पोखरा – बागलुङ राजमार्गको बिजोग सडक मर्मत गरे मात्रै पुग्दैन, पुरै राजमार्ग पुर्नस्थापना गर्नुपर्ने अवस्था
पर्वत, कार्तिक १ , धौलागिरी अञ्चललाई जोड्ने एउटामात्रै स्थलमार्ग पोखरा बागलुङ राजमार्गको दुरी ७२ किलोमिटर हो । दुरीका हिसाबले बागलुङबाट पोखरासम्म गाडीमा २ घन्टा पनि नलाग्नु पर्ने यो राजमार्गको यात्रा झन्डै ४ घन्टाको हुन्छ । कारण हो—सडक ठाउँठाउँमा भत्कनु र बिग्रनु ।
यो राजमार्गमा गाडी चलाइरहेका पुराना चालकहरु थाहा पाएदेखि नै सडक सधैं भत्किरहेको अनुभव सुनाउँछन् । ‘कहिले पहिरो जान्छ, कहिले बाटै भत्किन्छ’, ग१ज ५२८७ नम्बरको जिपका चालक राज बोहोराले भने, ‘आज बाटो राम्रो छ भन्ने दिन कहिल्यै छैन ।’ चिनियाँ सहयोगमा २०४८ सालमा निर्माण पूरा भएको यो राजमार्ग मुलुकमै सबैभन्दा बढी पानी पर्ने लुम्ले गाउँ हुँदै गएको छ । सबैभन्दा बढी समस्या पनि लुम्लेदेखि सुरु हुन्छ । धौलागिरी जिप व्यवसाय समितिका अध्यक्ष ईश्वर थिङका अनुसार लुम्ले, नया“पुल, ढा“बा लगायत ठाउ“ सर्वाधिक बिग्रेका सडक खण्ड हुन् ।
धौलागिरी अञ्चल यातायात बस व्यवसायी समितिका अध्यक्ष कुमार खड्का भन्छन्, ‘पानी परे पनि बाटो बिग्रेकै हुन्छ, नपरे पनि बिग्रेकै हुन्छ ।’ राजमार्ग भइकन पनि साँघुरो सडक हुनु यसको दुर्गुण रहेको उनी बताउँछन् । बाटो अगतिलो भएकैले बस थोत्रिने र मर्मतका लागि खर्च बढी हुने गरेको उनले सुनाए ।
‘१ घन्टाको बाटोमा ४ घन्टा लगाउनुपर्छ’, खड्काले भने, ‘यात्रुलाई पनि सास्ती, समयमा पनि नपुगिने अनि बस पनि थोत्रिने ।’ आफ्नो समिति अन्तर्गतमात्रै १ सय बस बागलुङ राजमार्गमा दैनिक गुड्ने गरेको जानकारी उनले दिए । त्यसबाहेक ७० जिप र ६० ट्याक्सी यो रुटमा नियमित चल्छन् । पर्वतको कुश्मा र म्याग्दीको बेनी तथा मुस्ताङको भर पनि यही राजमार्ग हो । निजी गाडीहरुसमेत गरी यो राजमार्गमा गुड्ने सवारीको संख्या दैनिक १ हजार हाराहारी हुन्छ । जानकारहरुका अनुसार ८–१० टनसम्म ट्राफिक भार बहन गर्नसक्ने यो सडक हु“दै अचेल अधिकभारका सवारी पनि गुड्छन् । सडक बिग्रनुको पछिल्लो कारण ती पनि हुन् । मोदी नदीमा बनिरहेका हाइड्रो पावर आयोजनाका गाडीहरु बढी भारका छन् ।
कास्कीसँग सीमा जोडिएको पातीचौर डिमुवा नजिकै पहिरोको समस्या छ । थुप्रैपटक त्यहाँ दुर्घटना पनि भएका छन् । केही समयअघि पर्वत दुर्लुङका नवीन सुवेदी त्यही पहिरोबाट बस खस्दा धन्न बाँचेका थिए । उनका भाइ सन्तोष सुवेदी भन्छन्, ‘त्यो पहिरो गएको ठाउँ अझै बनेको छैन । फेरि कति दुर्घटना हुने हुन् भन्न सकिन्न ।’
डिभिजन सडक कार्यालय पोखराका प्रमुख इन्जिनियर नरेन्द्र सुवेदी बागलुङ राजमार्गमा सडकको भन्दा पनि त्यहाँको भूगोलकै समस्या रहेको बताउँछन् । ‘त्यहाँको भूगोल नै कमजोर छ, सडक मर्मत गरेरमात्रै हुने अवस्था छैन, पूरै राजमार्ग पुनस्थापना गर्नुपर्छ’, उनले भने । अहिलेसम्म मर्मत चाहिँ नियमित नै हुने गरेको उनले बताए । ‘तर मर्मतले मात्रै पुग्ने अवस्थै छैन’, उनले भने,‘त्यहाँको प्रकृति नै अप्ठेरो छ ।’ गएको जेठमा मर्मत गरिएकोमा फेरि साउन र अहिले पनि मर्मत भएको जानकारी उनले दिए । बागलुङ राजमार्ग पूरै पुनस्थापन गर्न मध्यपहाडी राजमार्ग आयोजनाले काम थालिसकेको पनि सुवेदीले सुनाए । ‘आयोजनाले डिपिआर तयार गरिसकेको छ’, उनले भने ।