देउवा र प्रचण्डको सल्लाहमा संसद बैठक स्थगित भएको खुलासा
तस्बीर बाह्रखबरी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार विहान बुढानिलकण्ठ पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गरेपछि लोकमान सिंह कार्की्विरुद्ध संसद्मा दर्ता भएको प्रस्तावले एकाएक नाटकीय मोड लिएको छ ।
बिहीबारको बैठकबाटै उक्त प्रस्ताव महाभियोग समितिमा पठाउने तयारी सभामुख ओनसरी घर्तीको थियो । तर विहान देउवा निवास बुढानिलकण्ठ पुगेका प्रधानमन्त्री दाहालले प्रस्तावको पक्षमा समर्थन गर्न आग्रह गरेपछि देउवाले पार्टीमा छलफल गरेर मात्रै निर्णय गर्ने बताएका थिए ।
त्यसपछि प्रधानमन्त्रीले तीनदिन बैठक स्थगित गरिदिन सभामुखलाई आग्रह गरेको संसद् सचिवालय उच्च स्रोतले जानकारी दियो । प्रधानमन्त्रीको आग्रहपछि संसद् सचिवालयले आइतबार विहान ११ बजेसम्मका लागि बैठक सूचना टाँस गरेर स्थगित गरेको छ ।
यसैबीच सभामुख घर्तीको शुक्रबारदेखि हुने भनिएको जेनेभा भ्रमण स्थगित गरिएको छ । विशेष कारणले भ्रमण स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।