१०–१२ वर्ष अघिसम्मका आतंककारीले कानुनी राज्यको कुरा गर्न मिल्छ ?
३ कात्तिक । पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवालले १२–१३ वर्ष अघिसम्मका आतंककारीहरुले अहिले आएर आतंकवाद, उग्रवाद हुनुहुँदैन भन्दै चर्को स्वरमा कराउनुको कुनै चौचित्य नभएको आरोप लगाएका छन् ।
राजधानीमा गुरुप्रसाद लुइँटेल अध्ययन तथा विकास केन्द्रले आयोजना गरेको एक कार्यक्रममा कटवालले तत्कालीन नेकपा माओवादीको नाम नलिइकन भने– ‘त्यसबेलाका आतंककारीहरु जसले मुक्तिनाथ अधिकारीहरुदेखि लिएर गुरुप्रसाद लुइँटेल जस्ता हजारौँलाई मन्दिरमा लगेर बोका र हाँसलाई काटेर पूजा गरेर जस्तो गरे । आज १०–१२ वर्षपछि नै उहाँहरु ठूला–ठूला ठाउँमा बसेर भन्नुहुन्छ । आतंकवाद, उग्रवाद हुँनुहुँदैन । कानुनी राज्यमा कानुन मिच्ने सबैलाई कारबाही हुनुपर्छ ।’
उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारप्रति लक्षित गर्दै लोकतन्त्रले ल्याएको सबै भन्दा ठूलो उपलब्धी यही भएको भनी व्याङग्यसमेत गरे । ‘उहाँलाई बल्ल घैँटोमा घाँम लाग्यो,’ उनले भने ‘तपाईँहरुलाई थाहा छ, हाम्रा माओवादी दाजुभाईहरुले प्रजातान्त्रिक पद्धतिका विरुद्ध हतियार उठाएका हुन् । अहिले १०–१५ वर्षको अवधिमा आएर प्रजातान्त्रिक पद्धतिको कुरा गर्नुहुन्छ । उहाँहरु बाध्य भएर यो पद्धतिमा आउनु भएको हो ।’
उनले आफू कानुनको विद्यार्थी नभए पनि कानुन बुझेको व्यक्ति भएको भन्दै लोकतन्त्रमा सर्वोच्चले गरेको निर्णय सबैले मान्नु पर्ने बताए । ‘म कानुनको विद्यार्थी होइन तर लोकतन्त्रमा सर्वोच्चले गरेको निर्णय सबैले मान्नुपर्छ,’ उनले भने ‘तर अहिले लोकतन्त्रका नाममा सर्वोच्चले ज्यानमारा भनेर निर्णय गरेको व्यक्ति झण्डा हल्लाउने प्रधानमन्त्रीको मोटरमा चढेर हिँडेको छ । यस्तो देशको नागरिक मैले विदेशमा गएर कसरी मेरो देशमा कानुनी राज्य छ भनेर भन्न सक्छु, तपाईँहरु नै भन्नुहोस् ?’ उनले सबै भन्दा पहिला नेपाल र नेपाली बन्नु पर्नेमा पनि जोड दिए ।