प्रचण्डलाई हचुवा, हलुका र ढटुवा काम नगर्न ईश्वर पोखरेलको चेतावनी
काठमाडौं, १४ कात्तिक । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले हचुवा, हलुका र ढटुवा काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सचेत गराएका छन् ।
भारतीय राष्ट्रपतिको भ्रमणमा सार्वजनिक विदा दिने निर्णयमा आलोचनाबाट बच्न प्रचण्डले दोषारोपण गरिरहेका बेला महासचिव पोखरेलले आफूले गरेको कामको दोष अर्कालाई नदिन चेतावनी दिएका हुन् ।
‘राष्ट्रपतिज्यू सितको परामर्शमा मात्र छिमेकी मुलुकहरूका राष्ट्रपतिहरूको भ्रमणका समयमा विदा दिने सरकारी निर्णय भएको हो भनेर प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक गर्नु भएको थियो । तर यो भनाइ सार्वजनिक भए लगत्तै राष्ट्रपति कार्यालय स्वयम् ले त्यसको खण्डन गरेको कुरा सार्वजनिक भइसकेको छ’ महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्– ‘अब फेरि प्रम पुष्पकमलले नै ‘अरू दलहरू समेतको समर्थनमा सरकारले त्यस्तो निर्णय गरेको हो’ भन्ने कुरा सार्वजनिक गर्नुभएको छ । अरू कुन कुन दलहरूसित वहाँले परामर्श गर्नु भो कुन्नी ? तर नेकपा (एमाले) सित कुनै परामर्श भएको छैन ।’
एमाले यस्तो हचुवा र लज्जास्पद निर्णयका पक्षमा हुन पनि सक्तैन भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालबाट यस किसिमका हचुवा, हलुका र ढटुवा काम कुराहरू किन भइरहेका छन् ? उहाँबाट यस्ता कुरा हुन् नदिन सबैले खवरदारी गर्ने बेला आएको उल्लेख गरेका छन् ।