माग सम्बोधन नभए २१ दिनपछि प्रचण्डको साथ छाड्छौँः कर्ण
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले छठभित्र व्यवस्थापिका–संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको भोलिपल्ट सोही पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले पनि त्यस्तै प्रतिक्रिया दिएका छन् । उनले संशोधन प्रस्ताव दर्ताका लागि छठसम्म प्रतीक्षा गर्ने बताए । सरकारले छठअघि संशोधन प्रस्ताव दर्ता नगरे पुनः आन्दोलन गर्नुको अर्को विकल्प नभएको उनको भनाइ छ ।
–सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले छठभित्र व्यवस्थापिका–संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएको छ , खास कुरा के हो ?
हामीले तीन बुँदे सहमति गरेर सरकारलाई समर्थन गरेका हौं । हामीले प्रचण्ड नेतृत्वको सरकारलाई निःशर्त समर्थन गरेका होइनौं । हामीले सर्तसहित सरकारलाई समर्थन गरेका हौँ । तर, सरकारले हाम्रो सर्त पूरा गर्न ढिलाइ गरिरहेको छ । हाम्रो सर्त सरकारले समयमा पूरा गरेन भने सरकारलाई समर्थन गरिरहनुको कुनै औचित्य हुँदैन । हामी त्यसपछि आन्दोलनमा जानुको अर्को विकल्प के हुन्छ ? तर, हामी अझै पनि प्रतिक्षामा छौँ । मधेसी मोर्चाले पनि अहिले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा केही समय हेर्ने भनेको छ ।
–भनेपछि छठसम्म पनि तपाईँहरुका मागको सम्बोधन सरकारले गरेन भने तपाईँहरु आन्दोलनमा जाने निश्चित छ, होइन त ?
हो, हामी प्रतिक्षा गरिरहेका छौँ । दसैँ, तिहार र छठ ठूला पर्व हुन् । हामीले यी पर्वसम्म प्रतिक्षा गरेका छौँ । छठभन्दा अघि व्यवस्थापिका–संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिएर हामी केही न केही गर्छौ ।
–केही न केही भनेको, फेरि पहिलाकै जस्तो नाकाबन्दी र हड्ताल हो ?
हिजो मात्रै पनि सद्भावना पार्टीका अध्यक्षले छठसम्म पर्खिन र त्यतिबेलासम्म पनि माग सम्बोधन नभए आन्दोलनमा जाने भन्दै सबैलाई आन्दोलनका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । मोर्चाभित्र पनि यही कुरा भएको छ ।
–छठअघि तपाईँहरुका माग सम्बोधन सरकारले गर्ने सम्भावना कत्तिको देख्नुभएको छ ?
माग पूरा गर्ने चाहना राख्ने हो भने हप्तौँ लाग्दैन । एकै दिनमा हुन्छ । यो कुरा उहाँहरुलाई थाहा छ । अब हामीसँग वार्ता गर्नुको कुनै जरुरी छैन । हामीले तपाईँहरुका माग बुझेका छौँ, यसलाई ड्राफ्ट गरेर अघि बढ्ने हो भनेर त प्रचण्डजी र कांग्रेसका नेताहरुले हामीलाई पटक–पटक भन्नु भएकै छ नि ।
–कांग्रेस र माओवादीले पनि एमालेकै जस्तो हामीलाई आलटाल गरेर छक्याउन खोजेको भन्दै तपाईँहरुकै नेताले असन्तुष्टि व्यक्त गरेका छन् नि ?
हो, उहाँहरुले समयमा काम गर्न नसक्नु भएको सत्य हो । यसलाई आलटाल भन्ने वा ढिलाइ भन्ने ? जे भने पनि हुन्छ ।