कुस्माबजारमा प्रशासनले गर्यो बजार अनुगमन
जिल्ला प्रशासन कार्यालय पर्वत सहित विभिन्न उपभोक्ता सँग सरोकारवाला निकायहरुको संयुक्त अनुगमन टोलीले पर्वत सदरमुकाम कुश्मा बजारमा सञ्चालित पसलहरु अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्माको नेतृत्वमा भएको अनुगमन टोलीले कुश्मा बजारमा सञ्चालित विभिन्न खुद्रा तथा होलसेल ९ खाद्य पसलहरु अनुगमन गरेको हो ।
सोमबार सञ्चालित अनुगमनका क्रममा विभिन्न ९ वटा पसलहरु मध्ये सुवेदी स्टोर्स, सतौंँ चण्डिका जनरल स्टोर्स लगायतका पसलबाट अखाद्य बस्तुहरु नियन्त्रणमा लिइएको थियो । यी पसलहरुमा कतिपय सामग्रीहरु समयावधि समाप्त भएका भेटिएका थिए भने कतिपय खाद्य पदार्थमा उत्पादन मिति उल्लेख नभएका भेटिएका थिए । विशेषत नमस्ते दालमोट कम्पनीद्वारा उत्पादित दालमोट,नमकिन लगायतका सामग्रीहरुमा उत्पादन मिति उल्लेख नभएको भेटिएको जिल्ला प्रशासन कार्यालय पर्वतका प्रभात लामिछानेले जानकारी दिनुभयो ।
केही पसलहरुमा होडिङ्ग बोर्ड नभएको, मुल्य सूचि नराखिएको, सरसफाई कम भएको लगायतका कमजोरीहरु भेटिएपछि अनुगमन टोलीले सुझाव समेत दिएको थियो । अनुगमन टोलीले नियन्त्रणमा लिएका सामग्रीहरु सम्बद्ध व्यवसायीकै रोहबरमा नष्ट गरिएको थियो ।
अनुगनममा जिल्ला प्रशासन कार्यालय सहित, नेपाल घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला प्रहरी कार्यालय पर्वत, पर्वत उद्योग बाणिज्य संघ र सञ्चारकर्मी सहितको सहभागिता रहेको थियो । चाडपर्व लगायत जुनसुकै समयमा पनि उपभोक्ताहरुले बजारमा सहज मुल्यमा स्वच्छ खाद्य सामग्री उपभोग गर्न पाउन भन्ने उद्देश्यले अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।