लोकमानलाई महाभियोग लागेपछि नेताहरु माथि छानबिन गर्ने कामबाट अख्तियार पछि हट्यो,
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न राजनीतिक दलका नेताहरुमाथि छानबीन नगरेको स्पष्ट पारेको छ ।
अख्तियारले सोमबार एक विज्ञप्ती जारी गरेर सञ्चारमाध्यममा आएका सामग्रीहरुमा सत्यता नरहेको दाबीसहित भनेको छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न व्यक्तिहरुलाई कारबाहीको दायरमा ल्याएको भन्दै सार्वजनिक पद धारण गरेका केहि व्यक्तिलाई लक्षित गरी काल्पनिक सूचि सहित कतिपय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा प्रकाशित सामग्रीप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’
अख्तियार प्रमुख लोकमान सिंह कार्कीले राजनीतिक दलका नेताहरुमाथि छानबीन अघि बढाउन खोजेको र त्यहि बुझेर संसदमा महाभियोग प्रस्ताव लगिएको भन्नेसम्मको समाचारहरु आइरहेको सन्दर्भमा अख्तियारले यस्तो बताएको हो ।
अख्तियारको विज्ञप्तीमा आयोगद्वारा सम्पादन हुने छानबिन अनुसन्धान तथा अभियोजन लगायतका गतिविधिबारे सार्वजनिक गर्नुपर्ने विषय प्रवक्ताद्वारामात्रै हुने पनि उल्लेख गरिएको छ ।
यस्तै सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचारजन्य कसुर गरे कसूरमाथि छानबीन गर्ने अधिकार आयोगमा निहित हुने र अनुसन्धानबारे सम्पूर्ण कार्य गोप्य रहने समेत आयोगले बताएकाे छ ।
अख्तियारले भनेको छ, ‘आयोग सूत्रको हवला दिँदै केहि दिनयता कतिपय सञ्चारमाध्यम तथा फेसबुकलगायतका सामाजिक सञ्जालमा प्रकाशित सामग्री तथा काल्पनिक सूचिलाई लिएर भ्रममा नपर्न सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ ।’
विज्ञप्तीले उठाएका प्रश्न
अख्तियारले अनुसन्धान गोप्य हुने भनेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा रहेको बेला एकाएक पत्रकार सम्मेलन गरेर लडाकू शिविरको भ्रष्टाचार प्रकरणमा छानबीन गर्ने बताएको थियो ।
यतिमात्रै नभएर केहि महिनापहिले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विभिन्न राजनीतिक दलका नेताहरुसहित २९ जनामाथि पत्र काटेको सार्वजनिक गरेको थियो ।
लोकमानविरुद्वको महाभियोग प्रस्ताव संसदमा छलफल नै रहेको अवस्थामा अहिले अख्तियारको कार्यबहाक प्रमुख आयुक्त दीप बस्न्यान रहेका छन् ।
एक दिन छलफल भएर रोकिएको कार्की विरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल संसदमा कात्तिक २५ देखि सुरु हुँदैछ ।
ठीक सहि बेला राजनीतिक नेतृत्वलाई बचाउने खालको विज्ञप्ती आउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।