नेपालले अमेरिकी राजदूत टेप्लिजलाई भने– ‘मधेसी दलले उठाएका मुद्दा उचित छैनन्’
कात्तिक । नेकपा (एमाले) का बैदेशिक मामिला विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री माधकुमार नेपालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइना टेप्लिजले शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा राजदूत टेप्लिजले नेपालको विकास र प्रगतिमा आफ्नो मुलुक साझेदार रहेको चर्चा गदै नेपालको आर्थिक विकास, राजनीतिक स्थिरता र सुशासनका लागि सदैव सहकार्य गर्ने उल्लेख गरेको एमाले प्रचार विभाग सचिव विष्णु रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘नेपालमा नयाँ संविधान बनेपछि राजनीतिक स्थिरता हासिल गर्नेतर्फ भएका उपलब्धिको प्रशंसा गर्दै राजदूत टेप्लिजले यस दिशामा सबै राजनीतिक दलहरु एक ठाउँमा आउने विश्वास व्यक्त गर्नुभयो,’ विज्ञप्तिमा भनिएको छ, ‘पूर्वप्रधानमन्त्री नेपालले अमेरिकाका तर्फबाट नेपाललाई हुँदै आएको सहयोगका लागि धन्यवाद दिँदै नयाँ संविधान बनेपछि सिर्जित स्थायित्वको परिवेशमा थप सहयोग र लगानीलाई आफ्नो मुलुकले स्वागत गर्ने बताउनुभयो ।’ संविधान संशोधनका बारेमा राजदूत टेप्लिजले राखेको जिज्ञासामा बरिष्ठ नेता नेपालले मधेसी दलहरुको माग अनुसार यसअघि संविधानका दुई धारामा संशोधन भइसकेको उल्लेख गरेका थिए । नेपालले यति छोटो अवधिमा विनाकारण छिटो–छिटो संविधान संशोधन गर्ने अभ्यास कतै नरहेको र संविधान संशोधनका लागि उठाइएका मुद्दाहरु उचित नरहेको कारण त्यसमा सहमति हुन नसक्ने स्पष्ट पारेका थिए