आयोगले स्थानिय निकायको अधिकत र न्युनतम संख्या तोक्यो पर्वतमा अब कम्तीमा ४ र अधिकतम सात वटा स्थानिय निकाय
कार्तिक २० सम्म सिफारिस गर्न निर्देशन
पर्वत, स्थानीय तह पुनर्संरचनासम्वन्धी आयोगले स्थानीय तह पुनर्संरचनाको कार्यविधि तयार पार्दै अधिकतम र न्युनतम संख्या तोकेको छ ।
आयोगले न्यूनतम सीमा ५ सय ७ र अधिकतम सीमा ७ सय ४४ संख्या तोकेको हो । आयोगले केन्द्रमा मात्रै नभई सबै जिल्लालाई पनि न्यूनतम र अधिकतम संख्या तोकिएको छ । आयोगले पर्वतका लागि न्युनतम ४ र अधिकतम ७ वटा स्थानिय निकाय सिफारिस गर्न संख्या तोकेको हो । पर्वत जिल्लामा यस अघि समिति ६ वटा र राजनैतिक दलले ७ वटा स्थानिय निकाय सिफारिस गरेका थिए ।
आयोगले जिल्ला प्राविधिक समितिहरुलाई कात्तिक २० गतेभित्र प्रतिवेदन बुझाउन भनेको छ । सबै जिल्लाबाट तोकिएको समयमा प्रतिवेदन आए मंसिर पहिलो साताभित्र सरकारलाई प्रतिवेदन बुझाउने लक्ष्य रहेको आयोग स्रोतले बताएको छ ।
हेर्नुहोस् अधिकतम र न्युनतम स्थानीय तहको संख्या
पर्वतमा स्थानिय निकायको संख्या ६ वटा बनाउने स्थानिय तह पुर्नसंरचना प्राबिधिक सहयमोग समितिले ६ वटा स्थानिय निकाय बनाउन सिफारिस गरेको थियो भने दलहरुले थप एक गरि ७ स्थानिय निकाय सिफारिस गरेका थिए । सिफारिस गरिएका ७ वटा गाउँ पालिकाको भूगोल भने नमिलेको भन्दै चौतर्फी बिरोध भएको थियो । समितिले नयाँ भूगोल र संरचना सहित ७ वटा स्थानिय निकाय सिफारिस गर्ने भएको छ। चार वटा बनाउँदा क्षेत्र नं १ मा नगरपालिका सहित थप एक गाउँपालिका बन्ने संभावना रहेको छ भने क्षेत्र नं २ मा दुई नगरपालिका बन्ने संभावना रहेको छ। क्षेत्र नं २ को केही भूगोललाई मिलाएर दुबै क्षेत्रमा गाउँपालिका र नगरपालिका बनाउने संभावना पनि रहेको समितिका एक सदस्यले बताए ।
यस्ता थिए सातवटा स्थानिय निकाय
राजनैतिक दलको सहमतिमा सिफारिस गरिएका सात वटा स्थानिय निकाय यस प्रकार थिए । पर्वतका ५५ गाविस मध्ये ८ गाविस मिलेर बनेको कुश्मा नगरपालिकामा खौलालाँकुरी, आर्थर डाँडाखर्क र ठुलिपोखरी गाविसलाई थप गरी कुश्मा नगरपालिका कायम गर्ने प्रस्ताव गरेको थियो । बाँसखर्क, माझफाँट, लेखफाँट, शालिजा, धाइरिङ, बनौ गाविसको एउटा गाउँ पालिका प्रस्ताव गरेको थियो भने भने क्याङ, बाजुङ, देउराली, भुकताङ्ले, देउपुर, तिलाहार, चित्रे, राम्जाठाँटीको अर्को गाउँपालिकाका रुपमा प्रस्ताव भएको थियो । त्यसै गरी कार्किनेटा, थापाठाना, शंकरपोखरी, मुडीकुवा, भंगरा, लिमिठाना, ठानामौला खानीगाउँ र देविस्थान गाविसलाई एउटा गाउँपालिकामा राखिएको थियो । जिल्लाका दक्षिणी गाविस फलामखानी, लुंखु, पाखापानी, बालाकोट, भोकसिङ, होश्राङ्दी र कुर्घा गाविसलाई एउटा गाउापालिका तथा हुवास, टकलाक, त्रिवेणी, बेहुलीबास, सरौखोला र भोर्ले गाविसलाई अर्को गाउँ पालिका बनाइएको थियो । रानीपानी, पाङराङ, बाच्छा, बर्राचौर, वहाकी , उराम र शालिग्राम गाविसलाई समेत गाउँ पालिका सिफारिस गरिएको छ ।
यस अघि सिफारिस गरिएको प्राबिधीक समितिले ६ वटा स्थानिय निकाय सिफारिस गर्दा कुस्मा नगरपालिकामा साविकको जनसंख्याले नपुग्ने भएकाले आर्थर डाडाँखर्क, खौलालाँकुरी र ठुलीपोखरी गाबिसका सबै वडा गाभिएको थियो । उत्तर तर्फ लेकफाँट, शालिजा, माझफाँट, बाँसखर्क, धाइरिङ्ग, बनौ र नाङ्गलिबाङ्ग सात वटा गाबिस मिलाएर एउटा गाउँपालिका बनाइएको थियो । यस्तै बाजुङ्ग, क्याङ्ग, देउराली, देउपुर, भूकताङ्गले, तिलहार, राम्जा र चित्रे वटा गाउँ बिकास समिति मिलाएर अर्को गाउँपालिका सिफारिस भएको थियो ।
यसैगरी दक्षिण तर्फ कार्किनेटा, थापाठाना, भंगारा, शंकरपोखरी, लिमीठाना, ठानामौला, फलामखानी, कुर्घा, देबिस्थान, खानीगाउँ र मुडिकुवा गरी १० वटा गाउँ बिकास समिति मिलाएर अर्को गाउँ पालिका बनाउन सिफारिस भएको थियो । यस्तै लुंखु, पाखापानी, बालाकोट, होस्राङ्गदी, भोर्ले, सरौखोला, हुवास, त्रिबेणी र बेउलीबास ९ वटा गाबिस मिलाएर अर्को गाउँपालिका सिफारिस गरिएको थियो । यायसैगरी पाङ्गराङ्ग, बाच्छा, बर्राचौर,रानीपानी, उरामपोखरा, वहाकी, शालिग्राम र टकलाक र भोक्सिङ्ग गाबिस मिलाएर अर्को गाउँपालिका सिफारिस गरिएको थियो ।