुँदा पर्यटककले समस्या झेल्दै आएका छन । यसलाई कुस्मा नगरपालिका र पर्यटन संग सम्बन्धित पक्षले छिटो ध्यान दिन आवश्यक भएको प्रालिका अध्यक्ष बिष्णु पुरीले बताए ।
अग्ला झोलुङ्गे पुलको शहर बन्दै गएको कुस्मामा बागलुङ्गको बलेवा क्षेत्र जोड्नलाई बनेको मुलुककै सबैभन्दा अग्लो कुस्मा–कैया झोलुङ्गे पुल बनेको छ। कुस्मा –कैया झोलुङ्गे पुल १ सय ५९ मिटर अग्लो र ३ सय ४७ मिटर लामो छ । कुस्माबाटै सबैभन्दा पहिले ३ सय ४४ मिटर लामो र १ सय ३५ मिटर अग्लो कुस्मा –ज्ञादी झोलुङ्गे पुल समेत निर्माण भएको छ। यो पुलमा पनि दैनिक हजारौ आन्तरिक पर्यटक आउँछन । पुल वरपर पार्क समेत बनाइएकोले पर्यटकलाई सुबिधा पुगेको छ ।
पर्वतको सदरमुकाम कुस्मालाई जिल्लाको फलेबास क्षेत्र संग जोड्न मोदीखोलामा निर्माण भैरहेको १ सय ५५ दशमलब ७० मिटर अग्लो झोलुङ्गेपुल सम्पन्न हुने अवस्थामा पुगेको छ । कुस्माको बड्गाउँबाट मुडिकुवा जोड्ने यो झोलुङ्गे पुल मुलुककै सबैभन्दा अग्लो कालीगण्डकी नदीमा बनेको बड्गाउँ कैया झोलुङ्गे पुल भन्दा मात्रै ३० सेन्टिमीटर होचो छ । यो पुल अहिले सम्म निर्माण भएका पुल मध्ये सबैभन्दा लामो हुने बताइएको छ। यो पुल ३ सय ५९ मिटर लामो हुने बताइएको छ। अग्लापुल हेर्न आउनेहरु यो पुल निर्माणको चरणमा भएपनि यहाँ पुग्ने गरेका छन । तीन वटा पुल पाँच मिनेटको दुरीमा भएकाले धेरै आन्तरिक पर्यटक आउने संभावना छ ।