संघीय गठबन्धनको बैठकमा मधेसी नेताहरुले केपी ओलीको प्रशंसा गरे
काठमाडौं, १२ कात्तिक । संघीय गठबन्धनको बैठकमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा भएको छ ।
विहीबार राजधानीको तीनकुनेमा बसेको संघीय गठबन्धनको केन्द्रीय बैठकले अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्तावबारे कुनै निर्णय नगरेपनि ओली र प्रधानमन्त्री प्रचण्डबीच तुलना गरेको खुल्न आएको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार मधेसी मोर्चामा आवद्ध दलका नेताहरुले केपी ओलीलाई आफूलाई जे लागेको छ, त्यो बोल्ने स्पष्टवादी नेताको रुपमा प्रशंसा गरे । त्यस्तै प्रधानमन्त्री प्रचण्डलाई बोलीमा कुनै ठेगान नभएको र ढाँट्दै हिडेको आरोप लगाए ।
संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले बैठकमा प्रचण्डको बोलीमा कुनै ठेगान नभएको बताउँदै भित्र हुन्छ भन्ने तर, पछाडिबाट छुरा रोप्ने जस्तै प्रवृत्ति देखिएको आरोप लगाए । ‘विरोधी नै भएपनि ओली आफूलाई लागेको कुरा प्रष्ट भन्थे । तर, प्रचण्ड बोली फेर्दै ठाट्दै हिडेका छन्,’ उपेन्द्रको भनाई उद्धृत गर्दै ती नेताले भने ।
अर्का नेता वृषेशचन्द्र लालले पनि छिनछिनमा बोली फेर्ने भन्दै प्रधानमन्त्री प्रचण्डको आलोचना गरे ।
बैठकमा सरकारलाई समर्थन गर्दा भएका सहमतिहरु अहिलेसम्म कार्यान्वयन नभएको भन्दै टठसम्म पर्खिने र त्यसपछि माग सम्बोधन नभए आन्दोलनको विकल्प नरहेको निष्कर्ष निकालिएको छ ।