कुस्मा सफाई अभियान जारी, जनस्तरको सहभागिता न्यून

कुस्मा सरसफाई अभियानका क्रममा कुस्मामा सरसफाई गर्दै सुरक्षाकर्मी ।
पर्वत , कार्तिक ५ , पर्वतको सदरमुकाम कुस्माबजारलाई सफा र हराभरा बनाउने उद्देश्यले सञ्चालित कुस्मा सफाई अभियानको कार्तिक महिनाको श्रृङ्गखला शुक्रबार सम्पन्न भएको छ।
एक बर्ष पहिले देखि सञ्चालन हुँदै आएको अभियान कुस्मा नगरपालिकाको आयोजनामा शुक्रबार सम्पन्न भएको हो ।
शुक्रबार भएको अभियानमा साँसद कल्पना चापागाई , प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी लगायत सुरक्षा निकाय र कार्यालयका प्रमुखहरु, सफा कुस्माका लागि सामुहिक अभियान, सामुदायिक सेवा समाजका पदाधिकारी र ठुलो संख्यामा सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।
गएको जेठ सम्म हरेक हप्ता आयोजना गरिएको अभियान त्यसपछि भने मासिक रुपमा आयोजना गरिदै आएको छ। हरेक हप्तामा टोल समितिले सरसफाई अभियान चलाउने कुस्मा नगरपालिकाका कार्यकारी अधिकृत चण्डिका पौडेलले जानकारी दिए ।
कुस्माबजारको सफाई अभियानका अहिले सम्म मुख्य चोकहरु सफा गरिएको छ भने अभियान संगै स्थानियले पनि आफ्नै ढंगले अभियान चलाईरहेका छन । टोलटोलमा आफै जम्मा भएर फोहोर उठाउने देखि फोहोर संकलन गर्नका लागि डस्बीन समेत राखिएको छ। हरेक ठाउँमा नगरपालिका, अन्य सहयोगी निकायहरुको सहयोगमा डस्बीन राखिएको छ ।
पर्वतको प्रमुख जिल्ला अधिकारी भएर आउँदा फोहोरको चपेटामा पर्न थालेको देखेपछि तत्कालिन प्रजिअ झंकनाथ ढकालले पहिलो कामको रुपमा कुस्मा सफाई अभियान सञ्चालन गरेका थिए । बागमती सफाई अभियान जस्तै पहिलो पटक आफै कुचो लिएर निस्केपछि पछिल्ला हप्ताहरुमा जनसहभागिता सहित अभियान शुरु गरिएको थियो । एक बर्ष सकिँदा पनि पनि अभियानमा स्थानियबासीले भने धेरै सहभागिता जनाइरहेका छैनन । टोलस्तरमा सहभागी भएपनि जिल्ला तहको कार्यक्रममा भने सहभागिता न्युन देखिएको छ। अभियानमा सुरक्षाकर्मी र कर्मचारीको मात्रै अभियानमा बाक्लो उपस्थिति भैरहेको छ।